|

सन् १९९१ को फिल्म 'क्रिटर्स ३' बाट हलिउड प्रवेश गरेका लियोनार्दो डिकाप्रियो विश्वका उत्कृष्ट अभिनेता मध्येमा पर्छन्। 

सन् १९९७ को 'टाइटनिक'बाट विश्वभर चर्चा कमाएका लियोले सन् २०१५ मा प्रदर्शनमा आएको द 'रेभनेन्ट'बाट उत्कृष्ट अभिनेताको रुपमा पहिलो ओस्कर अवार्ड पाएका थिए।  उनी विश्वका महँगा अभिनेता मध्येमा गनिन्छन्।  यहाँ लियोका राम्रा फिल्ममध्येका हेर्नुपर्ने १० फिल्मबारे उल्लेख गरिएकाे छ।

१. ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप (१९९३)

सन् १९९१ मा पिटर हेज्सद्वारा लिखित उपन्यास ह्वाट्स इटिङ गिल्बर्ट ग्रेपमा आधारित फिल्म लियोनार्दोको करिअरको तेस्रो फिल्म हो। यसै फिल्मबाट उनी ओस्कर र गोल्डेन ग्लोबजस्ता प्रतिष्ठित अवार्डको मनोनयनमा परेका थिए।

फिल्ममा बाबुको आत्महत्यापछि परिवारको जिम्मेवारी लिनुपरेको एक पात्रको कथा छ। लियो सहायक पात्रको भूमिकामा देखिएका छन् जो मानसिक रूपमा अस्वस्थ हुन्छ। लेसी हलस्ट्रोमको निर्देशनमा बनेको उक्त फिल्ममा गरेको अभिनयको हलिउडमा लियोको खुब तारिफ भएको थियो।

२. रिभोलुसनरी रोड (२००८)

रिभोलुसनरी रोड लियो र केट विन्स्लेट जोडी रूपमा देखिएको दोस्रो फिल्म हो। यसअघि उनीहरू टाइटनिकमा सँगै देखिएका थिए।

रिचार्ड येट्सको राष्ट्रिय पुरस्कार विजेता उपन्यासमा आधारित यस फिल्मलाई साम मेन्डेसले निर्देशन गरेका हुन्। आफ्ना व्यक्तिगत समस्यासँग जुधिरहेका दुईजना पात्रको प्रेमकथामा फिल्म बनेको छ। फिल्ममा सन् १९५० को दशकको परिवेश रहेको छ।

३. ज्यांगो अनचेन्ड (२०१२)

क्वेन्टिन टारान्टिनोको लेखन तथा निर्देशन रहेको फिल्ममा लियोसँगै जेमी फक्स र क्रिस्टोफ वाल्ट मुख्य भूमिकामा छन्। १९ औं शताब्दीको मध्यतिरको परिवेश रहेको फिल्म क्राइम-थ्रिलर जनरामा बनेको छ। ज्यांगो अनचेन्डलाई टारान्टिनोको उत्कृष्ट फिल्ममध्येमा गनिन्छ। फिल्मले व्यापारिक सफलता पाएको थियो।

४. द एभिएटर (२००४)

जन लोगनको लेखन तथा मार्टिन स्कोर्सिसको निर्देशन रहेको 'द एभिएटर' अमेरिकी फिल्म निर्देशक, कीर्तिमानी पाइलट, इन्जिनियर होवार्ड हग्सको जीवनीमा आधारित छ।

लियोको उत्कृष्ट अभिनय रहेको फिल्ममध्येमा द एभिएटर पनि आउँछ। उनी यसै फिल्मबाट ओस्करलगायत धेरै प्रतिष्ठित अवार्डमा उत्कृष्ट अभिनेताको मनोनयनमा परेका थिए भने गोल्डेन ग्लोब अवार्ड जितेका थिए।

५. द रेभनेन्ट (२०१५)

लियोले उत्कृष्ट अभिनेताको रूपमा ओस्कार अवार्ड पाएको फिल्म हो 'द रेभनेन्ट'। माइकल पंकको उपन्यासमा आधारित फिल्मलाई एलेजान्द्रो इनारिचुले निर्देशन गरेका हुन्।

फिल्ममा सन् १९२० को दशकको परिवेश देखाइएको छ, जहाँ लियोको लडाइँ एउटा भालुसँग हुन्छ। जीवन मरणको दोसाँधमा रहेका पात्रको रूपमा लियो देखिएका छन्। 

६. द डिपार्टेड(२००६)

मार्टिन स्कोर्सिसले उत्कृष्ट निर्देशकको ओस्कर पाएको द डिपार्टेड फिल्ममा लियो अन्डरकभर पुलिसको भूमिकामा देखिएका छन्। क्राइम-थ्रिलर जनरामा बनेको उक्त फिल्ममा लियोसँगै म्याट डेमन र ज्याक निकोल्सनसमेत मुख्य भूमिकामा देखिएका छन्। आफ्नो परिवारको पृष्ठभूमिका कारण समस्यामा परेको इमानदार पुलिस अफिसरको भोगाइ फिल्ममा देखाइएको छ। 

७. इन्सेप्सन (२०१०)

क्रिस्टोफर नोलनको लेखन तथा निर्देशनमा बनेको फिल्म साइन्स फिक्सन-एक्सन जनरामा बनेको छ। स्वप्न यात्रामा आधारित रहेर बनेको फिल्म सधैँ हेर्नुपर्ने फिल्मको सूचीमा आउने गर्छ।

८. द उल्फ अफ वाल स्ट्रिट (२०१३)

मार्टिन स्कोर्सिसको निर्देशनमा बनेको 'द उल्फ अफ वाल' स्ट्रिट जोर्डन बेल्फर्टको पुस्तकमा आधारित फिल्म हो। सन् १९८० को दशकको परिवेशमा बनेको फिल्ममा लियो जोर्डनको भूमिकामा देखिएका छन्। यो मार्टिन र लियोको पाँचौं सहकार्य हो। 

९. वन्स अपन अ टाइम इन हलिउड (२०१९)

कमेडी-ड्रामा जनरामा बनेको यो फिल्म क्वेन्टिन टारान्टिनोको लेखन तथा निर्देशनमा बनेको फिल्म हो। हलिउड अभिनेता र स्टन्ट अभिनेताको कथा रहेको फिल्ममा लियो र ब्राड पिट मुख्य भूमिकामा छन्। फिल्मको कथा सरल रेखामा बगेको भए पनि एक अभिनेताको भूमिकामा देखिएका लियोले गरेको काम भने तारिफयोग्य छ। 

१०. टाइटनिक (१९९७)

जेम्स क्यामरुनको लेखन तथा निर्देशन रहेको फिल्म 'टाइटनिक' विश्वमा सबैभन्दा बढी हेरिएको र सबैभन्दा बढी चर्चा हुने फिल्म मध्येमा पर्छ।

त्यो बेलाको सबैभन्दा ठूलो बजेटमा बनेको फिल्मले कीर्तिमान कमाइ पनि गरेको थियो। ​टाइटनिकको कमाइको कीर्तिमान सन् २००९ मा आएको अवतारले तोडेको थियो। प्रेम कथामा आधारित यो फिल्म ओस्करका १४ विधामा मनोनीत भएको थियो जसमध्ये ११ वटा अवार्ड हात पार्नसमेत सफल भएको थियो। टाइटनिकको त्यो कीर्तिमान अहिलेसम्म कुनै फिल्मले तोड्न सकेको छैन। 

यीबाहेक 'सटर आइल्यान्ड', 'द बास्केटबल डायरिज', 'रोमियो जुलियट', 'द उल्फ अफ द वाल स्ट्रिट' पनि उनका चर्चित फिल्म हुन्।

उनले अहिलेसम्म ३० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। 'डन्ट लुक अप' र 'किलर्स अफ द फ्लावर मुन' लियोका निर्माणको क्रममा रहेका फिल्म हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.