|

काठमाडौं : करिब दुई वर्षदेखि नेपालसहित विश्वका विभिन्न मुलुकले कोरोना भाइरस (कोभिड १९) महामारी खेपिरहेका छन्। नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै करिब दुई वर्षदेखि मास्क अनिवार्य गरेको छ। 

आजभोलि मास्क नलगाई सडकमा यात्रा गर्ने मानिस विरलै देखिन्छ। सार्वजनिक सवारी चढ्नेदेखि सडकमा हिँड्नेका लागि मास्क अनिवार्य गरेको छ। 

मास्क अनिवार्य गरिएको मुलुकको बजारमा पाइने मास्कको अवस्था कस्तो छ? नेपालीले कोरोनाबाट बच्नका लागि अर्थात् कोरोनाबाट बच्न प्रयोग गर्दै आएको मास्कले कोरोनाबाट बचाउँछ? भन्ने मुख्य प्रश्न देखापरेको छ। मास्कको प्रयोग अनिवार्य गर्ने सरकार नेपालमा कसरी, कहाँबाट र कस्तो मास्क उत्पादन भएको छ भन्ने विषयमा अनभिज्ञ जस्तै देखिएको छ। 

नेपालमा कोरोनाले महामारीको रूप लिएपछि यसबाट बच्न मास्कको प्रयोग अनिवार्य गरियो। त्यही महामारीको मौका छोपेर व्यापारीहरूले स्वास्थ्य मापदण्ड पालना नगरी आफूखुशी मास्क बजारमा ल्याएको उपभोक्ता हित संरक्षण नेपालका उपमहासचिव विष्णुप्रसाद तिमल्सिनाले बताए।

हालसम्म नेपाली बजारमा भेटिने मास्क गुणस्तर युक्त नभएको तिमल्सिनाको भनाइ छ। सर्वसाधारणले महामारीको सुरुवाती चरणमा एउटा मास्कलाई १०० रुपयाँसम्म तिरेका थिए। हाल १० रुपैयाँमा पाइन्छ तर त्यसको गुणस्तर नभएको उपमहासचिव तिमल्सिनाले बताए। 

सर्जिकल मास्क भनेर बजारमा आएका मास्क गुणस्तरीय नभएको तिमल्सिनाले बताए। मास्कलाई औषधिजन्य सामग्रीको रूपमा लिइन्छ। तिमल्सिनाले भने, ‘यसको गुणस्तर औषधि व्यवस्था विभाग र गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्थ्यो। त्यसतर्फ ध्यान जान सकेको छैन।’ सरकारी बेवास्ताका कारण सर्वसाधारण ठगिँदै आएको उनले बताए। 

छैन गुणस्तर परीक्षण 

यतिवेला बजारमा विभिन्न प्रकारका मास्क देख्न सकिन्छ। त्यसको मापदण्ड र गुणस्तर भने परीक्षण हुन सकेको छैन। औषधीय काम गर्ने मास्कको परीक्षण औषधि व्यवस्था विभागले गर्नुपर्ने भए पनि हालसम्म हुन सकेको छैन। 

यता औषधि व्यवस्था विभागले नेपालमा उत्पादन भएका मास्कको गुणस्तर आफूहरुले नहेर्ने औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए। नेपाली बजारमा कस्ता  र कति उत्पादन भएका छन् भन्ने आफूलाई जानकारी नभएको महानिर्देशक ढकालले बताए। उनले भने, ‘सरकारले मास्कको गुणस्तर परीक्षण गर्नुपर्ने हो तर हालसम्म हुन सकेको छैन।’ उनले थपे, ‘औषधिजन्य सामग्री भए पनि हामीले यसको जिम्मेवारी पाएका छैनौँ।’ 

नेपालमा यतिवेला धेरै मात्रामा मास्क उत्पादन गर्दै आएका छन्। मास्क उत्पादन गर्ने कतिवटा कम्पनी छन् भन्ने तथ्याङ्क छैन। हालसम्म जगदम्बा उद्योगले मात्र उद्योग दर्ता गरेर मस्को उत्पादन गरेको  नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक विश्व बाबु पुडासैनीले जानकारी दिए।

उनले भने, ‘धेरै वटा कम्पनीले मास्क उत्पादन गरेका छन् तर इजाजत लिएर सञ्चालन गर्ने एउटा मात्र कम्पनी छ।’ नियमन गर्ने जिम्मेवारी आफूहरूलाई नभई सहयोगीको भूमिकामात्र रहेको पुडासैनीले बताए। 

दुई वर्षमा ३९ करोड मास्क आयात

कोरोना महामारी सुरु भएदेखि हालसम्म ३९ करोड ३२ लाख थान मास्क नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ असोजमा ३५ करोड ९८ लाख थान र २०७८/७९ मा ३ करोड ३४ लाख थान मास्क नेपाल भित्रिएको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए।

खड्काका अनुसार दुई आर्थिक वर्षमा २७ करोड रुपैयाँ बराबरको मास्क आयत भएको छ। 

कोरानाबाट बच्न कस्तो मास्क लगाउने?

एन ९५ मास्क

अहिले भाइरसको यो महामारीमा कसलाई कोरोना लागेको छ भन्ने यकिन हुँदैन। त्यस्तो अवस्थामा बिरामीले खोक्ने हाछ्युँ गर्ने गर्दा त्यसको छिटाले आफूलाई संक्रमण नहोस् भन्नका लागि एन ९५ मास्क प्रयोग गरिन्छ।

बाहिरबाट फेससिल्ड लगाएर त्यसरी मात्रै हामी जोगिन सकिन्छ। एन ९५ अर्थात् यसले भाइरसलाई ९५ प्रतिशतसम्म रोक्ने गर्छ भन्ने मान्यता राखिन्छ। यसको अर्थ एन ९५ मास्क लगाउने बित्तिकै ९५ प्रतिशत रोकिन्छ भन्ने चाहिँ हुँदैन।

यसमा मास्क लगाउने स्टाइल आदिको आधारमा हुन्छ। मास्क लगाउँदा दायाँ बायाँबाट हावा नछिर्ने र नियमित मास्कमा हात लगिरहने गर्नु हुँदैन। मास्कले भाइरस ९५ प्रतिशतसम्म रोक्ने, ब्याक्टेरिया १०० प्रतिशतसम्म, फोहोर १०० प्रतिशतसम्म र पोलिनलाई पनि १०० प्रतिशतसम्म न्यूनीकरण गर्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन्। 

सर्जिकल मास्क

मेडिकल साइन्ससम्बन्धी जानकारहरू सर्जिकल मास्कले भाइरस ९५ प्रतिशत रोक्छ भने ब्याक्टेरिया, धुलो र पोलिन समान ८० प्रतिशत रोक्छ भन्ने मान्यता राखिन्छ। यो सामान्यतया सबैले प्रयोग गर्न सक्छन्। यो दुवैजनाले प्रयोग गरेर सामाजिक दूरी कायम गर्न सके यो प्रभावकारी हुने मान्यता राखिन्छ। 

कपडाको मास्क

कपडाको मास्क आफैँमा भाइरस रोक्नका लागि प्रभावकारी हुँदैन। कपडाको मास्कले भाइरस एक प्रतिशत पनि रोकिँदैन। तर ब्याक्टेरिया, धुलो र पोलिनको नियन्त्रणमा भने यो ५० प्रतिशतसम्म प्रभावकारी मानिन्छ। कपडाको मास्क भित्र एउटा सर्जिकल मास्क लगाउने हो भने यो प्रभावकारी हुने मान्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.