‘हुने खानेका लागि दशैं, हाम्रा लागि दशा आइदियो’

|

काठमाडौं : नेपालीहरूलाई महान् चाड दशैंले छपक्कै छोपेको छ। पसल पसलमा नयाँ लुगा किन्नेको भीड छ। कोही घर फर्किसकेका छन्। घर फर्किने नसक्नेहरु रोजिरोटीका लागि जहाँ थिए‚ त्यहीं छन्।

मजदुरी गरी जीविकोपार्जन गर्दै आएकाहरुको कथा फरक छ। उनीहरूलाई दशैंले छोएको छैन। उनीहरू एक छाक पेट भर्नका लागि घामपानी नभनी पसिना बगाइरहेका छन्। कहिले त उनीहरू भोकै पनि रात काट्न बाध्य हुन्छन्।

गत मंगलबार बौद्धमा पनि त्यस्तै दशैं किनमेल गर्नेको भीड थियो। कोही लुगा व्यापारीले भन्दै थिए, ‘यी लुगा लानुस्, राम्रो छ, सुहाउँछ, तपाईंकै भाउमा दिन्छु।’ त्यो भीड अनि मोलमोलाइ हेरर बसिरहेका थिए, सुबोध सुवेदी।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाका सुबोधका आँखा लुगा किन्नेहरूमा देखिए पनि उनको मन भने अन्तै खेलिरहेको थियो। उनी पेशाले भरिया हुन्। कसैले बोलाए सामान बोक्न पाइन्छ कि भन्ने उनमा आशा थियो तर कसैले बोलाएन। ‘बिहानैदेखि काम पाइएन, आज त खाली हात टकटक्याउँदै फर्किनुपर्छ कि के हो?’, उनले सानो आवाजमा बोले।

दशैंका वेला छोराछोरीलाई नयाँ लुगा लगाउने रहर हुन्छ। त्यसैले उनमा नयाँ लुगा किन्ने सोच कहाँ नभएको हो र?

तर उनीसँग लुगा किन्ने दाम छैन। दाम नभएपछि किन्ने मन पनि छैन। ‘हुने खानेहरूका लागि दशैं आयो होला, मेरा लागि दशैं त दशा बनेर आएको छ’, लामो सास फेर्दै सुबोध सुनाउँछन्।

उनको परिवारमा चारजना छन्। सबै परिवार गाउँमै छन्। उनको कमाइ नभए पनि परिवारले गाउँमा बोलाएका छन् उनलाई। त्यसैले दशैं मनाउन उनी गाउँ जाँदै छन्।

अधिकांश व्यक्तिले सहरबाट गाउँ जाँदा नयाँ लुगा र नयाँ नोट लान्छन् तर उनी रित्तो हात जाँदै छन्। ‘केही बचत पनि छैन, अब ऋण गरेर दशैं मनाउने भनेको छु’, उनले भने, ‘कम्तिमा पनि ५० हजार ऋण लिनुपर्ने हुन्छ।’

काम पाएमा दिनको १५ सयसम्म कमाइ हुने उनी बताउँछन्। पछिल्लो समय कोभिडका कारण खासै सामानको भारी भरियालाई बोकाउने गरेका छैनन्। त्यसो त उनी कामविहीन बनेका हुन्।

उनीसँगै सडकपेटीमा बसिरहेका एक व्यक्ति निराश मुद्रामा थिए। उनमा बोल्ने खासै जाँगर थिएन। दशैं नजिकिँदै गर्दा श्रीमती गुमाएका कारण उनी शोकमा रहेछन्। घटना घटेको समय भर्खरै अर्थात् एक महिना मात्रै भएको छ।

त्यसैले उनमा दशैंप्रति खासै चासो छैन। काठमाडौंमै बसेर जसोतसो दशैंका दिन काट्ने उनी सुनाउँछन्।

नाम सोध्ने र फोटो खिच्ने आग्रह गर्दा उनले भने, ‘काम छैन, काम नभएपछि दाम छैन, मेरो नाम भनेर के पाउँछु बाबु? मेरो पीडा भनेर कसले सुन्छ र?’

उनले जानकारी दिएअनुसार उनकी श्रीमती दम रोगबाट पीडित थिइन्। काठमाडौंको टिचिङ लगायत तीनवटा अस्पतालमा उनले उपचार गराए। बाँच्छिन् भन्ने उनमा आशा थियो तर आशा अन्ततः निराशामा टुंगियो। उनकी श्रीमती अब कहिल्यै फर्किने छैनन्। यो कुरा उनलाई थाहा छ। तर उपचार गर्न लिएको ऋण नतिरेसम्म उनलाई सताइरहनेछ।

‘उपचारमा पाँच लाख जति ऋणमा परेको छु, अब कसरी तिर्ने थाहा छैन’, उनले यतिमात्र भने।​

दशैंमा सधैँ ऋण

थाहाखबरकर्मी  न्युरोडमा पुग्दा त्यसैबीच कोही भरिया भारी बोकिरहेका भेटिए त कोही नाम्लो काँधमा लिएर थकान मारिरहेका भेटिए।

लुगाको भारी ओसारेर थकान मारिरहेका वेला दोलखाका मानबहादुर तामाङ भेटिए। परिवारले उनलाई पनि दशैंमा घर मनाउन बोलाइरहेका छन् तर खर्च जुटाउन सकेका छैनन्। ‘काम पाउनै सकिएको छैन। घर जान धेरै खर्च लाग्छ, अब यतै बस्ने सोच बनाएको छु’, उनले भने।

दिनमा कमाएको कमाइ आफ्नो पेट पाल्दैमा ठिक्क हुने उनी सुनाउँछन्। ‘कमाइ कहिले दिनको २ हजारसम्म हुन्छ, कहिले एक रुपैयाँ पनि हुन्न। त्यही कमाएको पैसाले खाँदा, डेराभाडा तिर्दा ठिक्क हुन्छ। यो वर्षको दशैं ऋण गरेर मनाउनु भनेर गाउँमा भनेको छु, सधैं दशैंमा ऋणै गर्नुपर्छ’, उनले भने।

कोभिडले सुबोध, मानबहादुर जस्ता मजदुरी गर्नेको खुशी खोसेको छ। दैनिकी बिथोलिएको छ। कोभिडको डेढ वर्ष बित्न लाग्दा पनि उनीहरू पुरानो अवस्थामा फर्कन सकेका छैनन्। ती अवस्थामा कहिले फर्कने उनीहरूलाई थाहा छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.