|

भक्तपुर : मल्लकालीन मध्यपुर थिमिको लायकु (दरवार) हालको आदर्श माध्यमिक विद्यालयको प्रांगणमा शनिवार दिउँसो स्थानीयको भीडभाड थियो।

लायकुको मूलढोका जहाँ तलेजु भवानी रहेको छ, त्यहाँबाट सेतो जामाको पहिरन, टाउकोमा फेटा बाँधेर कोही दुई हात लामो तरवार, कोही खुँडा बोकेर बाहिर निस्कँदै थिए भने कोही फलाम सिक्रीसहितको टोपी लगाई एक हातमा ढाल र अर्को हातमा खड्ग बोकेर युद्धको मैदानमा जान हिँडेका मल्लकालीन सिपाही जस्तै देखिन्थे।

मध्यपुर थिमिको यो दृश्यले केही छिनका लागि मल्लकालीन समयको झल्को दिएको थियो। बडादशैँको ११ औँ दिन पापांकुशा एकादशीको अवसरमा मध्यपुर थिमिको लायुकबाट मल्लकालीन युद्ध झल्काउने ‘खाँ पिहाँवइगु’ जात्रा निस्कने गर्दछ, सोही जात्राको दृश्यले मल्लकालीन युद्धको झझल्को दिएको हो।

जात्राका क्रममा सिपाहीले बाजाको तालमा आक्रमण भन्दै युद्धकला प्रस्तुत गर्दै नगरपरिक्रमा गरेका थिए। लायकुबाट निस्केको जात्रा नगरको निगुःपुखु हुँदै दिगु भैलःद्यो मन्दिर घुमेर पुनः निगुःपुखु हुँदै बालकुमारी मन्दिर पुगेको थियो। बालकुमारी मन्दिर परिसरमा पुगेर भुईफसी (कुभिण्डो)लाई मार हानेपछि जात्रा सकिएको थियो। 

नायोपमा (तलेजुका मूलपुजारी)ले भुईफसीलाई मार हानेपछि हातमा खुँडा, तरवार, खड्गसहितका सिपाहीले भुईफसीलाई मार हानेर टुक्राटुक्रा पारेका थिए। यो जात्राको प्रमुख आकर्षणमध्ये सिपाहीले प्रस्तुत गर्ने मल्लकालीन युद्धकला हो भने अर्को आकर्षण भुईफसी मार हान्ने दृश्य हो। भुईफसी मार हानेको दृश्य हेर्न बालकुमारी मन्दिर परिसरमा स्थानीयको भीड लागेको थियो।

भुईफसीको टुक्रा खाएमा रोगव्याधि नलाग्ने जनविश्वास छ। त्यसैले भुईफसीको टुक्रा लिनेको तँछाडमछाड हुने गर्दछ। जात्रामा राँगोको टाउकोलाई समेत नगरपरिक्रमा गराइएको थियो।

मल्लकालीन समयमा जहाँ दरवार रहन्छ, त्यहाँ तलेजु भवानीको मन्दिर रहेको हुन्छ । राँगोलाई महिषासुर राक्षसको प्रतीकको रूपमा महानवमीको दिन तलेजुलाई बलि दिइन्छ। सो राँगोलाई स्थानीय भाषामा खःमेय भनिन्छ। सोही खःमेयको टाउको पनि खाँ पिहाँवइगु जात्राका क्रममा नगर परिक्रमा गराइने प्रचलन छ।

मध्यपुर थिमिको खाँ पिहाँवइगु जात्रा तीन शताब्दी पुरानो भएको विश्वास गरिन्छ। तत्कालीन समयमा युद्ध जितेर आएका सिपाहीको सम्मानमा यो जात्रा सुरु भएको विश्वास रहेको छ। सोही कारण यसलाई युद्धमा विजयोत्सवका रूपमा मनाउने चलन रहेको मध्यपुर थिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

नगरप्रमुख श्रेष्ठले खाँ पिहाँवइगु जात्रालाई नगरको पर्यटनसँग जोडेर लैजाने बताए। ‘नगरपालिकाले गन्तव्य मध्यपुर अभियान चलाइरहेको छ। यो जात्रालाई पनि प्रवर्धन गर्न नगरपालिकाले सहयोग गर्नेछ’, उनले भने।

पछिल्लो समय जात्रा सञ्चालनमा आर्थिक अभाव भएको र सोही कारण युवाको आकर्षण घट्न थालेपछि नगरपालिकाले आर्थिक सहयोग गर्न थालेको नगरप्रमुख श्रेष्ठले बताए। नगरपालिकाले आर्थिक सहयोग प्रदान गर्न थालेसँगै जात्रामा युवा सहभागिता बढ्दो छ र जात्राको रौनक पनि बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.