|
डा डिबी क्षेत्री। तस्वीर : संजय रेग्मी

पर्वत : दशैँतिहार लगायतका चाडबाडका बेला माछा, मासु, चिल्लो, पिरो, अमिलो, मदिराजन्य खानेकुरा खाने नेपाली प्रवृत्ति छ। रिनै खोजेर भए पनि अरूका अगाडि कमजोर नबन्ने अनि रमाइलोका लागि अस्वस्थकर खानपान र आनिबानी सामान्य बनेको छ।

चाडबाडका समयमा अनियन्त्रित तरिकाले गरिष्ठ खानेकुरा धेरै खाँदा शरीरले सहजै पचाउन नसक्ने जस्ता अवस्था उत्पन्न हुन सक्छ। यो बेला खानपानमा ध्यान दिएमा स्वास्थ्यमा समस्या आउँदैन।

चाडबाडका बेला खानपानमा कसरी ध्यान दिने? स्वास्थ्यसम्बन्धी जोखिम के–के हुन सक्छन् र व्यक्तिले आफ्नो स्वास्थ्यका लागि के गर्नु उपयुक्त हुन्छ? थाहाकर्मी संजय रेग्मीले पर्वत अस्पतालमा कार्यरत फेमिली फिजिसियन डा. डिबी क्षेत्रीसँग गरेको कुराकानीः

चाडबाडमा चिल्लो, पिरो खाना बढी खाइन्छ, यसले स्वास्थ्यमा के असर गर्छ?

छाकैपिच्छे माछा, मासु, अल्कोहलजन्य पदार्थले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्छ। मांसाहारी खानामा अत्यधिक कोलस्ट्रोल हुन्छ। ​स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ। डाएटरी फाइबरको मात्रा कम हुन्छ।

जसका कारण शरीरले सजिलै पचाउन पनि सक्दैन, पेट डम्म फुलेको जस्तो हुने, दिसा नखुल्ने, रक्तचाप बढ्ने, कोलस्ट्रोलको मात्रा बढ्ने, सुगरको मात्रा अनियन्त्रित हुनेलगायत समस्या आउन सक्छन्।

यस्तो हुन नदिन र स्वास्थ्यमा असर पर्न नदिन के–के कुरामा ध्यान दिनुपर्छ?

सबैभन्दा पहिलो खानपानमा ध्यान दिने हो। त्यसपछि त्यही अनुसारको शारीरिक व्यायाम गर्नुपर्छ, पर्याप्त मात्रामा निद्रा पुग्नुपर्छ, चिन्तामुक्त जीवनशैली अपनाउनुपर्छ।

चिल्लो, पिरो मासुका परिकारको असर न्यून गर्न के गर्नुपर्छ?​  

पहिलो कुरा त माछामासु र चिल्लो पिरो परिकार खान नै कम गर्नुपर्छ। यसो गरेपछि स्वास्थ्यमा समस्या आउँदैन।

५/६ टुक्रा मासुले नै हाम्रो शरीरलाई आवश्यक तत्त्वको पूर्ति गर्छ। शरीरलाई चाहिने मात्रामा मात्र प्रोटिनको सेवन गर्नुपर्छ नत्र त्यही प्रोटिन शरीरमा नकारात्मक असर गर्ने पदार्थ बन्न जान्छ।

असर कम गर्नका लागि हरिया सागपात र फलफूलको सेवन बढाउनुपर्छ। मासुको धेरै सेवनले युरिया, नाइट्रोजन र नाइट्रोजिनस पदार्थ बढ्न जान्छ, त्यस्ता विषालु तत्त्वलाई शरीरबाट निकाल्न पानी धेरै पिउनुपर्छ। 

मांसाहारी भोजन तुलनामा शाकाहारी भोजनको महत्त्व के छ?

हाम्रो शरीरको बनोटअनुसार हामी मांसाहारी प्राणी होइनौँ। हाम्रो दाँत लुछ्न, चुँडाउन मिल्ने खालको छैन। हाम्रो आन्द्रा त्यस्तो लामो खालको छैन।

मांसाहारी भोजनले ठूलो आन्द्राको क्यान्सर हुने जोखिम हुन्छ, मधुमेह, उच्च रक्तचाप, डिसलिपिडेमिया, पछिपछि हृदयाघात, पक्षाघातलगायत समस्याको जोखिम उच्च हुन्छ।

शाकाहारी भोजनले यी समस्या आउन दिँदैन‚ हाम्रो शरीरमा चाहिने पोषक तत्वको आवश्यक मात्रा पूर्ति गर्नुका साथै पाचन प्रणालीका लागि पनि शाकाहारी खानेकुरा उपयुक्त छन्। शाकाहारी भोजनको महत्त्व फैलाउन आवश्यक छ, जुन वैज्ञानिक रूपमा पनि पुष्टि भएको छ।
 
खानाकै कारण शरीरमा उत्पन्न हुने विषालु पदार्थले के कस्ता दीर्घकालीन समस्या हुन्छन्?

रक्तचाप बढ्छ, मिर्गौलालाई अत्यधिक भार पर्छ, कोलस्ट्रोललगायत नकारात्मक तत्त्वको वृद्धिले हृदयाघात, पक्षाघात, मिर्गौलाका समस्या आउँछन्।
 
चाडबाडमा मदिरासेवन गरेर रमाइलो गर्ने परम्परा बढेको छ, स्वास्थ्यमा यसको असर के हुन्छ?

कुनै पनि अल्कोहलले हाम्रो शरीरलाई खराब असर गर्छ। हालै एउटा जर्नलमा प्रकाशन भएको तथ्यमा के भनिएको छ भने अल्कोहलको मात्रा जति भए पनि त्यसले शरीरलाई हानी गरेकै हुन्छ।

मदिरासेवनले ग्याष्ट्रिक बढ्छ, यसैका कारण रक्तचाप बढ्छ, मुटु र कलेजोको समस्या बढ्दै जान्छ। लामो समय प्रयोग गर्दै गएपछि एसजिओटी भन्ने इन्जाइम बढाउँछ। पछिपछि फ्याट्टी लिभर, हेपाटाइटिस हुँदै लिभर सिरोसिससम्मको समस्या आउँछ।

स्मरण शक्ति कम हुँदै जाने, नसामा समस्या आउनेलगायत समस्या पनि देखा पर्छन्। अब तत्कालीन असरमा सडक दुर्घटना, झगडा, आवेगका कारण झगडालगायत हुन सक्छन्।

मदिरासेवनका कारण तत्काल कुनै स्वास्थ्य समस्या उत्पन्न भए समाधानका के उपाय छन्?

मदिरासेवन गरिसकेपछि त्यसको असर कम गर्नका लागि भनेर छुट्टै औषधि छैन। यसको उपाय भनेकै मदिराजन्य पदार्थको सेवन नगर्नु नै हो।

तपाईंले भने जस्तो तत्कालै समस्या देखिए आराम गर्ने, पानी प्रशस्त पिएर शरीरबाट अल्कोहलको मात्रा बाहिर पठाउने गर्नुपर्छ। अत्यधिकसेवनले सुगरको लेबल घट्न सक्ने, बेहोस हुनेलगायत समस्या आउन सक्छन्, त्यस्तो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ।​​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.