|

ताछिएको पाखोबारी र निधार
छैन केही फरक

रोपूँला यही पाखोबारीमा
अक्षताको दूबो
छोपूँला खिया पर्दैगएको शिर
जमराको सिउरले

स्वजनको आशिषले ओत देला
थामिन्छ कि अब
पलपल झोक्किने पैतालाको पहिरो
सरुवा भई आउँछ कि
उही पुरानो ठेगाना पैल्याउँदै
सौभाग्य नामको हल्कारो

छाडेको चिया झैँ एकदम चिसो
निभेको चुरोट झैँ ध्यानमग्न
कुनै घर होला परदेशीको पर्खाइमा
सुकेको सिट्ठा बाँस भएर
कुरेका होलान् निर्बलिया बा-आमाले
तुफान हुँदै आउनुपर्ने लालाबालालाई

भोकले दोब्रिएको पेट जस्तै
बटारिएका यी बाटाहरू पार गराउन
छैन पर्खाइ कुनै देवदूतको
दशैं आउँछ र आउँछन्
सम्झना र समस्याका भँगालोहरू एकसाथ
कतै
टीका उजाडिएको निधार खडेरीग्रस्त पाखोबारी
कतै
टीका टाँसिएको निधार -
ताराको दाग उम्रिएको बिफरग्रस्त आकाश।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.