|

काठमाडौं : बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेपछि नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनशन तोडेकी छन्।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएसँगै अनशन स्थगित गर्न सहमत भएको हो। समिति बनाउने सहमतिसँगै उनले अनशन तोडेकी हुन्।

उनलाई मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएका छन्।

खानले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरूको जित भएको बताइन्। माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा रुबीले समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गर्छ भने याे भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइन्। 

महिलाहरू हिंसाविरुद्ध न्यायका लागि बाँकेबाट २० दिन पैदल यात्रा गरी राजधानी आएर आमरण अनशन बसेका थिए। काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनशन थालेकी थिइन्। 

सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनेको छ।  सो छानविन समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवानसमेत छन्।

अनशन ताेड्ने कार्यक्रममा अनुराधा कोइराला, काठमाडौं प्रहरी प्रमुख अशोक सिंह, मोहना अन्सारी लगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.