|
भियतनाम युद्धका बेला कोलिन पावेल (बायाँ)। तस्वीर सौजन्य : बिबिसी

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको आज (सोमबार) कारण निधन भएको उनको परिवारले जनाएको छ।

उनी ८४ वर्षका थिए। उनले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले दिएको छ। परिवारले उनको निधन कोरोनासम्बन्धी जटिलताका कारण भएको उल्लेख गरेको छ।

रिपब्लिकन दलसँग आबद्ध पावेल विदेशमन्त्री हुनुअघि अमेरिकाको सेनापतिसमेत रहेका थिए। उनी अमेरिकाको सेनापति र विदेशमन्त्री हुने पहिलो अश्वेत व्यक्ति हुन्।

उनी सन् २००० मा राष्ट्रपति जर्ज  वासिङटन बुसका पालामा अमेरिकाको विदेशमन्त्री नियुक्त भएका थिए।

राजनीतिक जीवन

उनी अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका थिए।  निकै लोकप्रिय उनी सन् १९९६ र सन् २००० मा रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्ने अपेक्षा गरिएको थियो।

तर उनले आफू चुनावी राजनीतिमा खट्न नसक्ने र झूटो बोल्न तथा स्वाङ पार्न नसक्ने भन्दै पन्छिएका थिए।

रिपब्लिकन भए पनि पावेलले सन् २००८ को राष्ट्रपति चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीका अफ्रिकाली मूलका उम्मेदवार बाराक ओबामाको समर्थन गरेका थिए। 

यसैगरी उनी सन् २०१६ को राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक उम्मेदवार हिलारी रोधम क्लिन्टनको पक्षमा उभिएका थिए। उनले आफ्नै दल रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको घनघोर विरोध गरेका थिए।

पावेलको सैन्य जीवन 

उनको सैनिक जीवन भियतनाम युद्धबाट शुरु भएको थियो। खाडी (इराक) युद्धमा जीतपछि उनी अमेरिकामा लोकप्रिय भएका थिए।

इराकले जैविक हतियार थुपारेको भन्ने एउटा गलत गुप्तचरी सूचनाका आधारमा इराकमाथि आक्रमणको निर्णय गरेकाले उनको व्यक्तित्त्वमा धब्बा लागेको थियो।

सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कमा भएको आतंकवादी आक्रमणपछि अमेरिकाले थालेको 'आतंकवादविरुद्धको युद्ध' मा पावेलकै नेतृत्वमा तत्कालीन बुस सरकारले अन्तर्राष्ट्रिय समर्थन जुटाएको थियो।

नेपालसँग पावेलको सम्बन्ध

नेपालको भ्रमण गर्ने उनी एक मात्र अमेरिकी विदेशमन्त्री हुन्। उनी नेपाल भ्रमणमा आउँदा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो।

उनी सन् २००२ को जनवरी १८ मा नेपाल आएका थिए। त्यसबेला उनले तत्कालीन राजा ज्ञानेन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ अधिकारीहरूसँग भेटघाट गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.