|

विराटनगर : ‘पैसा हुनेको दशैं, हामी नहुनेको लागि त दशा हो‚’ मोरङको पथरी शनिश्चरे नगरपालिका–७ का धनबहादुर दर्जीले लुगा सिलाउँदै दुखेसो पोखे‚ ‘दशैं आउँछ‚ बर्सेनि थाप्लोमा ऋण थोपेर जान्छ।’  

धनबहादुरको आयश्रोतको बाटो सानो टेलरिङ पसल छ। त्यही पसलबाट हुने आम्दानीले उनले जसोतसो परिवारको गुजारा चलाइरहेका छन्।

हिउँ झैँ सेताम्मे फुलेको कपाल‚ सियोमा धागो उन्न भेउ पाउन छोडेका आँखा। तर, जिम्मेवारीले भने उनलाई छाडेको छैन। उमेरले खुड्किलाले पार गर्दै जाँदा धनबहादुरको शरिरले आराम खोज्दै गएको छ। तर‚ बाध्यताले उनलाई आराम गर्ने समय उपलब्ध गराएको छैन। उनले आराम गरे चुलाले पनि आराम गर्छ।

‘मैले आराम गर्दा घरमा चुला बल्न छोड्छ,’ उनले भने, ‘यही कामबाट आएको पैसाले दुःखसुख घर खर्च चलाउन पुगेको छ।’ एक छाक खान पुग्ने उनको कमाइले दशैं खर्च भने टार्न मुस्किल पर्ने गरेको उनले सुनाए।

उमेर हुञ्जेल ६ सन्तानको खुशी टार्दैमा उनको जवानी बित्यो। सन्तान हुर्कंदै गए। उमेर बढेसँगै छोराछोरीहरु लाखापाखा लागे। उनी आफ्नो र श्रमतीको पेट भर्न बुढ्यौली उमेरमा पनि काममा पेलिरहेका छन्। चाडबाडका बेला बावुआमा सम्झेर छोराछोरी आउँछन्। जसका लागि ऋण खोज्नुपर्ने बाध्यता भएको धनबहादुरले सुनाए। उनी भन्छन्, ‘पोहोरको दशैंमा चलाएको छिमेकीको ऋण तिर्न सकेको छैन, फेरि आयो दशैं।’

मोरङको उर्लाबारी नगरपालिका–२ की  ६५ वर्षीया मीना शेर्पाको पनि दुःखको पहाड सानो छैन। बर्सेनि आउने दशैंले विदेशिएका कान्छो छोरा विक्रम आउँला भन्ने उनलाई आश हुन्छ। यसरी बसेको वर्षौं भयो। तर‚ छोरा कुनै पनि दशैंमा आएनन्।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनका कान्छा छोरा तीन वर्षदेखि बेपत्ता छन्। उनको अत्तोपत्तो छैन। मलेसिया पुगेको केही वर्ष उनलाई छोरोको फोन आयो। घर खर्च पनि आयो। छोरा सम्पर्कविहीन भएसँगै खुशी पनि हराएको उनले सुनाइन्।

‘आमा राम्रोसँग बस्नु है अब अर्को दशैंमा आउँछु भन्थ्यो,’ छोराको अन्तिम फोन संवाद सम्झँदै उनी भन्छिन्, ‘खै‚ कतिवटा दशैं बितिसक्यो छोरो फर्किंदैन।’

मीनालाई १२ वर्षीय नाति (विक्रमका छोरा)ले बाबा कहिले आउनुहन्छ भनी सोधिरहन्छन्। नातिको प्रश्नले सधैं रुवाउने गरेको उनले सुनाइन्। ढल्कदै गरेको उमेरसँगै नातिनातिनीको जिम्मेवारीको भारी बोकेर हिँडेकी मीना बाख्रा पालन गर्छिन्। नशाको बिरामले आजिद बनेकी उनी छोरा फर्किदिए सबै जिम्मेवारीबाट विश्राम लिएर आरामको श्वासले आराम लिने उनी बताउँछिन्। नजिकिएको चाँडपर्वमा आफुसँग रहेका नातिहरुलाई मिठोमसिनो खान दिन उनलाई सकस परेको उनले सुनाइन्।

‘नातीहरुले नयाँ लुगा माग्छन्, एक छाक मिठो खुवाउनै प¥यो पोहोरको ऋण तिरेकी छैन फेरी ऋण खोजेर दशैंको जाहो गरेकी छु, उनले भनन्,ि‘हाम्रो लागि त  त दशैं नै नआइदिए हुन्थ्यो जस्तै लाग्छ। ’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.