|

काठमाडौं : हाम्रो शरिरका लागि स्वच्छ अनि गुणस्तरीय खानाको आवश्यक पर्छ। पोसिलो खाना खानुपर्ने हुन्छ। तर बजारमा पाइने अधिकांश खाद्यान्नहरू पोषणयुक्त छैनन्। 

प्राय: व्यापारीले म्याद गुज्रिसकेको अखाद्य वस्तु बिक्री वितरण गरिरहेको बजार अनुगमनको क्रममा पाइएको छ। यतिखेर दशैँ पर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले बजार अनुगमन गरिरहेको छ। सम्बन्धित स्थानीय तहको समेत अनुगमनमा सहभागिता छ। 

बजार अनुगमन गरिरहेका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनुगमन गर्दा धेरै म्याद नाघेको बस्तु बिक्री गरेको पाइएको बताउँछन्। 

उनले भने,‘बजार अनुगमनका बेला धेरैले म्याद कटेका,खानै नमिल्ने खालका खाद्यवस्तु बिक्री गरेको पाइयो, मुल्य सूची पनि राखेको पाइएन।’ उनका अनुसार धेरै व्यापारीले सम्बन्धित निकायबाट अनुमति नलिइ पसल सञ्चालन गरेको पनि पाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पनि बजार अनुगमन गर्दा खाद्यवस्तुको म्याद सकिएपनि व्यापारीले बिक्री गरेको पाइएको बताए। ‘व्यापारीले म्याद नाघेको, मुल्य सूची नराखेको पाइयो,’ उनले भने। 

२६८ पसललाई कारबाही, २३ लाख बढी जरिवाना 

तीनवटै जिल्लामा बजार अनुगमन गरी दुई सय ६८ पसललाई कारबाही गरिएको छ। जसबाट २३ लाख ५० हजार जरिवाना तिराइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत लक्ष्मी शाहीका अनुसार असोज १ गतेदेखि २३ गतेसम्म काठमाडौंका विभिन्न ठाउँका चार सय ६७ खाद्यान्न, लुगाकपडा, तरकारीलगायत पसलमा अनुगमन गरिएको थियो।

त्यसक्रममा म्याद नाघेका सामान बिक्री गरेका लगायतका दुई सय ३६ पसललाई २० लाख ७३ हजार जरिवाना तिराइएको छ। ‘अरु धेरै पसललाई सुधार गर्न निर्देशन दिएका छौँ,’उनले भनिन्।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार असोज ६ गतेदेखि हालसम्म २४ वटा पसललाई कारबाही गरिएकाे छ। जसबाट एक लाख ६७ हजार जरिवाना गराइएको छ। ‘यो अनुगमन हामीले मात्रै गरेर जरिवाना गराइएको हो,अहिले पनि निरन्तर अनुगमन भइरहेको छ,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले असोज १४ गतेदेखि गत शुक्रबारसम्ममा ८ वटा पसललाई कारबाही गरेको बताइन्। उनका अनुसार यसबाट एक लाख १० हजार जरिवाना तिराइएको छ। ‘हामीले ५० देखि १० हजारसम्म जरिवाना गराएका छौँ,’उनले भनिन्,‘ करिब ३२ हजार जतिको अखाद्य वस्तु नष्ट गरेका छौँ।’

निरन्तर अनुगमन जरुरी

चाडपर्वका बेला मात्रै बजार अनुगमन हुने गर्छ। अरूबेला खासै अनुगमन हुँदैन। जसकारण उपभोक्ता ठगिरहन्छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईंले सरकारी तहबाट चाडपर्वको बेला मात्र नभई अरू समयमा पनि बजार अनुगमन हुनुपर्ने माग गरिन्।

उनले भनिन्,‘चाडपर्वको र अरू बेला पनि प्राथमिकताका साथ बजार अनुगमन गर्नुपर्छ,अनाधिकृत रुपमा चलाइएका व्यापारीलाई कानुनी दायरामा ल्याउनुपर्छ।’ अहिले पनि  खाद्यवस्तुमा मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेकाले यसलाई पनि नियमन गर्नुपर्ने उनले बताइन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालको भने बजार अनुगमन नियमित हुने बताए। ‘बढी मूल्य लिने,अखाद्य वस्तु बेच्ने र कानुनी प्रकृया नपुर्‍याएका पायौँ भने उनीहरूलाई कारबाही गरेर छाड्छौँ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.