|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन्। दशैंका लागि तलब थाप्न नपाइने भएपछि उन निराश भएका छन्।

‘तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दशैं मनाउने योजना थियो’ उनले भने, ‘तलबनै नपाइने भएपछि रमाइलोसँग दशैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ। निकै न्यास्रो लागेको छ।’

नगरपालिकामा कार्यरत ८३ स्थायी, १४२ करार र एकजना अस्थायी गरी २२६ कर्मचारीले तलब थाप्न पाएका छैनन्। आधारभूत तह, माध्यमिक तहका गरी ३००, निजी स्रोतका ८४  शिक्षक, लेखापाल, १३ र बालविकास ६५ गरी ४६२ विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन्। 

वडाको बजेट बाडँफाँट र योजनाको टङ्गो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन्। ‘वडा कार्यालयले योजना दिन ढिलाइ गरे’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसन सिंह थापाले भने, ‘खाता सञ्चालनमा ल्याउन सकेनौं। त्यसै कारणले कर्मचारीलाई दशैंमा तलब दिन सकिएन।’

तलब निकासाका लागि प्रयास गर्दागर्दै पनि उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए। नगर परिषद्मा गत असार ९ गते पेश भएको बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच चर्काचर्की भएपछि अवरोध भएको थियो। लामो समयसम्म बजेट बाँडफाँट हुन नसकेपछि अन्यौलताको अवस्था सिर्जना भएको थियो।

विवादकैबीच बजेट बाँडफाँट गरिए वडाबाट योजनानै समयमै उपलब्ध नगराइएपछि कर्मचारीले दशैंका बेला तलबनै पाएनन्। नगरपालिका कर्मचारीका अनुसार बजेटको रातो किताब अहिलेसम्म पनि प्रकाशित भएको छैन। रातो किताब कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा पेश भएपछि मात्रै बजेट निकासा गरिने कानूनी प्रावधान रहेको छ।

तलब नपाइएपछि अधिकांश नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकले आफन्तबाट सापटी र कर्जा लिएर दशैंको खर्च चलाउने योजना बनाएका छन्।

‘दशैंमा तलब पाएनौँ‚’ नगरपालिकाका कर्मचारी गोकुल जोशीले भने, ‘आफन्तबाट सापटी माग्ने योजनामा छौं। पाउने नपाउने निधो छैन। खर्च नभएपछि अरुको मुख ताक्नुपर्ने अवस्था आएको छ।’

आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक तलब भत्ता चाँडोभन्दा चाँडो निकासाका लागि नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाउँदासमेत पाउन नसकिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका नगर कमिटी अध्यक्ष लोकेन्द्र कुँवरले जानकारी दिए।

‘केही दिनअघिनै शिक्षक कर्मचारीको मासिक तलब निकासाका लागि माग गरेपनि पाउन सकेका छैनौँ‚’ उनले भने, ‘खर्च बिनानै वर्षमा एक पटक आउने दशैं मनाउनुपर्ने भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.