|
राजदेवी मन्दिरमा झ्यालबाट पूजा र दर्शन गरिरहेका महिला। तस्वीर : अजय साह

जनकपुरधाम : जनकपुरधाममा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ।

जनकपुरधाममा एउटा यस्तो मन्दिर छ जहाँ दसैंको १० दिनसम्म महिला भक्तजनलाई भित्र प्रवेशमा रोक लगाउने गरिन्छ।

प्राचीन मिथिलाका राजा जनककी कुलदेवी मानिएकी प्रसिद्ध माता राजदेवीको मन्दिरमा पुरुष भक्तजनले पूजा गर्न पाए तापनि महिलाहरूले भने १० दिनसम्म मन्दिरको झ्यालबाटै मात्र पूजा गर्ने गर्छन्।

अन्य दिनमा महिला भक्तजनले पूजाअर्चना गरे पनि दसैंमा भने उनीहरूलाई प्रवेशमा रोक लगाउने गरिन्छ।

परापूर्वकालदेखि नै यही परम्परा रहेकोले यसलाई तोड्न मिल्दैन भन्छन्, राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ राम गिरी।

मन्दिरजस्तो पवित्रस्थलमा समेत जातीयता र लिंगको आधारमा विभेद गरिनुले पित्तृ सत्तात्मक सोचलाई उजागर गरेको अधिवक्ता रेखा झा बताउँछिन्।

उनी भन्छिन्, ‘नेपालको कानुनले नै स्पष्ट गरिदिएको समानताको व्यवस्थालाई धर्मको नाममा कायम राख्नु महिलाहरूप्रति भइरहेको सामाजिक असमानतालाई झल्काएको छ।’

अधिवक्ता झा लगायतका महिला अधिकारकर्मीहरूले यस कुरीतिविरूद्ध पटक पटक आवाज उठाउँदै आइरहेका छन्।

‘हामीले दसैंको बेला राजदेवी मन्दिरमा महिलालाई किन निषेध गरिन्छ भन्ने खालका खुला बहसकै आह्वान गरेका थियौं, सम्बन्धित सरोकारवालालाई समेत बोलाएका थियौं’, अधिवक्ता झाले भनिन्,  ‘तर सम्बन्धित राममन्दिर, जानकी मन्दिर र स्थानीय युवा क्लबहरूमध्ये कोही पनि उपस्थित भएनन्। यसले लैंगिक समानताका लागि गरेको भाषण भाषणमै सीमित रहेको भन्ने कुरालाई स्पष्ट गरेको छ।’

राममन्दिर तथा राजदेवी मन्दिरका महन्थ गिरीले भने जनताले चाहे भने यस परम्परालाई तोड्न आफूहरूलाई कुनै आपत्ति नरहेको बताए।

प्रसिद्ध शक्तिपीठ राजदेवीमा प्रत्येक वर्ष हजारौं संख्यामा पूजाआजा गर्ने भक्तजनहरूको भीड नै लाग्ने गर्दछ।

समाजमा रहेका यस्ता लैंगिक समानता विरूद्धको कुप्रथालाई निस्तेज पारिनुपर्ने महिला अधिकारकर्मीहरू बताउँछिन्।

नारीशक्तिलाई पूजा गर्ने स्थानमा महिलालाई नै प्रवेशमा निषेध गरिनु उनीहरूको अपमान गरिनुसरह रहेको उनीहरूको तर्क छ।

यस्तो छ कारण

त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ।

त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो।

तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ।

परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरी भन्छन्, ’विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बलि चढाइएको थियो।’

घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्रले धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन्।

यसको विरोधमा जनकपुरवासीले महिलामाथिको यस्तो विभेद र छुवाछूतको अन्त्य गर्नुपर्ने जोडदार माग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.