|

काठमाडाैं : २०७३ मा अर्जुन आचार्यलाई समयको जोडघटाउले सुनसरीबाट काठमाडौं धकेल्यो। राजधानी सहर र यहाँका हरेक गल्ली र चोक उनका लागि एकदमै अपरिचित थिए। उनका पैतालाले नापिनै बाँकी थिए यहाँका हरेक घुम्ती। छोराबुहारी आफ्नै काममा व्यस्त, घुम्न मन लाग्थ्यो तर घरबाट एक्लै निस्कने आँट आउँदैनथ्यो। यस्तो लाग्थ्यो, व्यस्त यो सडक कुनै पिँजडामा उनिएका सुगा हुन् उनी।

आफू राजधानी जाने भनेपछि उता साथीहरूले भनेका थिए, 'नजा। काठमाडौंमा कोही टिक्दैन। फलानाका बाउ टिक्न नसकेर तीन महिनामा फर्किएर आए। तँ पनि टिक्दैनस्। किनभने सहर तेरा लागि बनेको होइन।' 

साथीहरूलाई उनले जवाफ फर्काएका थिए, 'म त्यसरी फर्केर आउँदिनँ। केही न केही गर्छु। आफू अट्ने ठाउँ त म जहाँ गए पनि बनाउँछु।'

काठमाडौं आएपछि उनलाई आफ्नो ठाउँ र आफू हुनुको महत्त्व यो सहरलाई देखाउन सकस भइरहेको थियो। बुवालाई समय कटाउन सजिलो होस् भनेर छोराले वर्ल्ड ट्रेड सेन्टरमा चस्माको होलसेलमा सेयर लगानी गरेका थिए। त्यहाँ पनि  उनी पुगे। दिन गए तर मन भुलेन। 

'सुनिल पोखरेल भेट्न झूट बोलेँ'
'बुवा कता कता घुम्नुभयो?'‚ एकदिन उनकी छोरीका साथीले सोधे। कतै नगएको थाहा पाएपछि उनले अनामनगरस्थित मण्डला नाटकघर लिएर गए। जहाँ 'जयमाया एक्लै लिखापानी आइपुगी' भन्ने नाटक मञ्चन भइरहेको थियो। 

अर्जुनले हेरेको त्यो जिन्दगीको पहिलो नाटक थियो। उनलाई नाटक एकदमै मन पर्‍यो। सँगै उनलाई नाटकमा अभिनय गर्ने इच्छा जागेर आयो। उनले सोचे, 'मैले पनि अभिनय सिकेँ भने मेरा पनि २ ४ जना साथी होलान्। यहाँ समय काट्न अलि सजिलो होला।' 

नाटक सकिएपछि उनलाई निर्देशकसँग भेट्न मन लाग्यो। स्वयंसेवकले अहिले भेट्न मिल्दैन भनेपछि उनले आफू सुनिल पोखरेलको गाउँकै मान्छे हो भनेर झूटो बोले। 

त्यो झूट सम्झँदै अर्जुन भन्छन्, 'बाटो चिनेको छैन। आज ल्याइदिएको मान्छेले भोलि भ्याउँदैन। जसरी पनि त्यही दिन भेट्नैपर्थ्यो। त्यति नभनेको भए भेट्न पाइँदैनथ्यो।'

गाउँको मान्छे भनेपछि सर पनि कुदेर आउनुभयो। को आएछ मेरो गाउँको मान्छे भन्ने भयो होला। मलाई चिन्नु भएन। चिन्ने कुरा पनि भएन। उनी भन्छन्, 'सरले मलाई भेट्न खोज्नुभएको हो? भनेर सोध्नुभयो। हो सर भनेँ।'

 

त्यसपछि उनले आफूलाई पनि अभिनय सिक्न मन लागेको कुरा बताए। वर्षौंदेखि अभिनय सिकाइरहेका पोखरेलका लागि पनि नौलो कुरा थियो। उनले अर्जुनलाई तलदेखि माथिसम्म हेरे अनि सोधे, 'यो उमेरमा?' अर्जुनले 'हो सर' भने। 

'किन त?' सुनिलले सोधे। 'अब यही उमेरमा फुर्सद भयो अनि यही उमेरमा रहर जाग्यो', अर्जुनले भने।

अर्जुन सम्झन्छन्, 'त्यसपछि सरले उमेर सोध्नुभयो। मभन्दा ४ वर्ष जेठो हुनुहुँदो रहेछ। मैले दाजु भनेँ भन्नुभयो। हो त मिलाउनु भयो। पर्सिदेखि नयाँ कक्षा सुरु छ आउनुहोस् भन्नु भयो।' 

अलि अलि लाज र अलि अलि सकसको त्यो पहिलो क्लास

आचार्यले आफू अभिनय सिक्न लागेको कुरा घरमा कसैलाई भनेका थिएनन्। बिहान कोही नउठ्दै तयार भएर निस्कन लाग्दा छोरीले थाहा पाइन्। अलिअलि डर, अलिअलि लाज मानेर उनले आफू अभिनय सिक्न जान लागेको भनेर बताए। पछि छोराले पनि थाहा पाए। बुवाको बुढेसकालको इच्छा भनेर कसैले केही भनेन।

उनी बिहान ७ बजेको क्लास भेट्ने गरी महाराजगञ्जबाट अनामनगर पुगे। आफ्नो पहिलो दिन सम्झँदै उनी भन्छन्, 'सबैले सर सम्झेर मलाई नमस्ते गरे। लाज लाग्यो। नमस्ते त फर्काउनु पर्‍यो। नमस्ते भाइ बहिनीहरू तर म गुरु होइन। म पनि तपाईंहरू जस्तै विद्यार्थी हो सिक्न आ' को भनेँ।'

'त्यो सुनेर कसैले जिब्रो टोके, कसैले नाक खुम्चाए। कसैले कानेखुशी गरे पिण्ड खाने वेला किन मरेको होला, मैले ठ्याक्कै सुनेँ। साथी बनाउन भनेर आएको पहिलो छाप राम्रो परेन। दुःख लाग्यो। तर पछि तिनै मिल्ने साथी पनि भए। हामीभन्दा तपाईं अगाडि जानुभयो भन्छन्।'

अभिनय पेशा होइन सन्तुष्टिको आधार हो
२-४ जना साथी बनाउने उद्देश्यले अभिनय कक्षा लिएका अर्जुनलाई अहिले भ्याइनभ्याइ छ। पहिलो पटक क्यामेराको अगाडि उभिँदा उनका हातगोडा कामेका थिए, ओठमुख सुकेको थियो। एउटै सटका लागि धेरै टेक लिनुपरेको थियो तर अहिले उनले खोजे जस्तो साथी मात्र भेटाएका छैनन् क्यामेरा पनि साथी जस्तै बनेको छ, एकै टेकमा पनि निर्देशकले खोजेको कुरा दिनसक्ने भएका छन्।

'जात्रैजात्रा' नामको सिरियलबाट अभिनय यात्रा थालेका उनले पहिले जस्तो काम पाए पनि गर्थे। अहिले भने रोजेर काम गर्न थालेका छन्। 

'पहिले रोजेर काम गर्दिनथेँ। कसैले फोन गरेर यो ठाउँमा आउनुस् भनेपछि केही हेर्दिनथेँ, गइहाल्थेँ। दुई चारवटा सिरियल, आठ दशवटा म्युजिक भिडियो, आठ दशवटा विज्ञापनमा काम गरिसकेँ। क्राइम पेट्रोलको तीनवटा एपिसोडमा काम गरेँ', उनी भन्छन्, 'म चापमा परेर काम गर्न नसक्ने मान्छे। काम धेरै आएपछि रोजेर काम गर्नुपर्छ। कुन चाहिँ कुन अलि सन्देशमूलक छ, सबैले रुचाउने खालको छ‚ त्यो पनि ख्याल राख्छु।'

बिस्तारै उनको फिल्मको यात्रा पनि सुरु हुँदै छ। बोक्सीको घर नामक फिल्ममा काम गरिसके भने अरू फिल्मबाट पनि प्रस्ताव आउने क्रम जारी छ। 

पहिले बिनापारिश्रमिक पनि धेरै काम गरेका उनलाई अब अभिनय नै गरेर आफूलाई पाल्न सक्छु भन्ने लाग्छ तर आफूले अभिनयलाई पेशाको रूपमा नलिएर आत्मसन्तुष्टिको रूपमा लिने गरेको उनी सुनाउँछन्। 

'अभिनयले शरीरलाई ऊर्जाशील बनाउने रहेछ'

अर्जुन उमेरले तीन बीस काटिसके तर उनलाई आफू बूढो भए जस्तो भने लाग्दैन बरु पहिलेभन्दा जवान र ऊर्जाशील भएको अनुभूति हुन्छ। 

'काम अलि बढी भयो भने चाहिँ बूढो भइएछ कि जस्तो नत्र अरू वेला लाग्दैन। साथी सर्कल र यो काममा आउने ऊर्जाले होला। मेरो काम मन पराउनेहरू पनि धेरै भएका छन्। तपाईंको फ्यान हुँ भन्छन्। पहिले टिभीमा देखेका कलाकारले पनि तपाईंलाई चिन्छु भन्दा खुशी लाग्छ। घरी घरी जिस्काएको हो कि जस्तो पनि लाग्छ। कहिलेकाहीँ आफ्नो उमेर बिर्सन्छु', उनी भन्छन्, 'कहिलेकाहीँ रात पर्छ, बिहानै पनि हुन्छ। गाह्रो हुन्छ तर ऊर्जाले त्यो गाह्रोलाई कम गर्दो रहेछ।'

अर्जुनलाई पहिले पहिले फिल्म सिरियलमा अरूले अभिनय गरेको हेर्दा यो त सहजै गर्न सकिने काम त हो नि जस्तो लाग्थ्यो। अहिले सिक्दै जाँदा सोचेको जस्तो सजिलो पनि नहुने रहेछ जस्तो लाग्छ। केही कुरा सिकेर कहिल्यै नसकिने रहेछ जस्तो लाग्छ। 

सुगर र प्रेसर बुढ्यौली सम्झाउँदो रहेछ
मन तरुनो हुँदै गए पनि शरीरले भने अर्जुनलाई बुढेसकाल लागेको कुरा सम्झाउँछ। लामो समयदेखि मधुमेह र रक्तचापका बिरामी अर्जुनले व्यायाम र खानपानमा ध्यान दिएर मधुमेह त नियन्त्रणमा राखेका छन् तर रक्तचापको औषधि भने नियमित खानुपर्छ।

८,९ वर्षदेखि मधुमेह त नियन्त्रणमा छ तर कहिलेकाहीँ रक्तचापले दुःख दिने उनले सुनाए। 'बाहिर जाँदा औषधि लिएर जान्छु। कहिलेकाहीँ बिर्सिन्छ, भनेको टाइममा शुटिङ भइदिन्न। त्यस्ता वेला समस्या हुन्छ', शुटिङ सेटको एउटा घटना सम्झँदै उनी भन्छन्, 'तपाईंको १०/११ बजे सकिन्छ होला भनेर बोलाए। सेट मिलाउँदा मिलाउँदै १० बज्यो अनि मैले बुझिहालेँ अब बिहान हुनसक्छ भनेर। अनि मैले चाँडो सकिन्छ भनेर औषधि ल्याइनँ के गर्ने भनेपछि शुटिङ टिमकै मान्छे पठाएर औषधि ल्याइदिए।'

काठमाडौंमा टिक्दैनस् भन्ने साथीहरू अहिले हिरो भइस् भन्छन्
कुनै समय साथी नभएर घरबाट निस्कन नसकेका अर्जुनको अहिले आफ्नै साथी समूह छ। उनका साथी १८, २० वर्षदेखि २८, ३० वर्षसम्मका छन्। साथी समूहमा उनलाई कसैले बुवा भन्छन्, कसैले अंकल भन्छन् त कसैले दाइ पनि भन्छन्। अहिले चिया खाऊँ, कतै जाऊँ भन्ने साथीहरू पनि छन्। केही साथी घरमै भेट्न पनि आउँछन्। अर्जुनलाई तपाईंबाट उत्प्रेरित भएको छु भन्छन्। जसले उनलाई थप ऊर्जा दिन्छ। 

'कहिलेकाहीँ सुनसरीका पुराना साथीहरूसँग पनि कुरा हुन्छ। तँ टिक्दैनस् भन्ने साथीहरूले टिभीमा अर्जुनलाई देखेर तँ त काठमाडौं जानेबित्तिकै हिरो भइस् त। भन्छन्। खुशी हुन्छन्', उनी सुनाउँछन्। 

पहिले अभिनय सिक्न थालेको भनेर जवाफ दिँदा यो उमेरमा? भन्दै नाक खुम्च्याउने उनकी जीवनसाथी पनि अहिले श्रीमान्‌लाई टिभीमा देख्दा खुशी छिन्।

शुटिङबाट फुर्सद हुँदा अर्जुन घरको काममा व्यस्त हुन्छन्। नातिहरूलाई स्कुल पुर्‍याउने लिन जाने काम पनि उनले नै गर्छन्। समय मिले किताब पढ्छन्। अघिल्लो काम कस्तो गरेँ भनेर सोच्छन्। अर्को काममा केके सुर्धानुपर्ला भनेर गृहकार्य गर्छन्। अनि सकेसम्म साथीहरूलाई भेट्न पनि निस्कन्छन्। 

ढिला भएको छैन
उनलाई हातखुट्टा अलि दह्रो हुँदै, गाला चाउरी नपर्दै, कपाल फुलेर सेतो नहुँदै म यता आएको भए भन्ने लाग्दैन। बरु यो उमेरमा आएर पनि यस्तो गर्न सकेँ भनेर खुशी लाग्छ। उनी भन्छन्, 'यो क्षेत्रमा ढिला आएँ जस्तो लाग्दैन? भनेर धेरैले सोध्छन्। मलाई लाग्दैन। किनभने यो मेरो सोचभन्दा बाहिरको कुरा थियो। समय परिस्थितिले धकेलेर म यहाँ आएँ। खुशी लाग्छ। जीवनको यो उत्तरार्धमा आएर पनि केही गर्न सकेँ भन्ने लाग्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.