काठमाडौं : ओखलढुंगाका पासाङ शेर्पा गोकर्णेश्वर नगरपालिकाको नयाँपाटीस्थित डिकी छिरिङ होस्टेलमा बस्छन्। १५ वर्षका पासाङ त्यहीं नजिकै रहेको चण्डिकाश्वरी बोर्डिङ स्कुलको कक्षा ९ मा अध्ययन गर्छन्।
होस्टेलमा आफू डेरा लिएर बसेजस्तो हुँदैन। होस्टेलका आफ्नै नियम हुन्छन्। त्यही नियममा बस्नुपर्ने हुन्छ। अधिकांश होस्टेलका विद्यार्थी वर्षमा एकपटक मात्र आफ्नो जन्मभूमि टेक्न पाउँछन्।
पासाङ पनि एक वर्षपछि गाउँ जाने मौका जुरेको छ। उनलाई दशैंले उक्त अवसर जुराएको छ। आफ्नो जन्मथलो जान पाउँदा यतिखेर उनमा खुसीको सीमा छैन। उनी भन्छन्, ‘दशैं मनाउन एक वर्षपछि गाउँ जान पाएको छु। गाउँ जान पाउने खुसीले गदगद भएको छु।’
उनी होस्टेल बसेको चार वर्ष पूरा भई पाँच वर्षमा लाग्दै छ। उनी आफ्नो भविष्य खोज्न अहिले पढिरहेका छन्। संघर्ष गरिरहेका छन्।
यस वर्षको दशैं रमाइलो गरी मनाउँदै छन्, पासाङ। ‘आफन्त अनि साथी संगिनीलाई भेट्नेछु, मिठो–मिठो खानेकुरा खान्छु, टीका लगाउँदै आशीर्वाद थाप्छु’, उनले भने।
राजधानीमा स्वास्थ्य, शिक्षा लगायतको सेवा सुविधा भएकाले पछिल्लो समय गाउँघर शून्य हुँदै गएको छ। अभिभावकहरू छोराछोरी पढाउन यही काठमाडौँमा ल्याउँछन्। जति नै वर्ष सहर बसे पनि गाउँघरको याद सधैँ रहिरहने पासाङ बताउँछन्। दशैं र तिहार चाड पनि गाउँमै रमाइलो हुने उनको अनुभव छ।
उनी भन्छन्, ‘यहाँको दशैंभन्दा गाउँघरकै दशैं रमाइलो लाग्छ, त्यसैले अरू वेला गाउँ जान नपाए पनि दशैंमा गावै जान मन लाग्छ, गाउँकै दशैं प्यारो लाग्छ।’
अहिले पनि कोभिड–१९ को जोखिम कायमै छ। त्यसैले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी दशैं मनाउनुपर्ने उनको आग्रह छ। सबै शुभचिन्तकलाई उनको दशैं शुभकामना सन्देश छ।
त्यही होस्टेलमा बस्दै आएकी १५ वर्षीया पुष्पा शेर्पा भने यो वर्षको दशैं यही काठमाडौंमा मनाउँदै छिन्। सिन्धुपाल्चोककी पुष्पा दुई वर्षदेखि होस्टेलमा बसेकी छिन्। उनी अहिले चण्डिकाश्वरी बोर्डिङ स्कुलको ९ कक्षामा पढ्छिन्। ‘लकडाउनमा मात्रै घर गएकी थिएँ, त्यसैले यो पालिको दशैं होस्टेलमै मनाउँदै छु’, उनले भनिन्।
दशैंमा पुष्पा जमरासहित टीका लगाउनेछिन्। आशीर्वादसँगै दक्षिणा पनि लिने छिन्। होस्टेलले प्रत्येक वर्षको दशैंमा उपहार दिने गरेको छ। उनी पनि साथीभाइसँग उपहार आदानप्रदान गर्ने छिन्।
‘कोरोनाबाट परिवार जोगाउन गाउँ जाने सोच बनाइनँ’
कोरोना संक्रमणबाट बच्न र फैलन नदिन सरकारमात्र नभई हरेक नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । त्यही जिम्मेवारी वर्षा कोइरालाले वहन गरेकी छिन्। सोही होस्टलमा बस्दै आएकी कपिलवस्तुकी १५ वर्षीया वर्षाले पनि दशैंमा जाने सोच बनाइनन्। कोरोना संक्रमण जोखिमका कारण यो वर्षको दशैं काठमाडौँमै मनाउने बताइन् ।
उनले भनिन्, ‘गाउँमै दशैं मनाउने रहर त छ नि तर कोरोना संक्रमण हुन्छ कि भन्ने डर छ, परिवार पनि जोगिनुपर्छ, त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर यहीँ दशैं मनाउँदै छु।’
उनी अघिल्लो वर्षको दशैंमा भने गाउँ गएकी थिइन्। रमाइलो गरिन्। मन्दिर गइन्। गाउँमै रमाइलो हुने पनि उनले सुनाइन्। ‘यसपालि नयाँ लुगा लगाउनेछु, जमरा र टीका लगाउनेछु, दक्षिणा पनि दिनुहुन्छ, होस्टलबाट पिकनिक पनि लानुहुन्छ’, वर्षाले भनिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।