|

काठमाडौं : बेमौसमी अविरल वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत जिल्लामा किसानले भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएको छ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण धानबाली सखाप भएपछि किसान चिन्तित बनेका छन्। किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होइन नदीले बगाएको समेत छ।

केही दिनदेखि परेको वर्षाले खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान पिरलोमा परेका छन्।

खेती भित्र्याउने बेला अचानक अविरल वर्षा परेपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मार परेको छ।

किसान अङ्गुरा राना आफूले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको र आफ्नो परिवारको विचल्ली हुन लागेको बताउछन्। त्यसैगरी आफूले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको किसान रतनबहादुर मल्लको भनाइ छ।

वर्षाकै कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ बिघा जमिनको धान भिजेको छ। घरमा भित्र्याउन ठिक्क पारेको धान भिजेपछि किसानहरु मर्माहत भएका छन् भने आगामी दिनमा भोकमरी हुने चिन्ताले किसानलाई सताएको छ।

आगामी दिनमा पीडित किसानहरूका लागि खाद्यान्नको व्यवस्था गरिनुपर्ने र किसानलाई मल, बिउको व्यवस्थापन सरकारले गरिदिनुपर्ने किसान घनश्याम पन्त बताउँछन्।

वर्षाले बालीमा क्षति पुर्‍याएपछि कृषि विकास निर्देशनालय दिपायलले मातहतका कार्यालयसँग समन्वय गरी किसानको अवस्था र वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्न टोली परिचालन गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रको टोलीले कैलाली, कञ्चनपुरका किसानहरूको खेतमै पुगेर निरीक्षण गरेको छ। निरीक्षण टोलीमै रहेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले वर्षाका कारण हजारौँ बिघाको धान नष्ट हुँदा अर्बौं क्षति भएको बताए।

क्षतिको विवरण संकलन गरिँदै

स्थानीय तहहरूले निरीक्षण र क्षतिको विवरण सङ्कलन गरिरहेका छन्। विवरण सङ्कलन पछि आवश्यक क्षतिपूर्ति र अनुदान उपलब्ध गराइने शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले बताए।

सुदूरपश्चिम प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन रहेको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ।

यसवर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.