|

काठमाडौं: नेपालमा पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको छ। त्यसो त जनजीवन सहज बन्दै गएको सबैलाई अनुभूति भएको छ। गतवर्ष दशैंका वेला देशैभरका शक्तिपीठ मन्दिर बन्द गरिएका थिए।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दशैंमा नित्यपूजाबाहेक अरू पूजाका लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको थियो। यो वर्ष स्थिति सामान्य बन्दै गएकाले अधिकांश मन्दिर खुलेका छन्। दशैंका वेला पनि मन्दिर खुल्नेछन्।

उपत्यकाका दक्षिणकाली, भद्रकाली, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती, बंगलामुखी मन्दिर, बज्रवाराही मन्दिर लगायत शक्तिपीठ मन्दिर मानिन्छन्।

भद्रकाली मन्दिर

काठमाडौंमहानगरपालिका वडा–११ का अध्यक्ष हीरालाल तण्डुकारले व्यवस्थित ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दशैंका वेला भद्रकाली मन्दिरमा पूजा गर्ने प्रबन्ध मिलाउने बताए।

उनका अनुसार भक्तजनका लागि मन्दिर खुला रहनेछ। मन्दिरमा बलि पनि चढाउन पाइने उनले बताए। गत वर्ष कोभिड–१९ संक्रमणका कारण बलि चढाउन दिइएको थिएन।

पछिल्लो समयमा बलि चढाउने भक्तजनको संख्या घट्दै गएको उनको भनाइ छ। उनले भने, ‘बिहान चार बजेदेखि नै ४३ जनालाई स्वयंसेविका खटाएर व्यवस्थित ढंगले दर्शन गर्ने व्यवस्था मिलाउँछौँ, सामाजिक दूरी कायम गराउनेछौँ, सेनिटाइज र माक्सको पनि व्यवस्थापन हुन्छ।’

मैतीदेवी मन्दिर

मैतीदेवी मन्दिरको मूल मूर्तिलाई छुन पाइनेछ्रैन। बढी भीडभाड हुने भएकाले बाहिरबाटै भक्तजनले दर्शन गर्नुपर्ने मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव सुरेन्द्र श्रेष्ठले बताए।

उनका अनुसार मन्दिरको मूलद्वार बिहान चार बजेदेखि बेलुका १० बजेसम्म खुला गरिनेछ। त्यसै वेला भक्तजनले मूर्ति नछोई बाहिरबाटै दर्शन गर्न पाउनेछन्।

‘मूर्ति हराउने जोखिमले पनि यस्तो निर्णय गरेको हौँ’, उनले भने। उनले गत वर्ष बलि चढाउन नदिइएकोमा यो वर्ष भाले, बोका लगायतको बलि दिइने उनको भनाइ छ।

नक्साल भगवती मन्दिर

काठमाडौंमहानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठका अनुसार नक्साल भगवती मन्दिर सुरक्षा व्यवस्था कडा बनाई चौबीसै घण्टा भक्तजनका लागि खुला गरिनेछ। बलि पनि चढाउन पाइनेछ।

‘बलि भित्र होइन, बाहिरबाट मात्रै दिन पाइनेछ’, उनले भने, ‘अनिवार्य मास्कको प्रयोग, सामाजिक दूरी कायम गरेर मात्र पूजापाठ गर्नुपर्ने छ।’ नियमित नित्यपूजा भने अहिले पनि भइरहेको उनले बताए।

दक्षिणकाली मन्दिर

दशैंभर दक्षिणकाली मन्दिर चौबीसै घण्टा भक्तजनका लागि खुला गर्ने दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले बताए। उनका अनुसार भक्तजनलाई सहज रूपमा मन्दिर दर्शन गराउन २० जना प्रहरी र २५ जना स्वयंसेवक खटाइनेछ।

‘कोभिड संक्रमण जोखिम कायमै छ, त्यसैले भीडभाड गर्न दिइनेछैन, भक्तजनले पनि आफू कसरी सुरक्षित हुन्छु भन्नेमा गम्भीर हुनुपर्छ’, नगरप्रमुख बस्नेतले भने। उनले मन्दिरमा बलि चढाउन पाइने बताए।

गुह्येश्वरी मन्दिर

पाशुपतक्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा यो वर्ष बलि चढाउन पाइने भएको छ। गत वर्ष कोरोनाका कारण नित्यपूजा मात्रै भएको थियो।

ललितपुर महानगरपालिका सम्पदा सरंक्षण महाशाखाका वरिष्ठ अधिकृत विमलकेशरी अमात्यका अनुसार बंगलामुखी मन्दिर र बज्रबाराही मन्दिर दशैंमा पनि खुल्नेछ। सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पूजापाठ गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.