जनकपुरधाम : दशैँको आठौँ दिन भक्तजनले जनकपुर सहित आसपासका शक्तिपीठमा खोइँच भर्ने तथा लड्डु चढाउनेको भीड लागेको छ।
खोइँच भर्न तथा लड्डु चढाउन राजदेवी मन्दिर, धनुषा रमदैयाको राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गामन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठमा श्रद्धालु जम्मा भएका छन्।
बुधबार बिहानसम्म हजारौँ मिथिलाका नारीले राजदेवी मन्दिरमा खोइँच भरेका छन् भने हजारौँको संख्यामा लाम लागेर पालो पर्खिरहेका छन्। त्यसैगरी लड्डु (प्रसाद) चढाउनेबीच तँछामछाड भइरहेको छ। अहिले पनि खोइँच भर्ने तथा प्रसाद चढाउने कार्यक्रम चलिरहेको छ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथिलावासी खोइँच भर्ने गर्दछन्। मिथिलामा माता दुर्गाको ‘खोइँच’ भर्ने विधि निकै पौराणिक हो।सप्तमीको साँझदेखि नै मिथिलावासीले ‘खोइँच’ भर्ने गर्दछन्। यो वर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोइँच’ भर्ने पण्डितहरू बताउँछन्।
मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोइँच’ दिने गरिन्छ। ‘खोइँच’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार र फलफूल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ। ‘खोइँच’ भर्दा धनधान्य प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलावासीले दुर्गामाताको खोइँच भर्ने गर्दछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।