उपाधीका लागि भोलि भिड्ने, ऐतिहासिक नतिजाको ध्याउन्नमा नेपाल

|

काठमाडौं : १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधी भिडन्त नेपाल र भारत दुवैका लागि कठिन हुने देखिएको छ। दुवै देशका प्रशिक्षकले एक अर्का टिमलार्ई बलियो प्रतिद्वन्द्वीका रुपमा चित्रण गर्दै खेल कठिन हुने प्रतिक्रिया दिएका हुन्।

नेपाली टोलीका प्रशिक्षक किरण श्रेष्ठले भारतसँगको खेल त्यत्ति सजिलो नहुने बताएका छन्। खेलको अघिल्लो  दिन उनले भारत विरुद्धको खेललाई ठूलो खेलको संज्ञा दिँदै नेपालले यो खेललाई अवसरका रुपमा लिने बताए।

उनले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने दाबी गरे। ’भारतविरुद्ध पहिलेको खेलमा बेहोरेको गल्ती सुधार गरेर खेल्ने छौँ,' उनले भने, 'पहिलो पटक फाइनल पुगेकाले खेलाडी खेलमा केन्द्रित छन्।'

उता, भारतका प्रशिक्षक शानमुगम वेंकटेशले पनि साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध कठिन खेल हुने बताएका छन्। यद्यपि आफ्नो टिम पूरै आत्मविश्वासी र मेहेनती भएकाले उपाधी जित्नेमा सकारात्मक रहेको उल्लेख गरे।

फाइनलअघि शुक्रबार प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक वेंकटेशले समूह चरणमा नेपालले राम्रो नतिजा निकालेकाले उनीहरुको कन्फिडेन्स लेभल उच्च भएकाले खेल कठिन हुने बताए।

‘हामीले सुरुवातका दुई खेलमा गल्ती गर्‍यौं,’ उनले भने, ‘पछिल्ला २ खेलमा हामीले राम्रो खेलिरहेका छौं, हामी आत्मविश्वासी छौं, सकारात्मक नतिजा आउनेछ।’

प्रि–म्याच कन्फरेन्समा नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भने, 'हामी भारतविरुद्ध फाइनलमा गोर्खाली जसरी खेल्ने छौं।'

उपाधीका लागि नेपालले भोलि शनिबार भारतसँग खेल्दैछ। खेल माल्दिभ्सको राजधानी मालेस्थित नेसनल फुटबल स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ।

साफमा नेपाल र भारतको प्रदर्शन

प्रतियोगितामा भारत समूह विजेता तथा नेपाल समूह उपविजेता बन्दै फाइनल पुगेका हुन्। नेपालले इतिहास रच्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो भने भारत ७ पटकको च्याम्पियन हो।

लिगचरणका ४ खेलमा २ जित र २ बराबरीसँगै भारत ८ अंक बटुलेर समूहको शीर्ष स्थानमा रह्यो भने नेपालले २ जित, १ हार र १ बराबरीसँगै ७ अंक जोडेको हो।

नेपालले सुरुआती लगातार दुई खेलमा जित निकालेको थियो। माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो। तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाल समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो।

भारतले बंगलादेशसँग १–१ को तथा श्रीलंकासँग गोलरहीत बराबरी खेलेको हो। त्यसपछि नेपाललाई हराएको  भारतले अन्तिम खेलमा साविक विजेता एवं आयोजक माल्दिभ्सलाई  ३–१ ले पाखा लगायो।

दक्षिण एसियाली फुटबलका चिरप्रतिद्वन्द्वी नेपाल र भारत पहिलो पटक फाइनलमा भिड्न लागेका हुन्। समूह चरणको खेलमा भारतले नेपाललाई १–० ले पराजित गर्दा भारतीय कप्तान सुनिल क्षेत्रीले भारतका लागि विजयी गोल गरेका थिए। उनले जारी प्रतियोगितामा ४ गोल गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.