|

काठमाडौं :  पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक नभएको बताएका छन्।

सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्र सुरक्षा स्वार्थमा चुनौती थपिएकाले  मन पोलेको उनले बताएका हुन्।

विजया दशमीका अवसरमा देशवासीसामु भिडियो सन्देश जारी गर्दै उनले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीमा शान्ति र सुखको शुभकामना व्यक्त गरेका छन्।

भिडियो सन्देश जारी गर्दै राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने बताउँदै भने, ‘त्यो हाम्रो मान्यता पनि होइन, न त परम्परा हो।'

‘देश भक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दमित भए पनि नामेट हुन सक्दैन। योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ। केही समययता जिम्मेवार एवं देशभक्त नागरिकबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारलाई हामीले राष्ट्र, राष्ट्रिय अनुराग र निष्ठामात्र प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रूपमा बुझेका छौं', उनले भनेका छन्।

कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहित अनुभूति गर्न पाइरहेका छन् त ? भन्दै प्रश्न उनले गरेका छन्।

‘अतीतका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थिति सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरूबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ। देशभन्दा माथि हामी कोही पनि छैनौं। श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ्य प्रदान गरून्, यही हाम्रो कामना छ। जय नेपाल', भिडियो सन्देशमा उनले भनेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.