|

बैतडी : सुदूरपश्चिमकै सबैभन्दा बढी पशुबली हुने बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको मेला आज सम्पन्न भएको छ।

फूलपातीदेखि सुरु भएको जात्रा महाअष्टमीमा पशु बलीसहित पूजाआजा गरी सम्पन्न भएको हो। मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलीसहित जात्रा सम्पन्न भएको छ।

दुवै स्थानमा रहेका भगवतीका मन्दिरमा दुई हजार बढी राँगा र बोकाको बली दिइएको प्रहरीले जनाएको छ। निङ्गलाशैनी मन्दिरमा तीन सय २८ रांगाको बली चढाइएको प्रहरी चौकी देहिमाडौंका प्रमुख केशवसिंह भण्डारीले जानकारी दिए।

घटस्थापनादेखि  महाअष्टमीका दिनसम्म एक हजार पाँच सय बोकाको बली चढाइएको छ। यस्तै मेलौलीमा ९५ राँगा र एक सय ४४ बोकाको बली दिइएको जनाइएको छ।

जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थीसमेत आएका थिए। मेलामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक सय बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बलीका क्रममा राँगालाई मन्दिर परिसरको मैदानमा दौडाउने गरिन्छ। करिब १० हजार बढी दर्शनार्थी मेलामा आएका अनुमान गरिएको छ। स्वास्थ्यका मापदण्ड पालना गर्न भनिएपछि मापदण्डको भने व्यापक उल्लंघन भएको पाइएको छ।

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएकाे थियाे भने मदिरा बिक्री वितरण, सेवन र जुवातास खेल्न पूर्ण रुपमा रोक लगाएको छ।

यस्तै दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष रनबहादुर बोहराका अनुसार घटस्थापनादेखि नै देहिमाडाैं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.