बिहे गरेर गाउँमा भित्रिएपछि त्याग्नै पर्छ माछा, मासु, लसुन र प्याज

|
पर्वतको नाग्लीवाङका बासिन्दा। तस्वीर : संजय रेग्मी

पर्वत : टीका र जमराको चाड दशैँ भन्नासाथ धेरैजसोले मासुका परिकारको चाडका रूपमा बुझ्ने गरेका छन्। देवीका मन्दिरहरूमा पनि बलि दिइन्छ।

तर, पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको उपल्लो नाग्लीवाङको एउटा बस्ती छ, जुन शालिग्रामधामका नामले पनि प्रख्यात छ। यो गाउँ सदियौँदेखि ऋषिमुनिले आश्रम बनाएर ध्यानमा बसेको बताइन्छ।

यो त्यही गाउँ हो जहाँ माछा मासु त परको कुरा लसुन प्याजसमेत चल्दैन। ऋषिमुनि बसेको पवित्र गाउँका रूपमा चिनिँदै आएको गाउँमा करिब ४५ घर छन्।

माछा, मासु, लसुन, प्याजले नकारात्मक शक्ति बढाउने भएकाले आफूहरूले वर्षौंदेखि तामसी खाना त्यागेको स्थानीय भुवन रेग्मीले बताए।

‘यो ऋषिहरूले ध्यान गरेको पवित्र गाउँ हो, यस्तो गाउँ त विश्वमा सायदै होलान् जहाँ माछा मासु चल्नु त परैको कुरा मासुजन्य प्रयोजनका कारण बाख्रा पनि पालिँदैन’ उनले भने, ‘खानकै कारण मानिसमा विकृत चिन्तनको विकास हुन्छ। गाउँको पवित्रतालाई तोड्न हुँदैन, यही कारण हरेक पुस्ताले यो सिको गरिरहेको छ।’

गाउँका सबै जना वैष्णव सम्प्रदायनिकट छन्। उनीहरूमध्ये धेरै तथा पूजाआजा, पाठ आदिका लागि संस्कृत अध्ययन गर्ने गरेका छन्।

बागलुङ, कुश्मा, पोखरा, बनारस, अयोध्यालगायत ठाउँ पुगेर अध्ययन/अध्यापन गर्दै आएका उनीहरू अध्यात्ममा विश्वास गर्ने भएका कारण सात्त्विक भोजनमा विश्वास गर्ने दण्डपाणी उपाध्यायले बताए।

‘हामी वैष्णव समुदाय हौँ। यहाँका कोहीलाई पनि माछा मासुको स्वाद नै थाहा छैन। मै यति बूढो भइसकेको छु, अहिलेसम्म मासु त के लसुन प्याज पनि खाएको छैन,’ उनले भने, ‘यहाँका केटाकेटीहरू सानै उमेरदेखि कर्मकाण्ड र संस्कृतको अध्ययन गर्छन्। मांसाहारी आहारले दानवीय रूप बनाउँछ।’

अर्को रमाइलो प्रसङ्ग पनि नाग्लीवाङसँग जोडिन्छ त्यो के हो भने विवाह गरेर यो गाउँमा आउने बुहारीले पहिले मासुजन्य पदार्थ खाएको भए पनि बिहेपछि त्याग्नै पर्छ।

गाउँमा माछामासु वर्जित रहेकाले माइतीमा रहँदा जस्तो खाना खाएको भए पनि बिहे गरेर आएपछि भने खान नपाइने स्थानीय नीरु रेग्मी बताउँछिन्।

‘बिहे हुनु अगाडि माइतमा त माछा, मासु, अण्डा खाइएकै हो। तर बिहे गरेर आएपछि अहिलेसम्म त्यस्तो खाइएको छैन। छोराछोरीलाई पनि त्यस्तो खान सिकाइएको छैन,’ उनले भनिन्, ‘छोराछोरी पढाउन, जागिर खान, व्यवसाय गर्न बजार झरे पनि हामी कसैले पनि त्यहाँ पनि माछा मासु खाँदैनौँ। छोराछोरीले त्यो सिकेकै छैनन्।’

आध्यात्मिक रूपमा व्याख्या गर्दा मासु कुनै जीवको हत्या गरेपछि प्राप्त हुने वस्तु हो। एउटा प्राणीको हत्या गरेर अर्को प्राणीले त्यसको शरीरबाट आफ्नो भोक मेटाउनुलाई ‘पाप’ का रूपमा हेर्ने गरिन्छ।

तर वैज्ञानिक र पोषणका रूपमा हेर्ने हो भने माछा मासुलाई पोषणको राम्रो स्रोतको रूपमा लिँदै विशेष खाना मान्ने गरिन्छ। उमेर र शरीरको आवश्यकताअनुसार सन्तुलित र सही तरिकाले खान सकेमा शरीरको लागि फाइदा हुने भए पनि अनियन्त्रित तवरले खाएमा त्यसैले हानी गर्ने विज्ञहरू बताउँछन्।

कतिपय अनुसन्धानले मांसाहारी खाद्यवस्तुको सेवन गर्ने व्यक्तिको भन्दा शाकाहारी वस्तुको सेवन गर्नेहरूको आयु लामो हुने दाबी पनि गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.