|
सोलुखुम्बूको सदरमुकाम सल्लेरीमा हुन थालेको हिमपात। तस्वीर : भोजराज कार्की

सोलुखुम्बू ः हिमाली जिल्ला सोलुखुम्बूको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्षातसँगै हिमपात भइरहेको स्थानीयले बताएका छन्।

अहिले करिब ४ हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।

खुम्बू क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेलगायत क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महशुस भएको स्थानीय लामाकाजी शेर्पाले बताए। उनका अनुसार कोङदे, थामसेर्कु, आमादब्लमलगायत क्षेत्रमा मंगलबार बिहान करिब १० बजेदेखि नै हिमपात भईरहेकोे छ।

निरन्तरको वर्षा तथा हिमपातका कारण खुम्बूको माथिल्लो क्षेत्र भ्रमणमा निस्केका पर्यटकहरु सोमबार बास बसेकै ठाउँमा रोकिएको शेर्पाले बताए।

अहिले खुम्बू क्षेत्रका स्थानीयको जनजीवन प्रभावित बनेको छ। उनीहरुले हातमुखसमेत धुन नसकिरहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए। जिल्लाको तल्लो क्षेत्रमासमेत मंगलबार बिहानैदेखि भीषण वर्षा भइरहेको छ। यसले यहाँका बासिन्दाको जनजीवन प्रभावित बनेको छ।

दशैँको बेला टन्टलापुर घाम लागेको भएपनि टीका सकिएको दुई दिनमै भीषण वर्षा हुँदा सडक हिलाम्मे छ भने बजार क्षेत्र सुनसान छ। साप्ताहिक हाट नेले बजारसमेत सुनसान हुँदा व्यापारी रित्तो हात फर्केको कपडा व्यापारी बिकाउ दासले बताए।

सगरमाथा क्षेत्रमा बढ्यो चहलपहल

कोरोना संक्रमणको जोखिम कम भएसंगै सगरमाथा क्षेत्रमा चहलपहल बढेको छ। कोभिड–१९ संक्रमणको त्रासका कारण सुनसान बनेको खुम्बू क्षेत्रमा अहिले भारतीय चलचित्र ‘उचाई’ छायांकन गर्ने कलाकारदेखि अन्य आन्तरिक एवम् बाह्य पर्यटकको उपस्थिति छ।  

शरद् ऋतुको असोज महिनामा मात्रै आन्तरिकसहित २ हजार पर्यटक खुम्बू प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

निकुञ्जको जोरसल्ले चेकपोष्टको तथ्यांकअनुसार सार्क देशका ४ सय ५२ जनासहित १ हजार ३ सय २३ जना विदेशी लुक्लाबाट उकालो लागेका छन्। यस्तै पर्यटकका सहयोगीसहित ७ सय ७८ जना आन्तरिक पर्यटकसमेत खुम्बू क्षेत्र पुगेको बताइएको छ।

अघिल्लो वर्षको असोजमा १ सय ४६ स्वदेशी तथा २५ विदेशीले मात्रै निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए। अघिल्लो वर्ष कोरोनाका कारण ठप्प जस्तै बनेको पर्यटकीय गतिविधि यस वर्षको असोज महिनादेखि बिस्तारै लयमा फर्किन थालेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिए।

एकै महिनामा ३३ लाखभन्दा बढी राजस्व

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बूले एक महिनामा ३३ लाख ६८ हजार ८ सय रूपैयाँ राजस्व सङ्कलन गरेको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायका अनुसार तेस्रो देशका पर्यटकबाट २६ लाख १३ हजार, सार्क देशका पर्यटकबाट ६ लाख ७८ हजार र नेपालीबाट ७७ हजार ८ सय रूपैयाँ राजस्व उठेको छ।

तेस्रो देशका पर्यटकलाई प्रति व्यक्ति ३ हजार, सार्क देशका पर्यटकबाट १ हजार ५ सय र नेपालीबाट १ सय रूपैयाँ प्रवेश शुल्क लिने गरेको निकुञ्जले जनाएको छ।

खुम्बू आउने पर्यटकको सहजताका लागि काठमाडौंको भृकुटीमण्डपमै पनि राजस्व तिर्न सक्ने व्यवस्था गरिएको निकुञ्जले जनाएको छ। असोज महिनामा भृकुटीमण्डपमा ४४ जना विदेशी पर्यटकले प्रवेश शुल्क तिरेको कार्यालयको तथ्यांकमा उल्लेख छ।  

विसं २०३२ मा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन्।

सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदामा सूचीकृत भएको हो। निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.