काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखिन्। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन्।
नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन्। उनले आफूले पार्टीभित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहोर्याइन्।
उपाध्यक्ष शाक्यले भनिन्, ‘अब ६ गतेदेखि वडा तहमा एकैचोटि अधिवेशन, पालिकाहरुको अधिवेशन भन्ने कुराहरु निर्देशनमा आइसकेको छ। सम्पूर्ण कमरेडहरु त्यसका लागि तयार हुनै पर्दछ। त्यति मात्र होइन वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्द्रीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण छ भन्ने मैले ठानेको छु। त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होईन र हतार हतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा म चाहिँ छैन। यसो हुने हो भने पार्टीको वडा तह बलियो हुन सक्दैन।’
उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनुपर्ने आवश्यक्ता औंल्याइन्। समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।