|

धनकुटा : नेपालीको महान् चाड दशैँमा चंगा उडाएर रमाइलो गर्ने पुरानै चलन हो। यति ठूलो चाडमा रमाइलो गर्ने सबैलाई अवश्य मन लाग्छ। रमाइलो गर्दै दशैँको स्वागत गरिन्छ।

दशैँ सुरु भएसँगै पसलमा रङ्गीचङ्गी चंगा सजाउने पनि गरिएको छ। दशैँबाहेक अरू वेला चंगा उडाउने गरिँदैन। मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा पनि दशैँमा चंगा उडाउने गरिन्छ। तर पछिल्लो समय खुला आकाशमा रङ्गमय चंगा उडेको हेर्न पाउन सहज छैन।

समयको परिवर्तनसँगै चंगा लोप भएको महसुस गर्दै सधैँ चंगा उडाउन सोखिन कोमल आठपहरियाले स्मार्ट फोन, ट्याबलेट, ल्यापटपजस्ता मनोरञ्जनका अरू साधन मुख्य मनोरञ्जनको साधन बनेका कारणचंगा उडाउने चलन लोप भएको बताउँछन्। यति मात्र नभएर उनी वरिपरिका स्थानमा अग्ला अग्ला भवन ठडिएका कारणले पनि लोप भएको हुनसक्ने बताउँछन्। चंगा उडाएको इतिहास खासै थाहा नभएको बताउँदै विशेषगरी दशैँमा चंगा उडाउने गरिएको हुनाले नयाँ स्फुर्ति आओस् भनेर उडाइने गरिएको हुनसक्ने उनको अनुमान छ।

‘गएका वर्षहरूमा धेरैले मनोरञ्जनका लागि चंगा उडाउने गरेका थिए’‚ उनले भने, ‘हामी चाहिँ तल्लो कोप्चे, माथिल्लो कोप्चे, छोम्देन, वडाङ, कर्मिटार, माझगाउँ लगायतका स्थानका घरको छतबाट चंगा उडाएर जुधाई गरेर रमाइलो गर्थ्यौँ।’ चंगा उडाएर जुधाएपछि जसको धागो चुँडिन्छ त्यसलाई हकेट भनेर चैट भएको घोषणा गरिने आठपहरियाले सम्झिए।

‘चंगा उडाउन प्रयोग गरिने धागोमा आ-आफ्नो तरिकाअनुसार माच गरिएको हुन्थ्यो।’, आठपहरियाले भने, ‘माच गरिनु भनेको सिसाको धुलो, साधना, घ्यूकुमारी, सिमलको चोप, चिप्लेझार प्रयोग गरेर माड बनाएर धागोमा लगाइन्थ्यो। यसरी उडाएको चंगाको धागोले अरूको धागो काट्ने गरिएको थियो। जसको धागो राम्रो हुन्छ त्यसले काटेर अर्कोको चंगा झार्ने गरिएको थियो।’

उनले धागोमा के के प्रयोग गरिएको छ भनेर अर्को व्यक्ति वा समूहलाई थाहा नदिने गरिएको पनि बताए। ‘अघिल्ला वर्षमा कसको चंगा कति माथि पुग्ने र कसले चंगा चेट गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो’‚ उनले भने, ‘अहिले त चंगा उडाउँदा पनि वरिपरिका अग्ला संरचनामा चंगाको डोरी अड्किने समस्या हुन्छ।’

दशैँलाई मासुका परिकार खाने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा मानिन्छ। केही वर्षसम्म उपत्यकाका आकाशमा एक महिनाअगावै रंगीबिरंगी चंगा उडेको दृश्य देखिन्थ्यो तर योपटकको दशैँमा एउटै चंगा उडेको देखिएको छैन। विशेषगरी अहिले नयाँ पुस्तामा चंगा मोह घटदै गएको छ।

मनोरञ्जनका सामग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चंगा उडाउनेभन्दा पनि त्यही मनोरञ्जनका सामग्रीमै रमाउनु र चंगा उडाउन खुला ठाउँ अभाव हुँदा घरको छतबाट चंगा उडाउँदा दुर्घटना हुन थालेपछि अहिले चंगाप्रतिको आकर्षण घटेको छथर जोरपाटीका डिल्ली बुढाथोकीले बताए।

चंगा उडाउने चलन लोप भएसँगै बजारमा पहिले पहिले किराना पसलदेखि तरकारी पसलसम्म पाइने चंगा अहिले आएर केही सीमित पसलमा मात्र भेटिने गरेको छ। अझ लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ।

केही संघ संस्थाले संस्कृति धान्ने निहुँमा चंगा उडाउने कार्यक्रम राखे पनि व्यक्ति आफैँ नै स्वतःस्फूर्त ढंगले चंगा उडाउने भने अत्यन्त कम महसुस गरिएको धेरैको अनुभव छ। ‘पहिलेभन्दा चंगा उडाउनेको संख्या कम छ’‚ छथर जोरपाटीका बुढाथोकीले भने, ‘पहिले–पहिले दशैँ लाग्नुभन्दा महिना दिनअघिदेखि नै आकाशमा चंगाको भीड हुन्थ्यो।’

उनले पछिल्लो १० वर्षमा चंगा उडाउनेको संख्या ज्यादै कम हुँदै गएको सुनाए। विश्वमा धार्मिक, सामाजिक, वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भए पनि नेपालमा भने दशैँतिहारलगायतका चाडपर्व आएको संकेत यसले दिने गरेको थियो।

चंगाको इतिहास

चंगाको सुरुवात प्राचीनकालमा चीनको हान वंशबाट भएको पाइन्छ। त्यो समयमा चीनका एक व्यक्तिले काठ र बाँसको चरा आकारको चंगा बनाएर तीन दिनसम्म आकाशमा उडाएको भनाइ रहेको छ। त्यही समयदेखि नै चंगा उडाउने परम्परा रहेको इतिहास पाइन्छ। नेपाल र भारतमा चंगाको चलन जापानबाट आएको विश्वास गरिन्छ। जापानमा यसको प्रचलन चीनबाट आएको मानिन्छ। नेपालमा चंगाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो नभएको जानकारहरू बताउँछन्।

दन्त्यकथालाई विश्वास गर्ने हो भने, चीन र जापानमा चंगाको प्रयोग सैन्य उद्देश्यका लागि पनि गरिन्थ्यो। बच्चाको सम्भावित वर्षभरिको दशा काटियोस् भनेर कोरियामा चंगामा बच्चाको नाम र उसको जन्म मिति लेखेर उडाइने गरिएको इतिहास पाइन्छ।

किंवदन्तीअनुसार वर्षायाममा धेरै पानी परिसकेको हुने र धान पाक्ने वेला भइसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चंगा उडाएर पठाएको मानिन्छ। चंगा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ। 

चाडपर्वको संकेत

चंगा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र भन्दा पनि चंगा उडाउनुलाई चाडपर्वको संकेत पनि भन्ने गरिएको छ। किंवदन्ती अनुसार वर्षायाम भरि धेरै पानी परिसकेको हुनाले धान पाक्ने वेला वर्षाका राजा इन्द्रदेवलाई पानी चाहिँदैन भनेर चंगा उडाएर सन्देश पठाएको भनाइ छ।

चंगा उडाएमा पानी पर्दैन भन्ने विश्वास पनि रहेको छ। विश्वमा धार्मिक, सामाजिक, वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भए पनि नेपालमा भने दशैँतिहारलगायतका चाडपर्व आएको संकेत दिन्छ। 

दशैँमा किन उडाइन्छ चंगा?

चंगा उडाउनुको महत्व फरक भए पनि यसको महत्व दशैँसँग पनि जोडिएको छ। दशैँ शरद ऋतुमा पर्छ। शारदीय वायुमा चंगा उडाउन सहज हुन्छ। त्यसमाथि दशैँको फुर्सद।

यो एउटा रमाइलो गर्ने वा मनोरञ्जन लिने माध्यम पनि हो। त्यसैले पनि यो समयमा चंगा उडाइन्छ तर चंगाको साइनो रमाइलोसँग मात्र छैन। चंगा उडाउनुसँग धेरै अर्थ जोडिएको छ। यसलाई प्रतीक एवं विम्बको रूपमा पनि लिने गरिएको छ।

यस्तै यसले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ। चंगा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो। किनभने चंगा उडाउनका लागि अरू मौसम अनुकूल हुँदैन।

यतिवेला भने आकाश खुला हुन्छ। वायुमण्डलमा शीतल हावा चल्न थाल्छ। चंगा उडाउन मन्द हावाको बहाव चाहिन्छ। यस्तो बहाव शारदीय मौसममा मात्र उपलब्ध हुन्छ। मनोरञ्जन मात्रै नभई ऐतिहासिक र धार्मिक महत्व बोकेको चंगा उडाउने परम्परा पछिल्लो समयमा संकटमा पर्न थालेको छ। यसको संरक्षण र महत्व बचाउनका लागी सम्पूर्णको ध्यान जान जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.