|
हुम्लामा पहिरोले पुरिएका घर। तस्वीर : हेमन्त केसी

दैलेख : १० जिल्ला रहेको कर्णाली प्रदेशमा आइतबारदेखि निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोमा ८ जनाको मृत्यु भएको छ।

४ दिनदेखि भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा ८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ। 

पहिरोले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खरपेलगाउँमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खार्पुनाथ–५ का ७० वर्षीय धनवीरे शाही, उनका ज्वाइँ ५५ वर्षीय कलबहादुर शाही, छोरी ४० वर्षीया आशा शाही, नाति १३ वर्षीय अलिन्द शाही, ५ वर्षीय हुमेश शाही, ३ वर्षीय जसबहादुर शाही छन्।

यता, कालिकोटमा पहिरोमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोटको महाबै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारी छिन्।

घर माथिबाट आएको पहिरोमा विष्णुलाल अधिकारीकी छोरी स्मृतिको मृत्यु भएको र ११ वर्षीया छोरी युनिषा घाइते भएकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कालिकोटमै पहिरोमा थप दुई जना घाइते भएका छन्। घाइते हुनेमा कालिकोटको रासकोट नगरपालिका–८ का ६३ वर्षीय नन्दु न्यौपाने र उनकी १३ वर्षीया छोरी बाँचूँ न्यौपाने छन्।

खोलाले बगाउँदा जुम्लामा एक जना महिला बेपत्ता भएकी छन्। जुम्लाको हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाही खोलामा बगेको प्रहरीले जनाएको छ।

खोलाले बगाएर ल्याएको दाउरा निकाल्न जाने क्रममा उनी बेपत्ता भएको र खोजी भइरहेको प्रहरीको भनाई छ।

३ सय २९ जना विस्थापित 

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोको जोखिममा रहेका ३ सय २९ जना विस्थापित भएका छन्।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कालिकोटको महाबै गाउँपालिका–७ का ६० घरका २ सय ५० जना विस्थापित भई सोही ठाउँको स्वास्थ्य चौकीमा सुरक्षित राखिएको छ।

बाढीको उच्च जोखिममा रहेका कालिकोटको खाँडाचक्र नगरपालिका–२ जितेबजारका बासिन्दालाई सुरक्षित स्थानमा सारिरहेको प्रहरीले जनाएको छ।

सुर्खेतको चौकुने गाउँपालिका–४ झालाका ११ घर परिवारका ७९ जना विस्थापित भएका छन्। उनीहरूलाई स्थानीय विद्यालयमा सुरक्षित सारिएको प्रहरीले जनाएको छ।

कालिकोट र मुगुमा गरी बाढी पहिरोमा १ सय ३८ पशु चौपाया मरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.