|

काठमाडौं : अफगानिस्तानको तालिबान सरकारले बढ्दै गएको आतंकवादी गतिविधिविरुद्ध लड्न अमेरिकी सहयोग नलिने भएको छ। 

कतारको राजधानी दोहामा आयोजित अमेरिका र तालिबान प्रतिनिधिबीचको दुई दिवसीय वार्तामा तालिबानले आतंकवादविरुद्धको लडाइँमा अमेरिकी सहयोग नलिने बताएको हो। गत अगस्टमा अमेरिकी सेना फर्किए लगत्तै सत्ता सम्हालेको तालिबानले मुलुकमा बढ्दै गएको आतंकवादी गतिविधिविरुद्ध आफूहरु नै सक्षम रहेको बताएको हो। अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुँदै गर्दा आईएससँग जोडिएको स्थानीय एक आतंकवादी संगठनले झण्डै २ सय मानिसको ज्यान जाने गरी विमानस्थलमा बम आक्रमण गरेको थियो। 

बम आक्रमणपछि अमेरिकाले ड्रोन कारबाही गरेको थियो। अमेरिकी कारबाहीमा आइएसको आक्रमणका योजनाकार मारिएको अमेरिकाले बताएको थियो। साथै अमेरिकी आक्रमणमा काबुलको एक निर्दोष परिवारका व्यक्तिहरु पनि मारिएका थिए। पछिल्लो पटक शुक्रबार आईएसकै स्थानीय संगठनले गरेको आत्मघाती बम आक्रमणमा ६० जनाभन्दा बढी मानिस मारिएका थिए। 

कुन्दुज प्रान्तमा रहेको एक शिया मस्जिदमा आक्रमण हुँदा २ सयभन्दा बढी मानिस घाइते भएको बताइएको थियो। दोहामा हिजो सुरु भएको अमेरिकी अधिकारीहरुसँगको वार्तामा तालिबान प्रतिनिधिहरुले अफगानिस्तानमा हुने आतंकवादी गतिविधिविरुद्ध आफूहरु लड्न सक्षम रहेको जवाफ दिएको जनाइएको छ। 
तालिबान प्रवक्ता सुहैल शाहीनले आईएसविरुद्ध आफूहरु नै लड्ने बताएका हुन्।  सन् २०१४ देखि आईएसले पूर्वी अफगानिस्तानमा शिया मुसलमानहरुलाई निशाना बनाएर आत्मघाती आक्रमण गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.