बाढी, पहिरो र डुबान प्रभावित

|

सर्लाही : नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन्।

नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायका बुवा अमिरिलाल रायको श्रद्धाञ्जलि सभामा सहभागी हुन आज (बुधवार) सर्लाहीको रामनगर गाउँपालिका–५, आएका अर्थमन्त्री शर्माले तत्काल प्रभावितको उद्धारको काम भइरहेको र यथाशीघ्र राहत प्याकेज समेत घोषणा गरिने बताए।

बेमौसमी वर्षाले तराई, पहाड सबैतिर भएको जनधनको व्यापक क्षतिप्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्माको भनाइ छ। मन्त्री शर्माले परिवर्तन नचाहनेले अहिले माओवादी पार्टीमाथि आक्रमण गरिरहेको दाबी गरे।

मन्त्री शर्माले चौतर्फी घेराबन्दी हुँदाहुँदै पनि आफूहरू देशलाई अग्रगमनतर्फ लैजान र परिवर्तन संस्थागत गर्न लागि परेको बताए। पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवको अध्यक्षतामा पार्टीका तर्फबाट श्रद्धाञ्जलि सभा आयोजना गरिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

साविक गहडिया सिसौट, गडहिया र डुमरिया गाविसका गरी चारपटक गाविस अध्यक्ष भएका अमिरिलाल रायको असोज २३ गते निधन भएको थियो।

श्रद्धाञ्जलि सभामा सहभागी हुनुअघि मन्त्री शर्माले बरहथवा नगरपालिका–११ स्थित निकै पुरानो हीरापुर ब्यारेजको निरीक्षण समेत गरे। विक्रम संवत् २०२२ सालमा राजा महेन्द्रको पालामा निर्माण भएको उक्त ब्यारेज संरक्षण अभावमा जीर्ण बनेको छ।

जिल्लाको पश्चिमी क्षेत्रको मध्य भागमा रहेको ब्यारेजको पुल जीर्ण रहेकाले सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहेको स्थानीयवासीले बताएका छन्। मन्त्री शर्मालाई बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, पूर्वसांसद नरेन्द्र साह लगायतले ब्यारेजको अवस्थाबारे जानकारी गराए।

नगरप्रमुख महतो र पूर्वसांसद साहले किसानलाई सहज रूपमा सिँचाइको प्रबन्ध मिलाउन हीरापुर र मानपुर ब्यारेजको मर्मत सम्भारका लागि पहल गरिदिन मन्त्री शर्मासँग आग्रह समेत गरेका छन्। निरीक्षणपछि मन्त्री शर्माले उक्त ब्यारेज जीर्णोद्धार र संरक्षणमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.