|

कञ्चनपुर : महाकाली नदी बस्तीमा छिर्नबाट रोक्नका लागि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू तटबन्ध निर्माणमा जुटेका छन्।

भीमदत्त नगरपालिका १२ भुजेल ऐरीघाट क्षेत्रमा तारजालीमा ढुङ्गा राखेर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। 

‘पहुँच मार्ग तोडेर बस्तीमा छिरेको नदीको बहाव रोक्नका लागि तटबन्ध निर्माणको कार्य भइरहेको छ’‚ उनले भने, ‘ढुङ्गा, बालुवा, गिट्टी र माटो प्रयोग गरी बिहानैदेखि तटबन्ध निर्माणमा जुटेका छौं।’

नदीको थप पानी बस्तीमा छिर्नबाट रोक्न तटबन्ध निर्माणमा जोड दिइन थालेको उनले बताए। तटबन्ध निर्माणको कार्यमा तीन सयभन्दा बढी जवान परिचालन भएका छन्।

तत्काल बाढीको जोखिमयुक्त क्षेत्रमा सय मिटर तटबन्ध निर्माण गरिन लागेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए। पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव घट्न थालेको छ। 

 महाकाली नदीको बाढीबाट दुई हजार सात सय ६७ जना विस्थापित

महाकाली नदीको बाढीबाट भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबाट २ हजार ७६७ जना विस्थापित भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार महाकाली नदी बस्तीमा छिरेपछि भीमदत्त नगरपालिकाका १ हजार २०९ र दोधारा चाँदनीका १ हजार ५८१ जना विस्थापनमा परेका हुन्।

भीमदत्त नगरपालिकाको वडा नं १२ का ३८० र वडा नं १३ का  ८२९  जना विस्थापनमा परेका छन्। विस्थापनमा परेका व्यक्तिलाई सुरक्षानिकाय र स्वयंसेवी संस्थाको सहयोगमा नजिकैका विद्यालयमा राखिएको छ।

भीमदत्त नगरपालिका १२ का महाकाली नदीको विस्थापनमा परेकामध्ये पूर्णागिरी माध्यमिक विद्यालयमा १५५ जना, जनता आधारभूत विद्यालयमा ५० जना, भागरथी आधारभूत विद्यालयमा १७५ जनालाई राखिएको छ।

यसैगरी भीमदत्त नगरपालिका १३ को सिद्ध माध्यमिक विद्यालयमा ६९४ जना, वडा कार्यालयमा ९७ जना, सौगात बोर्डिङ स्कुलमा ३८ जनालाई आश्रय दिइएको छ।

दोधारा चाँदनीका वडा नं ९ र १० का १ हजार ५११ जनालाई अम्बिका उच्च माध्यमिक विद्यालयमा राखिएको छ। सोही नगरपालिकाको वडा नं ९ मा रहेको नो भ्वाइस बोर्डिङ स्कुलमा ७० जनालाई राखिएको छ।

स्थानीय तह, संघ संस्थाले विस्थापनमा परेका परिवारलाई खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका छन्। रेडक्रस, निड्स, एनएनएसडब्लुए लगायतका संस्थाले विस्थापनमा परेका परिवारलाई चाउचाउ, बिस्कुट, पानी, च्युरा, मास्क, कम्बल,म्याट लगायतका सामग्री उपलब्ध गराएको जनाएका छन्।

पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव समेत घटदो छ। विपद् कार्य सञ्चालन केन्द्रका अनुसार आज दिउँसो १२ बजेको मापनअनुसार नदीको बहाव २ लाख ६३ हजार ८१६ क्यूसेक रहेको छ। डुबानमा परेका क्षेत्रमा भने अझै पानी रहेकाले विस्थापित परिवार घर फर्कन सकेका छैनन्।

डुबानमा परेका परिवारको लत्ताकपडा, खाद्यान्न लगायतमा क्षति पुगेको छ। क्षतिको यकिन विवरण भने अझै उपलब्ध हुन सकेको छैन। 
महाकाली नदीको पूर्ण बहाव क्षेत्रको आँकलन नगरीकनै संरचना निर्माण गरिँदा बाढी निरन्तर रूपमा बस्ती छिर्ने र क्षति गर्ने कार्य गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ। पानीको बहाव थेग्न नसक्ने गरी संरचना निर्माण गरिँदा क्षति हुदै आएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.