|

कार्लमार्क्स नबुझ्ने र मार्क्सको गम्भीर दार्शनिक गहन सिर्जनात्मक चिन्तन नबुझेकाहरू अचेल कम्युनिस्ट भएका छन्। नेपालमा यस्तो विसंगति चरम अवस्थामा छ। त्यसमा एमाले लगायत सबै कम्युनिष्ट पार्टीका उपल्ला तहका नेता पनि पर्छन्।

संस्कृति र सांस्कृतिक रूपान्तरणसम्बन्धी सामान्य ज्ञान पनि अधिकांश कम्युनिष्टमा पाइन्न। त्यसैले शीर्षकमै तिनमा शून्य चेत भनिएको हो। अझ द्वन्द्व र द्वन्द्ववादको बहुआयामिक सूक्ष्म अर्थ‚ आशय र सन्दर्भ पटक्क नबुझी घाँटी नै रेट्न, बल र शस्त्र प्रयोग गर्न हौसिने कठमुल्लावादी जडसूत्रवादी कमरेडको त कुरै फरक भयो। एमाले जस्तो पार्टीका ९८ प्रतिशत नेता समेत धर्म र संस्कृति तथा सांस्कृतिक रूपान्तरणसम्बन्धी सुझबुझका दृष्टिले अत्यन्त दयनीय देखिन्छन्।

जनताको बहुदलीय जनवाद (जबज) अनुसार संस्कृतिबारे अध्ययन मनन गर्ने कुरा त तिनका वशको बात नै होइन जस्तो छ। कार्लमार्क्सले नै अधिभौतिकवादी वा अध्यात्मवादी फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववाद, जो टाउकाले टेकेको थियो, त्यसलाई आफूले खुट्टाले टेकाएको बताएका थिए। यति कुरा पनि कमरेडहरू बुझ्दैनन् जस्तो लाग्छ।

जसरी मार्क्सले आध्यात्मिक सोच, समझ र मान्यतामा आधारित भौतिकवाद र द्वन्द्ववादलाई वैज्ञानिक व्याख्या र विश्लेषण गरे। त्यस्तै धर्म, संस्कृति र सांस्कृतिक रूपान्तरण जस्ता विषयमा रहेको रुढीवादी सारतत्व हटाएर सार्थक र जीवनोपयोगी धर्म र सांस्कृतिक सारको सुरक्षा र संवर्धन गर्न सकिने सोच अधिकांश कम्युनिष्टमा पाइन्न।

जसरी मार्क्सले आध्यात्मिक सोच, समझ र मान्यतामा आधारित भौतिकवाद र द्वन्द्ववादलाई वैज्ञानिक व्याख्या र विश्लेषण गरे। त्यस्तै धर्म, संस्कृति र सांस्कृतिक रूपान्तरण जस्ता विषयमा रहेको रुढीवादी सारतत्व हटाएर सार्थक र जीवनोपयोगी धर्म र सांस्कृतिक सारको सुरक्षा र संवर्धन गर्न सकिने सोच अधिकांश कम्युनिष्टमा पाइन्न।

कम्युनिष्ट पार्टीका नाम जपेर हिँड्ने अधिकांश नेता बिरालो बाँध्ने संस्कारबाट बाँधिएका छन्। त्यसैगरी कतिपय नेताहरू दशैँ, तिहार लगायत चाडपर्वका सही सत्यतथ्य थाहा नपाएर अतिवाद र अन्धवादको सिकार भएका छन्। कोही बहिष्कार र कोही चाहिँ रुढीग्रस्त परम्परा हुबहु स्वीकार र समर्थन गरेको देख्नु पर्छ।

आफू नजान्ने र भनेको पनि नमान्ने सामन्तवादी अहंवादी संस्कारग्रस्त नेताहरू जबजलाई चुनावदेखि चुनावसम्म मात्र सीमित पार्न उद्यत छन्। अध्यक्ष ओलीलाई पनि यो लेखकले यस्तै नेतृत्वको भर पर्ने हो भने एमालेले समाजको गुणात्मक रूपान्तरण कदापि गर्न सक्तैन भनेको छ। सांस्कृतिक रूपान्तरण जस्तो अत्यन्त संवेदनशील विषय नेतृत्वबाट नै ओझेल पारिएकामा नेता मणि थापा र खगेन्द्र राईले एक कार्यक्रममा उल्लेख गरेका थिए।    

धर्म, संस्कार र सांस्कृतिक त्थानको आधार

प्रकृतिसित संघर्ष गर्दा वा श्रम कर्ममा माटो भएर लाग्दा आदि मानवले शारीरिक  र मानसिक पुनर्ताजगी प्राप्त गर्ने सोच बनायो। जुन सोच प्रकृतिसंगत पनि छ। प्रकृतिले नै दिन र रातको सिर्जना गर्नुको मतलब श्रममय दिन र आराममय रातको अवस्थाका लागि हो। आदि मानवले यसका लागि मिठो, मसिनो र तागतिलो खाने कुरा खाएर शारीरिक पुनर्ताजगी प्राप्त गर्ने र नाचगान आदि रामरमितो गरेर मानसिक पुनर्ताजगी प्राप्त गर्ने क्रमसितै दशैँतिहार आदि चाडपर्व सुरु र विकसित भएका हुन्।

हुन पनि शारीरिक श्रमशक्ति नै भौतिक (कृषि र उद्योगजन्य उत्पादन) तथा बौद्धिक (दर्शन, कला, साहित्य, संगीत र ज्ञानका सबै विधा र संस्कृति) उत्थान र विकासको मूल आधार हो। दशैँ जस्ता चाडपर्व कृषि लगायत श्रम कर्मका कारण गलेर माटोको मानव समूहले शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्न सुरु गरेका पर्वहरू मार्कण्डेय पुराण अनुसार देवदल र दानव दल अर्थात् देवराजा इन्द्र र महिषासुर नेतृत्वको दानव दलका बीचको संघर्षसित जोडियो।

देवदलले दुर्गादेवीको नेतृत्वमा मातृशक्तिलाई अघि सारेर महिषासुर वध गरेको वा विजय प्राप्त गरेको प्रसंग जोडियो। अनि रामले दश दिन भगवतीको पूजा गरी शस्त्र पूजा समेत गरेर उच्च मनोबल प्राप्त गरी रावण वधको तयारी गरेर विजय हासिल गरेको प्रसंगसित दशैँ जोडियो।

हुँदाहुँदा वैदिक सनातन वा हिन्दु धर्म र संस्कृति र चाडपर्वमा सामन्तवादी अपसंस्कृति सुविचारित रूपमा घुसाइयो। चाडपर्वको मौलिकता समाप्त पारियो। यसरी तिनलाई जाति विशेष, धर्म र संस्कृतिकरण गरियो। अनि तिनमा ज्ञान, गुण र विशेषता रहित राजा महाराजालाई देवत्वकरण गरियो। यति सामान्य कुरा पनि नबुझेर चाडपर्वप्रति समयानुकूल परिमार्जन गर्न पटक्कै ध्यान नदिनेलाई के नेता भन्ने? ती त कथित कम्युनिस्ट मात्र हुन्।  

हुँदाहुँदा वैदिक सनातन वा हिन्दु धर्म र संस्कृति र चाडपर्वमा सामन्तवादी अपसंस्कृति सुविचारित रूपमा घुसाइयो। चाडपर्वको मौलिकता समाप्त पारियो। यसरी तिनलाई जाति विशेष, धर्म र संस्कृतिकरण गरियो। अनि तिनमा ज्ञान, गुण र विशेषता रहित राजा महाराजालाई देवत्वकरण गरियो। यति सामान्य कुरा पनि नबुझेर चाडपर्वप्रति समयानुकूल परिमार्जन गर्न पटक्कै ध्यान नदिनेलाई के नेता भन्ने? ती त कथित कम्युनिस्ट मात्र हुन्।  

आवश्यकता नै आविष्कारको जननी हो भनेझैँ आदि मानवले संस्कार र संस्कृतिको आरम्भ गरेको देखिन्छ। तिनै मानवले दैनिक जीवनमा आइपर्ने वस्तु ढिकी, जाँतो, नाङ्लो,  चाल्नो,  पानीघट्ट, नाउ, हलो, कुटो र कोदालो आदिको परिकल्पना,  प्रयोग र परीक्षण गर्‍यो। र, त्यसलाई अन्तिम स्वरूप दिएर श्रम कर्ममा तिनलाई उपयोग गरे।

तिनै प्राचीन भाँडावर्तन, औजार र प्रविधि अहिले परिवर्तित अनेक आधुनिक वा अत्याधुनिक औजार र प्रविधिका रूपमा देखा परेका हुन्। यसरी नै कृषि लगायत श्रमकर्मकै सिलसिलामा वा गोठाला, खेताला, जाँदा मानवले प्राप्त गरेका अनेक अनुभूति,  भावना र भाव तरङ्गलाई गीत, कविता आदिका रूपमा स्वतःस्फूर्त मौखिक अभिव्यक्ति आदि मानवले गर्‍यो।

यसरी सिर्जना गरेका रचनालाई लोक वा अलिखित साहित्य भनियो। पछि यिनलाई लिपि, अक्षरमा अनुवाद गरेपछि लिखित साहित्य सिर्जना हुनथाल्यो। श्रुति परम्परामा जीवित रहेको तत्कालीन मन्त्र र श्लोकको सँगालोलाई वेद भनियो। वेदका श्लोकहरूलाई उतिबेला ऋचा भनिन्थ्यो। ती ऋचाहरूलाई ऋषि तथा तपस्विनीहरूले संकलन गरेको भनिन्छ। यसरी नै नेपालका सबै जाति समुदायका ऐतिहासिक, धार्मिक र पौराणिक ग्रन्थको रचना भएको देखिन्छ। 

मार्क्सवादले यही तत्थ्य र सत्यलाई आधार मानेर संस्कृति र संस्कृतिअन्तर्गतका सबै विषयमा तथ्यपरक अध्ययन र विश्लेषणमा जोड दिन्छ। दशैँ आदि चाडपर्वलाई सत्यतथ्यका आधारमा ऐतिहासिक भौतिकवादी दृष्टिकोणले हेर्छ, पर्गेल्छ। ​मार्क्सवादले दशैँ जस्ता पर्वमा अन्तर्निहित जनविरोधी सारलाई कलात्मक हस्तक्षेप गर्दै रूपान्तरित गर्ने दृष्टि र दिशा प्रदान गर्छ।​

धर्म नै नबुझ्ने नेतृत्व

धर्मको वास्तविक अर्थ र आशय धारणा, गुण, विशेषता र दायित्वबोध हो। अर्को शब्दमा धर्मको अर्थ सेवा, सहयोग,  उपकार र उद्धार हो। धर्म शब्दले उपर्युक्त धारणा वा मान्यतालाई सर्वोपरी स्थान र मान दिएको देखिन्छ।

आदि मानवले प्रकृतिको सेवा, सहयोग, उपकार केन्द्रित धर्म, गुण र विशेषताबाट ज्ञान आर्जन गर्‍यो। प्रकृतिको त्यो सार्वजनीन, सार्वकालीन तथा शाश्वत धर्मलाई   मानवले जीवनमा उपयोग गर्न थालेपछि समाजमा धर्मको औपचारिक प्रवेश भएको स्पष्ट अनुमान हुन्छ।

फलफूल,अन्नजल वा यस्तै तमाम प्रकृति मानव सेवाका लागि समर्पित भएको देखिन्छ। कलकलाउँदो निर्मल पानी बग्ने खोला र नदीहरू,  लटरम्म,  रसिला र मीठा फलफूल फुलाउने र फलाउने वनस्पति तथा वृक्षहरू,  आफू खाँदैनन् तर मानव सेवामा हर्दम सरिक हुन्छन्। 

तिनीहरू प्राकृतिक तथा दैवी सकसपूर्ण अनेक कष्ट र कहर खेपेर मानवकै सेवा, सुख र समृद्धिका लागि तैनाथ हुन्छन्। यही कुरालाई गम्भीर रूपमा मनन गरेर महकवि देवकोटाले फुल्दो गुलाबबीच अनेक ज्ञान खुल्छन् उद्यानमा बस गई सब तत्त्व खुल्छन् भन्नु भएको हो।

प्रकृतिका उपर्युक्त उच्च उदात्त गुण र विशेषता नै धर्मको प्राकृतिक नैसर्गिक पक्ष हो र यसलाई मानव समाजले धर्मका रूपमा प्रारम्भ गरेको हो। उपर्युक्त उदात्त सेवाभाव केन्द्रित चिन्तन र चरित्रलाई मानव पुर्खाले मानव सभ्यताको समुन्नति र समृद्धिका खातिर उपयोग गरेको देखिन्छ।

व्यासले अठार पुराणको सारलाई परोपकार, सेवा सहयोगलाई पुण्य वा धर्म हो भने भने परपीडन, अरूको कुभलो र अहित गर्नु नै पाप वा अधर्म हो भनेका छन्।  पानीको धर्म भिजाउनु, तिर्खा मेटनु, सिँचाइ गर्नु र आगोको धर्म डढाउनु र पोल्नु हो।

त्यसैले मानिसजस्तो बुद्धि, विवेक र उच्च चेतना भएको जीवले सामान्य प्रकृति पदार्थभन्दा पनि उच्च स्तरको सेवा र सहयोग गर्ने हैसियत राख्नुपर्छ। यही भावनाका कारण मानिसले धर्मसम्बन्धी धारणालाई विस्तारित गरेको हो। धार्मिक पौराणिक ग्रन्थहरूमा धर्मका धेरै लक्षण बताइएको पनि छ।

धर्म भनेको केवल रुढीग्रस्त, अन्धविश्वास र ढोँग मात्र होइन। ऋग्वेदमा धर्म बोध गराउने ऋत शब्द ६३ ठाउँमा प्रयोग गरिएको प्रा.डा. विद्यानाथ कोइरालाले बताएका छन्। उनले लेखेको धर्म, धम्म र धर्म निरपेक्ष (अन्नपूर्ण दैनिक पत्रिका ०७८ भाद्र २९) शीर्षकको लेखका अनुसार ऋतको अर्थ सत्य, नियमबद्धता, स्वाभाविक गुण हो, धर्मको उपनिषदीय अर्थ मेलमिलाप हो।

पाली भाषामा प्रकृतिको नियम, दिमागको शुद्धता र आफूले आफैँलाई पढ्न सक्नु धम्म भनिएको छ। डा. कोइरालाका अनुसार विद्या आध्यात्मिक ज्ञान हो। योग र ध्यानबाट हुने ज्ञान नै धम्म हो। आफैँ बुद्ध बन्न सकिन्छ भन्ने ज्ञान पनि धम्म हो। धर्मसम्बन्धी सूक्ष्म अध्ययनका आधारमा कोइरालाले ब्रह्माण्डको नियम बुझ्ने अर्थमा वैदिक चिन्तकले धर्मको उपयोग गरेको बताएका छन्।

मनुस्मृतिमा धर्मका धैर्य, क्षमा गर्नु, मनलाई वशमा राख्नु वा दमन गर्नु, अरूको हकमा हस्तक्षेप नगर्नु अस्तेय वा नचोर्नु,सत्यको पक्ष लिनु आदि अनेक अर्थ बताइएको छ। यसरी धर्मसम्बन्धी जीवनोपयोगी र उदात्त जीवन शैली कायम गर्ने अनेक व्याख्या गरिएको देखिन्छ। अपव्याख्याबाट प्रभावित भएर कतिपय मार्क्सवादी दिग्भ्रमित भएको पाइन्छ।

धर्मसम्बन्धी यथार्थ सत्य राम्ररी नबुझेर भ्रममा पर्नु जस्तो नजाती काम केही होइन। त्यसैले अब धर्मको प्रारम्भिक वस्तुपरक र सही व्याख्यालाई आम जनसमुदायमा प्रवाहित गर्नु अपरिहार्य देखिन्छ।​

धार्मिक सांस्कृतिक सुधार अभियान

जबजले सूक्ष्म रूपमा सांस्कृतिक क्षेत्रमा गर्ने भनिएको सुधार अभियान र आन्दोलन गर्ने दूरदृष्टि निर्देश गरेको छ। यसमा पहिले वैचारिक अध्ययन चिन्तन गर्ने र त्यसका आधारमा बौद्धिक बहस र छलफल गर्नुपर्छ। यसलाई समाजमा प्रवाह गर्नुपर्छ।

परम्परागत धर्म र संस्कृतिलाई समग्रमा अध्ययन विश्लेषण गरी तिनमा अन्तर्निहित सत्य तथ्य समाजका अगाडि उजागर गरिदिनुपर्छ। यसका लागि मरणोपरान्त किरिया बारेर बसेका वेला १३ वा ७ दिनमध्ये कुनै एक दिन दिवङ्गत मान्यजन वा प्रियजनको स्मृतिमा श्रद्धाञ्जलि आयोजना गर्नसकिन्छ।

यस अवसरमा मृत्यु संस्कारको वैदिक सनातनी वा हिन्दु सहित अन्य धर्मावलम्बीका परम्पराको सारसंक्षेप नालिबेली लगाउनु उपयुक्त हुन्छ। यसो गर्दा आफ्ना सांस्कृतिक पूर्व परम्पराका कतिपय सकारात्मक पक्षको समाजलाई जानकारी हुन्छ। यसबाट आफ्नो संस्कृति र संस्कारको विकास क्रम र महत्त्वका विषयमा समाज जानकार हुन्छ र यसको महत्त्वको पनि बोध हुन्छ।

परम्परागत धर्मसंस्कृतिको इतिहासमा भएका समय सापेक्ष परिवर्तनलाई पनि बुझ्न मद्दत पुग्छ। यसले गर्दा समाजले संस्कारका क्षेत्रमा समयानुकूल परिवर्तनलाई औचित्ययुक्त ठहर गर्नेछ र रूपान्तरण गर्न सहज हुने देखिन्छ। कुनै पनि विषय र क्षेत्रका बारेमा जनतालाई राम्ररी सम्झाएर र बुझाएर जनताकै साथ, सहयोग दृढ समर्थन तथा अगुवाइमा रूपान्तरण गर्ने प्रक्रिया सहज बनाउनु नै कलात्मक हस्तक्षेप हो।  

परम्परागत धर्मसंस्कृतिको इतिहासमा भएका समय सापेक्ष परिवर्तनलाई पनि बुझ्न मद्दत पुग्छ। यसले गर्दा समाजले संस्कारका क्षेत्रमा समयानुकूल परिवर्तनलाई औचित्ययुक्त ठहर गर्नेछ र रूपान्तरण गर्न सहज हुने देखिन्छ। कुनै पनि विषय र क्षेत्रका बारेमा जनतालाई राम्ररी सम्झाएर र बुझाएर जनताकै साथ, सहयोग दृढ समर्थन तथा अगुवाइमा रूपान्तरण गर्ने प्रक्रिया सहज बनाउनु नै कलात्मक हस्तक्षेप हो।  

वैदिक सनातन वा हिन्दु सम्प्रदायमा किरियाकर्म विधि समय क्रममा परिवर्तित भएका हुन्। सुरुमा १३ वर्ष,  १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिने क्रियाकर्मको विधान समाजले बनाएको बुझिन्छ। ४५ दिने क्रियाकर्मलाई १३ दिनको बनाउन श्री ३ जुद्धसमशेर राणाको भूमिका रहेको छ। अहिलेको मानिस स्वदेश वा विदेशमा दैनिक ज्यालादारीका रूपमा सक्रिय रहेको छ। त्यस मानिसलाई कुनै पनि रोजगारदाताले बढीमा तीनभन्दा बढी किरियाकर्म बिदा दिँदैन।

खाए खा नखाए घिच् गर्ने हो भने वैदिक सनातन लगायत धर्म र संस्कार कसैले पनि मान्दैन। यस अवस्थामा धर्मान्तरण गराउनेहरू बढी सक्रिय हुनेछन् र सनातन धर्म र संस्कृतिका सकारात्मक पक्ष क्रमशः लोप हुने खतरा टड्कारो देखिन्छ।​​

वैदिक सनातन धर्म र संस्कृतिको उदात्तता

 वैदिक सनातन धर्म ससाना मुलुकमा उपनिवेश कायम गर्ने र साम्राज्य विस्तार गर्ने र चरम शोषण दोहन गर्ने नियतबाट सञ्चालित होइन र छैन पनि। ​बहुजन हिताय,सुखाय,परोपकार र सेवा नै धर्म वा पुण्य कार्य हो,आकाश‚ पृथ्वी,जल वा समग्र जीवन जगतको शान्तिको कामना, मातृ देवो भव,  पितृ देवो भव‚ अतिथि देवो भव अर्थात् आमा र बुबालाई देवता सरह सम्मान र आदर गर भन्ने अनेकौँ जीवनोपयोगी पक्ष यसमा पाइन्छन्।

यसैगरी बौद्ध,जैन,सिख,बोन,मुस्लिम आदि धर्म र संस्कृतिमा भएका सकारात्मक पक्षको जगेर्ना गर्नुपर्छ। जीवनोपयोगी सकारात्मक पक्षको जगेर्ना गर्नाले नै संस्कृति समृद्ध हुन्छ। त्यसैले यस क्षेत्रमा सुधार, परिष्कार र परिमार्जन गर्ने कुरामा सचेतन प्रयत्न जरुरी देखिएको हो। तर यसका लागि कुनै पनि संस्कारको सही विकल्प पनि दिनुपर्छ। विरोध मात्रै गर्ने होइन, त्यसको उचित विकल्प सुझाउनु पर्छ।

यसो गर्दा यो क्षेत्र नयाँ विकल्प सहित गतिवान् हुनेछ र बलपूर्वक खुम्च्याइएको  वैदिक सनातन संस्कृति विकल्पयुक्त उदार हुनेछ। जनताले रोजीरोजी संस्कार विधि र पद्धति अपनाउने छन् र यसले धेरैलाई समेट्न सक्ने देखिन्छ। त्यसैले नयाँ संस्कार विधि के हो र कस्तो हुन्छ र कसरी सम्पन्न गर्नुपर्छ भन्ने प्रश्न स्वतः जनता सामु उपस्थित हुन्छ।

परम्परागत संस्कार र संस्कृति तथा चाडपर्वमा अन्तर्निहित नकारलाई कलात्मक हस्तक्षेप गर्दै संस्कृति जस्तो समाजको गुणात्मक रूपान्तरणकारी सर्वोपरि महत्वको विषयमा शून्यचेत नेताका लागि लज्जाजनक कुरा हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.