|
दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी। तस्वीर : अजय साह

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले जनकपुरमै भएको महाधिवेशनबाट नै बिपी कोइराला प्रथम पटक पार्टी सभापति भएको र आफू पनि यही धनुषा र जनकपुरवासी भएको हुँदा सभापतिमा बन्ने विश्वास व्यक्त गरेका छन्।

धनुषाको निर्वाचन क्षेत्र ४ को महेन्द्रनगरमा आयोजित बडा दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले प्रदेश २ का ८ वटै जिल्ला धार्मिक महत्त्व र देवीदेवताको देवभूमि भएको हुँदा आफूलाई सबैको आशीर्वादले सभापति बन्न सहयोग पुग्ने बताए।

निधीले भने, 'मैले पार्टी सभापतिमा लड्नेबारे सबैभन्दा पहिले शेरबहादुर देउवाजीसँगै सल्लाह गरेको थिएँ।'

उनले आफूले पार्टीमा प्रकाशमान सिंह, शेखर कोइरालालगायत सबैसँग १४औं महाधिवेशनमा सभापतिमा आफूले उम्मेदवारी दिने र सहयोग गर्न अनुरोध गरेको बताए।

उनले भने, 'मसँग पार्टी सभापतिबाहेक अरू पदको विकल्प नै छैन। कांग्रेसको ११औं देखि १३औं अधिवेशन सम्ममा मैले सबैलाई सहयोग गरेकोले यस पटक मलाई सबैले सहयोग गर्छन्।'

निधीले १३औं महाधिवेशनमा त देउवाजीले त 'यसपछि तपाईंको पालो भनेर खुला रूपमै घोषणा गर्नुभएकोले उहाँले पनि सभापतिमा मलाई सहयोग गर्नेमा आफू विश्वस्त' भएको बताए।

उनले यसपछिको पालो युवा पुस्ताको भएको बताउँदै १५औं महाधिवेशनमा गगन थापा, विश्वप्रकाशको दाबी हुने भएकोले यसपटक सहयोग गर्न सबै नेता कार्यकर्तासँग आग्रह गरे।

निधीले पार्टीको नगर अधिवेशनमा सर्वसम्मत निर्णय गर्न आग्रह गर्दै उनले भने, 'प्रदेश २ का जिल्लासहित सबै जिल्लाको क्रियाशील सदस्य फाइनल भइसकेकोले २/४ दिनमै अधिवेशनको तालिका सार्वजनिक हुने र अधिवेशनमा सबैपदमा सर्वसम्मतिले चयन होस् भन्ने चाहना छ।'

उनले यस निर्वाचन क्षेत्रबाट आफूले सतप्रतिशत सभापतिमा मत पाउने विश्वास व्यक्त गरे। निधीले यस क्षेत्रका नेता कार्यकर्ताहरूलाई आआफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.