कञ्चनपुर : थारू बस्तीमा सखिया नृत्यले रंगिन बनेको छ। कृष्ण जन्माष्टमीका दिनदेखि आरम्भ गरिने सखिया नृत्य विजया दशमीसम्म देखाइन्छ।
थारू गाउँका प्रत्येक घरघरमा पुगेर साखिया नृत्य देखाइन्छ। धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट नृत्यको आरम्भ र अन्त्य गरिन्छ। थारू गाँउका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठकले सखिया नृत्यको आयोजना र व्यवस्थापनको चाजोपाँजो मिलाउँछ।
गुरुवा (झाँक्री)ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माबाट जोगाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ हुन्छ। सखिया नृत्यमा भगवान कृष्णको जन्मलीलादेखि मृत्युसम्म वर्णन गरिएको हुन्छ। नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ। नृत्यको बीचबीचमा गीतलाई फरकफरक भाका हालेर गाउने गरिन्छ।
मादल बजाउने कार्यको अगुवाइ गर्नेलाई अगुवा मदारी भन्ने गरिन्छ। अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिने बुद्धिराम चौधरीले बताए। गीत गाउने महिलाहरूको अगुवाई गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ। मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीहरूलाई जेठ गोहिया र पछगोहिया भन्ने गरिन्छ।
नृत्यमा मादलको तालसँगै विभिन्न मुन्द्रामा युवतीहरूले नृत्य पस्कने गर्दछन्। जसलाई थारू भाषामा खोट (पैंया) भन्ने गरिएको छ। पैंया २२ प्रकारको हुने गरे पनि हाल मदारीहरूले आफैं सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्ने थारू अगुवाहरूको भनाइ रहेको छ।
यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरूले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेश गर्नुपर्ने हुन्छ। सप्तमीको दिनसम्म राति निश्चित स्थानमा नाचिने सखिया अष्टमीको रातभरि नाचिन्छ। अष्टमीको रातभरि नाचिने नृत्यलाई भेडुवा जगैना भनिने थारू संस्कृतिका जानकार धनबहादुर चौधरीले बताए। उनले भने, ‘यस दिन थारू समुदायले कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलन समेत रहेको छ।’
पञ्चमी अघिल्लो दिनसम्म सादा पोशाक लगाएर नाचिन्छ। पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरूले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीहरूले रंगीविरंगी ऐना जडान गरेका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन्। महिलाहरुले हातमा मैजरी लिएर मादलको तालसँगै बजाउने गर्दछन्।
नवमी र दशमीमा भने सखिया दिउँसो नाचिन्छ। दिउँसो नाचिने सखिया नृत्यमा थारू युवतीहरूले कृष्णको लीलालाई आफ्नै भाषामा बखान गरी गाउँछन्। दशमीका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घरघरमा गएर सखिया नाचिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।