घरखर्च चलाउनै मुस्किल, भारत पस्नु बाध्यता

|
कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा आइपुगेकाहरूको सामान जाँच गर्दै सशस्त्र प्रहरी। तस्वीर : टेकसिंह धामी

धनगढी : कैलालीसँग जोडिएको त्रिनगर–गौरीफन्टा नाकामा सोमबार दिउँसो सीमा वारपार गर्नेहरूको घुँइचो थियो।

अधिकांश सुदूरपश्चिमेलीहरू दसैं मनाउन घर फर्किरहेका थिए।

तर, सीमामै फरक दृश्य पनि थियो। त्यो दृश्य थियो– चाडपर्वको मुखमै रोजगारीका लागि परदेश जाने पश्चिमेलीहरूको।

चाडपर्वको संघारमै आइसकेका बेलामा समेत भारत जानेको संख्यामा पनि थोरै थिएन। सीमा पार गर्ने तयारीमा रहेका बैतडी सिगासका नवराज नेपाली निधारमा रातो टीकासहित काँधमा सानो झोला भिरेर भारत प्रवेश गर्ने लाइनमा उभिएका थिए।

पढाइ खर्च जुटाउन भारतमा काम गर्दै आएका उनी पछिल्लो पटक कक्षा १२ को परीक्षा दिनका लागि घर फर्किएका थिए। साहुले छुट्टीको समय सकिएको भन्दै बोलाउन थालेपछि दसैं मनाउन छाडेर भारत जान लागेका उनले बताए।

त्रिनगर–गौरीफन्टा नाकामा भारत प्रवेशका लागि सोमबार लामबद्ध सुदूरपश्चिमेलीहरू। तस्वीर : टेकसिंह धामी

‘पहिलादेखि नै भारतमा काम गर्दै आएको थिएँ। योबेला घरमा पनि अलि समस्या छ,’ भावुक हुँदै नेपालीले भने, ‘दसैं नजिकिए पनि भारतबाट साहुले बोलाउन थालेपछि जान लागेको हुँ। घर परिवारसँग दसैं मनाउन नपाउँदा नरमाइलो लाग्दैछ।’

यस्तै कैलाली टीकापुरका प्रिन्स खड्का पनि त्रिनगर–गौरीफन्टा नाका भएर भारत पसे।

देशमा रोजगारी नपाएकाले घरखर्च चलाउन भारत जान लागेको उनको भनाई थियो। भारतमा रहेका आफन्तले जागिर लगाइदिने भनेपछि उनी दसैं–तिहार लगायत पर्व छाडेर भारत जान लागेका हुन्।

देशमा स्थानीय, प्रदेश र संघीय सरकार भए पनि रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य नभएको गुनासो उनको थियो।

‘देशमा रोजगारी पाइने अवस्था छैन। आफ्नो खर्च चलाउनका लागि भारत जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘उताबाट जागिर लगाइदिन्छु भनेपछि दसैं छाडेर जाँदै छु।’

त्रिनगर–गौरीफन्टा नाकामा सोमबार भारत जाने सुदूरपश्चिमेलीहरूसँग मानव बेचबिखनबारे सोधपुछ गरिँदै। तस्वीर : टेकसिंह धामी

नेपालीको ठूलो चाड बडादसैं सुरु भएको छ। यो समयमा दसैं मनाउन विभिन्न ठाउँमा रोजगारी गर्दै आएकाहरू घर फर्किरहेका छन्।

रोजगारीका लागि भारत गएकाहरू पनि दिनहुँजसो सयौंको संख्यामा गौरीफन्टा नाका भएर फर्किरहेका छन्।

तर, सोही नाका भएर सुदूरपश्चिम प्रदेशका अनेकौं बासिन्दा परिवारसहित भारत गइरहेका छन्।

दैनिक करिब १ सय ५० जनासम्म गौरीफन्टा नाका भएर सुदूरपश्चिमेलीहरू भारत गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

‘धेरैजसो रोजगारीकै लागि गइरहेका छन्,’ उनले भने, ‘केही भने उतै बसोबास गर्नेवाला पनि छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.