|

धरान : धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशु हाटबाट यो वर्षको दशैँमा सात करोड बराबरको खसीबोका कारोबार भएको छ।

कोरोना महामारीका कारण धरानको पशु हाट गत असोज महिनामा मात्र खुलेको थियो। असोज भरी सात हजार र दशैँमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ।

समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दशैँ अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो। दशैँको मुखमा पाँच करोडको कारोबार भएको छ।

धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए। उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ।

धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ। किसानले बिहीबार नै खसीबोका ल्याउँछन्। शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ।

‘पछिल्लो समय कृषि फार्ममा बाख्रा पाल्नेको सङ्ख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो। किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्’, व्यवस्थापक भट्टराईले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.