|

डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लागेको छ। नेपाली पात्रोअनुसार बुधबार महाष्टमी परे पनि उग्रतरामा भने बिहीबार मात्रै अष्टमी मेला लागेको हो।

घटस्थापनादेखि आठौँ दिन अष्टमी मनाइने प्रचलन रहकाले बिहीबार मात्रै अष्टमी लागेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। मेलाका अवसरमा उग्रतारामा एक दर्जनभन्दा बढी राँगा र बोकाको बलि दिइएको छ।

बिहीबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी आराधना गर्न पुगेका थिए।

मेलामा सुदूरपश्चिमका नौवटै जिल्ला तथा अन्य स्थानलगायत भारतका विभिन्न स्थानबाट खास गरी दशैँको अवसर पारेर घरतिर आएका भक्तजन एवं श्रद्धालु उग्रतारा मन्दिरमा आएका थिए। 

अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रूपमा प्रख्यात छ। मेलामा अम्बा, ओखर, केरा, दाडिम लगायत स्थानीयस्तरमा उत्पादित विभिन्न चिजको राम्रो व्यापार हुन्छ।

किंवदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाइ छ। 

उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको छ। चैते अष्टमी, महाष्टमी, विजया दशमी र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.