|
फाइल तस्वीर

हेटौंडा : बागमती प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय विपक्षी गठबन्धनमा पेचिलो बन्दै गएको छ।

एमाले नेतृत्वको वर्तमान सरकार केही दिनमा विस्थापित हुने निश्चित भइसक्दा पनि विपक्षी गठबन्धनले प्रदेश सरकारको नेतृत्व कसले गर्ने नटुंग्याउदा यो विषय पेचिलो बन्दै गएको हो।

केन्द्रमा रहेको पाँचदलीय गठबन्धनले प्रदेशमा पनि निरन्तरता पाएको छ। बागमती प्रदेशमा केन्द्रमा रहेको गठबन्धनको ४ घटक मात्रै छन्।

तीमध्ये दुईवटा दलले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आइरहेका छन्। नेपाली कांग्रेसको संसदीय दलको नेता ईन्द्रबहादुर बानियाँ र नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेता राजेन्द्र पाण्डेको मुख्यमन्त्रीमा दाबी छ।

एमालेबाट प्रदेश सरकारको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको ३८ दिनभन्दा बढी भइसक्दा पनि विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन।

पाण्डेले आफूले मुख्यमन्त्री पाउने सहमति गठबन्धनमा भइसकेको दाबी गर्दै आएका छन् भने बानियाँ हालसम्म सहमति नभएको भन्दै लबिङ गरिरहेका छन्।

विपक्षीले नयाँ सरकार गठनको लागि मुख्यमन्त्री टुंग्याउन नसक्दा एमाले नेतृत्वको सरकारको आयु लम्बिँदै गइरहेको छ।

गठबन्धनले सरकारको नेतृत्व कसले गर्ने भन्ने नटुंग्याए अझै केही दिन एमाले नेतृत्वको सरकारको आयु लम्बिने देखिन्छ भने गठबन्धनबाट लाभ लिने दाउमा पनि एमाले छ।

बागमती प्रदेश र प्रदेश १ को नेतृत्व समाजवादीलाई दिने गठबन्धनका शीर्ष नेताबीच सहमति भइसकेको समाचार विभिन्न समयमा आए पनि नेपाली कांग्रेसले भने हालसम्म कुनै सहमति नभएको र आफ्नो दाबी कायमै रहेको बताउँदै आएको छ।

यसअघि समाजवादीले मात्रै आफूले सरकारको नेतृत्व गर्ने सहमति भएको दाबी गर्दै आइरहेको भएपनि हाल गठबन्धनमा रहेको नेकपा (माओवादी) केन्द्रले पनि बागमती प्रदेशको नेतृत्व समाजवादीले गर्ने सहमति बनेको बताएको छ।

केन्द्रको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले समाजवादीले प्रदेश सरकारको नेतृत्व गर्ने मंगलबार बसेको शीर्ष नेताको छलफलमा सहमति बनेको बताएका छन्।

‘यसअघि सहमति भएको भने पनि आजमात्रै यो विषय टुंगिएको हो। आधिकारिक पत्र अहिलेसम्म आइपुगेको छैन तर बागमती प्रदेशको मुख्यमन्त्री समाजवादीको राजेन्द्र पाण्डे बन्ने सहमति भएको जानकारी आएको छ,’ उनले भने।

उनका अनुसार बुधबार बिहानसम्ममा गठबन्धनमा रहेको सबै दलहरुलाई केन्द्रमा भएको सहमतिको आधिकारिक पत्र आइपुग्नेछ। जम्कट्टेलले भने, ‘लिखित रुपमा केही आएको छैन तर, मौखिक रुपमा भने समाजवादीले मुख्यमन्त्री पाउने सहमति भएको जानकारी आएको छ।’

उनले ४ गते बिहीबार बस्ने प्रदेशसभा बैठकमा नै मुख्यमन्त्रीको विश्वासको मतको विषय टुंग्याएर ढिलोमा कात्तिक ७ गतेसम्म गठबन्धन सरकार बनाइसक्ने दाबी गरे।

‘४ गते बस्ने बैठकमा नै मुख्यमन्त्रीको विश्वासको मत लिने प्रक्रिया छोट्याएर टुंग्याउने हो। उहाँले मत नपाएपछि प्रदेश प्रमुखले सरकार गठनको लागि आह्वान गर्नुहुन्छ। हामी नयाँ सरकार गठन गर्न बहुमत लिएर जान्छौं,’ थाहाखबरसँग कुरा गर्दै जम्कट्टेलले भने।

उनले गठबन्धनबाट मुख्यमन्त्रीको विषय टुंगिएसँगै अन्य समस्या नभएको भन्दै अब एमाले नेतृत्वको सरकारको आयु धेरै नलम्बिने बताए। जम्कट्टेलले मुख्यमन्त्री समाजवादीले पाएपछि अन्य मन्त्रालयको भागवण्डाको विषयमा पनि केन्द्रले गरेको निर्णयअनुसार नै अघि बढ्ने बताए।

माओवादी केन्द्रले एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति भइसकेको बताए पनि नेपाली कांग्रेसले भने हालसम्म कुनै सहमति नभएको दाबी गरेको छ।

नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषय हालसम्म नटुंगिएको भन्दै यो विषय टुंगिन अझै केही दिन लाग्ने बताए। ‘सबैले आ–आफू अनुकुल भएर सहमति भइसक्यो भनेका छन्। तर, अहिलेसम्म यो विषय टुंगिएको छैन। कात्तिक ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै यो विषय टुंगिन्छ,’ उनले भने।

लामाले साढे ३ वर्षसम्म आफूहरु प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बनेर बसेको भन्दै प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै पाउनुपर्ने दाबी गरे। उनले प्रदेश सरकारको नेतृत्वमा कांग्रेसको दाबी यथावत रहेको भन्दै लिखित रुपमा पार्टी र गठबन्धनबाट सहमतिको निर्णय नआएसम्म अन्य हल्लामा नलाग्न समेत आग्रह गरे।

‘अहिले नै हामीलाई मुख्यमन्त्रीको नाम टुंग्याउन र सार्वजनिक गर्न कुनै आवश्यकता छैन। प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेपछि मात्रै हामी यो विषय टुंग्याउछौं,’ उनले भने। 

अल्पमतमा मुख्यमन्त्री शाक्य

एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन्। अल्पमतमा परेको असोज २५ गते नै एक महिना बितिसकेको भएपनि शाक्यले हालसम्म संसदमा विश्वासको मतको प्रस्ताव मात्रै पेस गरेकी छन्।

अब ४ गते बस्ने बैठकमा मतदान हुने सम्भावना छ। बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँगका सहमति र छलफलअनुसार कहिले मतदान गर्ने भन्ने विषय टुंगिने बताए।

उनले भने ‘४ गते बस्ने बैठकबाट विश्वासको मतमा छलफल अघि बढ्छ। मतदान कहिले गर्ने भन्ने विषय छलफलपछि मात्रै थाहा हुन्छ। त्यही दिन टुंगिए त्यही दिन पनि होला, केही दिन सर्न पनि सक्ला।’

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते संसदमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्। एक महिनाभित्रै संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेपनि प्रस्ताव मात्रै पेस गरे हुने एमालेले दाबी गर्दै आएको छ।

अल्पमतमा परेको असोज २५ गते नै ३० भइसके पनि शाक्यको विश्वास मतको लागि संसदमा मतदान भएको छैन। मतदान हुँदा पनि शाक्यले सरकार टिकाउन आवश्यक मत पाउने सम्भावना छैन।

५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यसँग अहिले ४३ जना मात्रै सांसद छन्। प्रदेशसभामा गठबन्धनबाहिर रहेका साना दलसँगको सहकार्यमा पनि उनलाई सरकार टिकाउन आवश्यक मत पुग्दैन।

गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) को २३, नेपाली कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी ) को १३ र जसपाको १ मत छ। यो सरकार गठनका लागि पुग्ने बहुमत हो। 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.