|
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मौवाटारस्थित तमोर नदी तर्दै याक। तस्वीर : रासस

ताप्लेजुङ : विजयादशमी दशैंको मुख्य दिन हो। मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार नै।

त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक‚ चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो। समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उनको गोठ छ।

छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा छन्। दशवटा दुहुना छन्। बिहान उठ्ने बित्तिकै एक गिलास दुध चिया लिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दुध दुहुँदा घाम लागिसक्छ। 

तिनलाई चरन क्षेत्रमा पुर्‍याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ। बिहान दुहेको दुधलाई मोही, घिउ र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ। साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ। यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ।

उनीहरूको मुख्य पुर्ख्यौली पेशा चौँरी–याकपालन नै हो। वर्ष दिनमा आउने दशैं तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए। चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए।

मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ। मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु लामाले बताए।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ। हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दशैंको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए। सहर बजारमा दशैंको उत्साह छाए पनि हिमाली बस्तीमा दशैं तिहारको न उत्साह न त उमंग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.