तनहुँ : व्यास नगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन्। उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिँदैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन्।
सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरीसहित ९० घार पुर्याइसकेका छन्। ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढ्नु भएका उहाँले ‘दामसंगै नाम ’ पनि कमाउन सफल बन्नु भएको छ।
साढे दुई आनाको बनेको घरको छत, बरण्डा पेटी, एक रोपनी जमिन मौरीपालन गरेर मह र मौरी बिक्री गरेर बार्षिक आठ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए। उनी एक दशकदेखि सो व्यवसायमा लागेका हुन्।
जिल्लाका मौरी पालक नमुना कृषकमध्येमा मिश्र पर्ने गरेकाले मौरीपालन गर्नेलाई उनको फार्म देखाएर ज्ञान दिने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए। केन्द्रबाट ४० घार अनुदान पाएकाले व्यवसाय बृद्धि गर्न सहज हुनुको साथै व्यवसायमा सफलता मिलेको किसान मिश्रले बताए। पछिल्लो समय उनको मह तथा मौरी किन्न ग्राहक घरमा नै आउने गरेका छन्।
मह मानाको एक हजार रुपैयाँका दरले ४०० माना मह घरैबाट बिक्री गरिएको छ। उनले भने‚ ‘यस वर्ष धेरै परेकोले मौरीले मह सङकलन गर्न नसक्दा डेढ लाख कम नाफा भएको छ।’
यस वर्ष पानी धेरै परेकाले फूलको रस बगाउँदा मौरीले धेरै मह सङ्कलन गर्न नसक्दा कम नाफा भएपनि निराश नभएको उनले बताए। उनले पछिल्लो सयम मौरी पाल्न चाहने किसानलाई प्रतिघार दश हजार रुपैयाँमा बिक्री गर्नुका साथै मौरी कसरी पाल्ने, कसरी जोगाउने भन्ने लगायतका विषयमा पनि जानकारी दिने गर्न थालेका छन्। उनले भने‚ ‘ कर्म गर्न लाज मान्नुहुन्न स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।