|

बेनी : आज महाष्टमी। दशैँको टीका आउन दुई दिन मात्र बाँकी छ। सबैलाई दशैँ लागेको छ। म्याग्दीका विपन्न दलित समुदायलाई भने दशैँ आएको छैन।

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतकाआइते दर्जीले दुवै आँखा देख्दैनन्। शारीरिक रूपमा समेत कमजोर जन्मजात दृष्टिविहीन दर्जीको जिम्मेवारी भने थेगिनसक्नुको छ।

दुईवटा छोरा बेरोजगार छन् भने कमाइ खाने जग्गाजमिन नहुँदा आफूले गिट्टी गुट्ने र श्रीमतीले दैनिक ज्याला मजदुरी गरेर साँझबिहानको गर्जो टार्दै आएका छन्.

उनको दयनीय अवस्था देखेर केही व्यक्तिको सहयोगबाट निर्माण गरिएको सानो घरमा बस्दै आएका दर्जीलाई अघिपछि त खासै नियास्रो लाग्दैन। चाडवाड आउँदा भने उनलाई आफ्नो अवस्था र गरिबीलाई धिक्कार्न मन लाग्छ।

अहिले हुनेखाने र शारीरिक रूपमा सबल व्यक्तिलाई दशैँको रौनकले छोएको छ। देश विदेशमा रहेका परिवारका सदस्यहरू जमघट हुने, मीठो खाने, आपसमा खुसी साट्ने गरिरहँदा आइते दर्जी जस्तै विपन्न परिवारलाई भने ‘साँझ खाए बिहान के खाऊँ’ भन्ने चिन्ताले पिरोलिरहेको छ।

बेनी नगरपालिका–५ पुलाचौरको पुरण्यका गणेश दर्जीको अवस्था पनि आइतेको भन्दा कम छैन। शारीरिक रूपमा सबल भए पनि गणेश दर्जीलाई भाग्यले कहिल्यै साथ दिएन। आफ्नो बुबाको जग्गाजमिन अर्कैले रजिष्ट्रेशन पास गराएर हडपेपछि सुकुमवासी बनेका ४२ वर्षीय गणेशले अहिलेसम्म कहिल्यै पनि सुखको सास फेर्न सकेनन्।

लोग्नेस्वास्नी, दुई छोरी र आमा गरी पाँचजना परिवारको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आउँदा जग्गाजमिन र नियमित आम्दानी नभएका गणेश सधैँ के खाने र कसरी आङ छोप्ने भन्ने पिरलोले रन्थनिने गर्छन्।

यी दुई दर्जीको जस्तै अवस्था भएका धेरै व्यक्ति छन्। जसलाई न चाडवाडको रमाइलोले छुन्छ न त दशैँतिहारजस्ता पर्व आउनु र नआउनुमा कुनै फरक पर्छ।

हुनेहरूका लागि दशैँ लागिसकेको छ तर फापरखेतका आइते र पुरण्यका गणेशजस्तै म्याग्दीका विपन्नलाई भने दशैँको रौनक छैन। छरछिमेकमा दशैँको उमंग छाएको छ। गरिबको घरमा दशैँको लागि केही सोचिएकै छैन।

गरिब र विपन्न वर्गको उत्थानका लागि सरकारले दिने सहुलियत र सुविधा पनि वास्तविक गरिब र विपन्न वर्गको पहुँचसम्म पुग्न सकेको देखिदैन। राजनीतिक रूपमा पहुँच भएका, टाठाबाठाले नै गरिबको नाममा आएको सहुलियत र सुविधा दुरुपयोग गर्ने गरेको बेनी नगरपालिका–५ पुरण्यका यामबहादुर दर्जीले बताए।

‘हामीलाई त केही छैन, अलिअलि भए पनि खेतबारी छ, झुपडी भए पनि आफ्नै जग्गामा बसेका छौं, हातगोडा सबल छन्, परिश्रम गरेर खान्छौंँ, चाडपर्व मनाउँछौँ’, यामबहादुरले भने‚ ‘गणेश जस्ता केही नभएका र बोल्न नसक्ने पीडित र विपन्नको नाउँमा आउने सुविधा र सहुलियत त सम्बन्धित व्यक्तिले पाए उनीहरूको अवस्थामा केही सुधार हुन्थ्यो होला नि।’

त्यसैगरी ज्यामरुककोटकी ६९ वर्षीया गङ्गादेबी सार्कीका श्रीमान १० वर्षदेखि बेपत्ता छन्। उनी अहिले सेउलीबजारको ​पर्ती जग्गामा बसोवास गर्दै आएकी छन्। उनको नाममा जग्गाजमिन केही छैन। ज्यामरुककोट फापरखेतकै पतिराम सार्की बेसहारा हुन्। उनका न सन्तान छन् न सम्पत्ति नै। त्यस्तै ४० वर्षीया तुलसी सार्की एकल महिला हुन्। उनको पनि सम्पत्तिको नाउँमा तिलराख्ने ठाउँ समेत नभएको बताउँछिन्।

त्यस्तै घरबार बिग्रेर माइतै बसी अरूको घरमा निमेक गरेर दुईवटा बालबच्चा हुर्काइरहेकी फापरखेतकै ४५ वर्षीया बैरी सर्किनीको अवस्था पनि कहालीलाग्दो रहेको छ। यी सबै व्यक्तिलाई दशैँको कुनै पनि रौनक र रमाइलो छैन। रातदिन गरिबीमा पिल्सनु र आधा पेट खाएर साँझबिहान घचेट्नु बाहेक अर्को उपलब्धि अहिलेसम्म जीवनमा प्राप्त नभएको उनीहरूको भनाइ रहेको छ।

‘सबैको घरमा दशैँ आएको छ तर हाम्रो घरमा दशा लागेको छ’, फोनमा कुरा गर्दै गणेशले भने, ‘छोरीहरूले नयाँ कपडा र मीठो खानेकुरा चाहियो भन्छन्, आफूलाई साँझबिहानको गास जुटाउनै धौ धौ परेको छ, कहाँबाट ल्याउनु नयाँ कपडा र मीठो खानेकुरा।’​

हुनेखानेले जति महँगो भए पनि रामै्रसँग दशैँ मनाउँदा नहुनेको मनमा खिन्नता उत्पन्न हुन्छ। यसले गर्दा कतिपय व्यक्ति चोरी,बदमासी जस्ता अपराधमा समेत लाग्ने गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.