|

काठमाडौं : गत बुधबार मध्याह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीड देखिन्थ्यो। नेपालीको महान् चाड विजयादशमी नजिकिँदै गर्दा एकातिर उत्साहित हुँदै दशैँ मनाउन नेपाल फर्किनेको भीड थियो भने अर्कातिर अमिलो मन बनाउँदै बिदाइका हाल हल्लाउनेको भीड देखिन्थ्यो।

विमानस्थलको प्रस्थान गेटमा मलीन अनुहार लगाएर फोनमा कुरा गर्दै थिए। ‘यस्तै हो परदेशीको जीवन कहाँ चाडपर्व भन्न पाइन्छ र?’, दशैँको टीका आउन केही दिन मात्र बाँकी हुँदा विदेशिनुपरेकाले होला उनीहरू दुःखी देखिन्थे। प्रस्थान गेट नजिकै निधारमा रातो टीका, आडैमा सामान बोकेको झोला बोकेका उनी दशैँअगाडि विदेशिनुको दुखेसो पोख्दै थिए। ‘दशैँ मनाएर जाने सोचेको थिएँ। दशैँअगाडि नै भिसा आयो।’

गत चैतमा विदेश जाने प्रक्रिया अघि बढाएकी जोस्ना अधिकारी दशैँ मनाएर विदेश जाने साचेमा थिइन्। केही दिनअगाडि मात्र भिसा आयो। विदेश जानैपर्ने भयो। उनले भने‚ ‘बालख छोरीलाई माइतीमा छोडेर जान बाध्य भएँ।’ १५ वर्षको उमेरमा मागी विवाह गरेकी अधिकारी पारिवारिक बेमेलका कारण अलग भइसकेकी छिन्। 

१० वर्षीया छोरीको जिम्मेवारी उनको काँधमा छ। छोरीको उज्ज्वल भविष्यका लागि विदेशिनुको विकल्प नभएको अधिकारीले बताइन्। उनले भनिन्, ‘सानैमा विवाह भयो, पारिवारिक जिम्मेवारी थपियो अहिले अरू उपाय भएन, विदेश नै जान लागेँ।’ वैदेशिक रोजगारीको खोजीमा कुवेत जान लागेको उनले बताइन्।

वैदेशिक रोजगारीको खोजीमा विदेशी भूमिमा रहेका नेपाली धमाधम फर्किरहेका छन्। दशैँको समयमा परिवार छोडेर विदेश जान निकै कठिन भएको उनले सुनाइन्। उनी भन्छिन्, ‘जिन्दगीमा पहिलोपटक दशैँको दिन खाली निधार लिएर परदेशमा परिवार सम्झेर बस्नुपर्ने भयो।’

बाग्लुङ घर भएका दीपक राईले करिब ६ महिनाअघि वैदेशिक रोजगारीमा कतार जानका लागि भिसा बुझाएका थिए। अहिले भिसा आयो, विदेश जानैपर्ने भयो। देशमा रोजगारीको अवसर नदेखेर विदेशिन लागेका राई दशैँअघि जानु पर्दा नरमाइलो लागेको सुनाउँछन्।

खेती गरेर खानलाई जग्गाजमिन धेरै छैन। देशमा रोजगारीको अवसर नपाएर विदेश जान लगेको उनले सुनाए। उनले भने, ‘आफूले उब्जनी गरेको अन्नले ६ महिना धान्न मुस्किल छ।’ मलीन अनुहार लगाउँदै विदेश जाने रहर नभइ बाध्यता भएको उनले सुनाए।

परिवारको पेट पाल्नका लागि रोजगारीको खोजीमा घर परिवारभन्दा टाढा रहेकाहरू घर फर्किरहेका छन्। आफू परिवार छोडेर विदेशिनुपर्दा नरमाइलो लगेको राईले बताए। परिवारको पेट भर्नकै लागि विदेशिनुपर्ने अवस्था आएको उनको भनाइ छ। दशैँमा खाली निधार राखेर विदेशी भूमिमा बस्दाको पीडा परदेशीले मात्र बुझ्न सक्छ। उनले भने, ‘म जस्ता हजारौँ युवा यस्तै पीडा भोग्न बाध्य भएका छन्।’

दशैँको टीका लगाउने वेला विदेशिनु परेकाले नरमाइलो लागेको दाङका जीवन श्रेष्ठले बताए। रोजगारीको खोजीमा साउदी जान लागेका हुन्। विगत ५ वर्षदेखि साउदीमा सेक्युरेटी गार्डको रूपमा काम गर्दै आएका थिए। गत चैतमा २ महिनाको बिदा लिएर उनी नेपाल आएका थिए।

सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञाका कारण उनी जान पाएका थिएनन्। उनले भने, ‘दशैँ आयो आफ्नो विदेशिनुपर्ने दिन आयो ।’ भारी मन बनाएर परिवारलाई निराश बनाउँदै विदेशिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.