तीन गुणा बढी भाडा असुली, सम्बन्धित निकाय मूकदर्शक

|
अत्तरिया–कैलाली बसपार्कमा भौंतारिइरहेका यात्रु। तस्वीर : टेकसिंह धामी

धनगढी : कैलालीबाट आइतबार विहान लक्ष्मी भण्डारी बैतडी जानका लागि अत्तरिया बसपार्क पुगिन्।

दसैँ मनाउनकै लागि तराईबाट पहाड घर गइरहेकी भण्डारी दुई नाबालकसहित गाडीको  खोजीमा थिइन्। तर, दसैंको बेला भन्दै अधिकांश यातायात व्यवसायीले भने उनलाई दोब्बर भाडा लाग्ने बताइरहेका थिए।

अत्तरियादेखि बैतडीको खोचलेक जान ८ सय भाडा दर कायम छ। तर, लक्ष्मीसँग भने यातायात व्यवसायीले २ हजार मागिरहेका थिए।

उनले भनिन्, ‘दुई साना बच्चा साथमा छन्, त्यति धेरै पैसा पनि बोकेको छैन। पहिले त हामी ६ सयमा घरै पुग्थ्यौं। अहिले दुई हजार माग्दै छन्।’

यस्तै, डडेल्धुराका चूडामणि भण्डारी पनि काठमाडौंबाट दसैंका लागि घर फर्किरहेका थिए। काठमाडौंबाट २२ सय भाडा तिरेर उनी अत्तरिया पुगेका थिए।

अत्तरियादेखि डडेल्धुरा पुग्न थप दुई हजार भाडा तिर्न बाध्य भएको उनको गुनासो छ। भाडा बढी असुलेर पनि चालकले व्यवहार नराम्रो गरिरहेको उनको भनाइ छ।

क्षमताभन्दा बढी यात्रु हाल्दा दुर्घटनाको जोखिम बढेको उनी बताउँछन्। उनी भन्छन्, ‘मनपरि ढंगले भाडा असुली गरिरहेका छन्। त्यसमाथि चालकले यात्रुसँग गर्ने व्यवहार राम्रो छैन। झन् सिट क्षमताभन्दा बढी यात्रु हाल्ने गरिरहेका छन्।’

सम्बन्धित निकाय मूकदर्शक बनेको उनको आरोप छ।

अहिले बस मात्र नभएर हाएस, विंगर जिपमा पनि यात्रुको चाप छ। साना गाडीले त झन् ४ गुणा बढी भाडा लिइरहेको यात्रुहरू गुनासो गर्छन्।

तर सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा भने भाडामा एकरूपता रहेको दाबी गर्छन्।

भाडामा कुनै तलमाथि नगरेको बताउँदै उनले तोकेकै भाडामा यात्रु बोकिरहेको दाबी गरे। केही यातायात प्रालिले बदमासी गरेको हुनसक्ने सापकोटाले बताए।

सुदूरपश्चिमका विभिन्न जिल्ला जाने यात्रुको सहजताका लागि सवारीसाधन पर्याप्त मात्रामा व्यवस्था गरेको उनी बताउँछन्।

चर्को भाडा असुली भइरहँदा पनि यात्रुलाई बीचमै अलपत्र पारेका घटना पनि सार्वजनिक हुन थालेका छन्।

आइतबार मात्रै १३ जना यात्रुलाई रिभर साइड यातायातले अत्तरियामा अलपत्र छाडेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.