|
पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका वीरबहादुर र मसिनी राई दम्पती। तस्वीर : सुजता लिम्बू

विराटनगर

‘वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
नेपाली जनको महान् चाड आँगनमा आइपुग्यो
हो दशैँ आयो...’

पथरीशनिश्चरे–१० मा रहेको भुटानी शरणार्थी क्याम्पकी भीममाया तामाङको घरमा बजिरहेको थियो यो गीत। त्यही गीतको पृष्ठभूमिमा थियो चकमन्न शरणार्थी बस्ती।

थातथलो छोडेर आएका र छोडी जाने आफन्तको सम्झनामा बाँचेकी भीममायाको परिवारको गन्थन।

पूर्वी नेपालको झापाको दमक नगरपालिकाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीलाई अमेरिका, अस्ट्रेलिया र विभिन्न युरोपेली देशहरूमा पुनःस्थापना गरेपछि शिविर सुनसान भएको छ।

आफू जन्मेर हुर्केको ठाँउ भुटानमा छोडि आएका  र आफूलाई नेपालमै छोडि जाने आफन्तका सम्झनाले चाडपर्व पनि खल्लो लाग्ने गरेको भीममाया सुनाउँछिन्।

तीन दशकअघि भुटानबाट नेपाल आएकी उनी छोडी आएको जन्मघर र आफ्नासँग मनाएको दशैँको रौनक उनको मानसपटलमा अल्झिरहेको छ।

‘भुटानमा भए सबै परिवारको जमघट हुन्थ्यो, चाडपर्वको रौनक नै बेग्लै हुन्थ्यो,’ टोलाउँदै उनी सुनाउँछिन्, ‘सबै छोडिए उनीहरुको याद र सम्झनामा बाँच्नु परेको छ।’ आफ्नासँगै छुट्टिएपछि चाडबाड पनि नमज्जा हुनेरहेछ,’ उनले थपिन्।  

प्रत्येक वर्ष दशैँ, तिहार रमाइलोका लागिभन्दा पनि संस्कार, संस्कृतिलाई जोगाउन  मनाउने गरेको उनी बताउँछिन्।

क्याम्पमा बस्दै आएका उनीहरुलाई आफ्नाबाट छुट्टिनुको पीडा  छँदै छ, अभावको तातो रापमा पिल्सिनुको पीडाले चाडपर्व नै नआइदिए आनन्द हुने भीममाया बताउँछिन्।

‘हामीलाई शरणार्थीहरुको उच्च आयोग युएनएचसिआरले एक जना बराबर प्रत्येक तीन महिनामा एक पटक तीन हजार रुपैयाँबाहेक अरु व्यवस्था गरेको छैन, उनले भनिन्, ‘नेपाल सरकारले पनि अहिलेसम्म शरणार्थीहरुका लागि कुनै सहयोग गरेको छैन।’

आफन्त बाहिर गएका परिवारका लागि दशैँ टार्न खासै गाह्रो नभए पनि उनलाई दशैँ खर्च जोहो गर्न निक्कै सकस परेको उनले दुखेसो पोखिन्।

‘बाहिर गएका आफन्तले त खर्च पठाउँछन्, उनीहरुलाई दशैँ खर्च जोहो गर्नु गाह्रो हुँदैन,' उनले सुनाइन्, ‘मेरो पनि आफन्त अमेरिका गएका छन्। उनीहरुको पनि दुःख आफ्नै होला म चाहिँ सुँगुर कुखुरा पाल्छु त्यसैको आम्दानीले दशैँ खर्च, घर खर्च जोहो गरेकी छु।’

शिविरकै वीरबहादुर राई र मसिनी राई दम्पतीको पनि दुखेसो कम छैन।

शरीरमा लगाएको लुगा र ५ जना छोराछोरी च्यापेर भुटानबाट नेपाल आएका उनीहरुको २ सन्तानको बाटैमा मृत्यु भयो भने अरु दुई सन्तानले समयमा उपचार नपाएर मृत्यु बेहोर्नु पर्‍यो। उनीहरुको दुःख भुलाउने एउटा छोरा छ तर, साथमा छैन ।

 ‘चार जना छोराछोरी सबै सानैमा मरे, एउटा छोरा बाँचेको छ, ऊ पनि साथमा छैन,’ वीरबहादुरले भने, ‘अमेरिका गएर उतै घरजम गरेर बसेको छ।’

दशैँ सुरु भएको पूर्णिमाको दिनसम्म राई दम्पतीको प्रत्येक दशैँ परदेशिएको छोरा आउला भन्ने आशैआशमा बित्ने गरेको उनीहरु सुनाउँछन्।

बेलाबखत छिमेकीको मोबाइलमा छोरासँग सम्पर्क हुने गरेको वीरबहादुर बताउँछन्। उनी भन्छन्, ‘भौतिक शरीर भेटेजस्तो त हुँदैन मोबाइलमा बोल्दा तर चित्त बुझायो बस्यो।’

छोरा अमेरिका गए जीवन फेरिने सपना बुनेका राई दम्पतीलाई आजभोलि देखेका सपना सबै पूरा नहुने रहेछ जस्तो लाग्न थालेको छ।

उही अभाव र पीडाको छायाले नछोडेको उनीहरुलाई बेलाबखत भुटानमा छोडिआएको जमिन र आफन्तको यादले मनै कुँडिने गरेको एकै स्वरमा उनीहरु सुनाउँछन्।

‘छोरा अमेरिकामा छ भन्छन्, गाँउलेहरु तर देखेको जस्तो भोगाईको कहाँ हुन्छ र जीवन ?’ भावुक हुँदै मसिनी भन्छिन्, ‘कहिलेकाहीँ १/२ डलर पठाउँछन्, त्यो नुन, भुटुन किन्दै सकिन्छ, घरीघरी त भुटानमा छुटेका जिमिनको धेरै सम्झना आउँछ।’

भुटान छोड्दै गर्दा उनले नियालेको बारीमा उम्रँदै गरेको साग, खेतमा झुलेको धानको बाला क्यानभास झैँ उनको मानसपटलमा बसेको छ।

उनी भन्छिन्, ‘अब त त्यो खेती, बारी पनि छ कि छैन एकपटक पुग्न मन छ।’

७५ वर्षीय वीरबहादुर र ६५ वर्षिया मसिनीको उमेरको हिसाब हुँदो हो त यतिबेला आराम गर्ने उमेर हो। तर, भोको पेटले आरामसँग बस्न नदिने राई दम्पती दुखेसो सुनाउँछन्।

आफ्नै भएर पनि आफन्त जस्तो नसम्झने नेपालमा सन्तान बिना बस्नुभन्दा उनीहरुलाई आफ्नै देश फर्किन पाए चाडपर्व मात्रै होइन अरु बेला पनि रमाइलो हुने बताउँछन्।

दशैँको रौनकबीच सुनसान बस्तीमा बसेका वीरबहादुर भुटानमा छँदा आफन्तसँग दशैं मनाएको दृष्य कल्पदै बस्नुबाहेक विकल्प नरहेको बताउँछन्।

पूर्वी नेपालका झापाको दमक नगरपालिकाको बेलडाँगी र मोरङमा करिब १४ हजारको हाराहारीमा रहेका भुटानी शरणार्थी अमेरिका,अष्ट्रेलियालगायत  मुलुक जान पाउने भएसँगै अहिले ६ हजार हाराहारीको संख्यामा क्याम्पमा बस्दै आएका छ्न्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.