|

डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको छ।

नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परेपनि उग्रतारामा भने बिहीबार मात्रै अष्टमी मनाइने भएको हो। अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ।

घटस्थापनादेखि गन्तिका हिसाबले आठौ दिनमा अष्टमी मनाइने प्रचलन रहिआएकाले बिहीबार मात्रै अष्टमी मनाइने अमरगढी नगरपालिका–८ का वडाध्यक्ष नरबहादुर साँकीले जानकारी दिए।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित शक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थीहरू पूजा आराधना गर्न पुग्छन्।

मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य स्थानलगायत भारतका विभिन्न स्थानहरूबाट खास गरी दशैँको अवसर पारेर घरमा आएका भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारा मन्दिर पुग्ने गर्दछन्।

अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात रहेको छ। मेलामा अम्बा, ओखर, केरा, दाडीमलगायत स्थानीयस्तरमा उत्पादित विभिन्न फलफूलको राम्रो व्यापार हुन्छ।

किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाइ छ।

उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका हो। चैते अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.