|
मुस्ताङ जाने बाटोमा भएको जाम। तस्वीर : ध्रुवसागर शर्मा

म्याग्दी : दशैँको अवसरमा हिमालपारीको जिल्ला मुस्ताङ भ्रमणमा आएका पर्यटकले सास्ती बेहोर्नुपरेको छ।

चार दिन परेको अविरल बर्षाका कारण बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभीर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीले घण्टौं सडक अवरुद्ध हुँदा पर्यटक, यात्रु र स्थानीयले सास्ती बेहोरेका हुन्।

टीकाको दिनदेखि नै म्याग्दी हुँदै मुस्ताङको भ्रमणमा दैनिक २ देखि ३ हजार पर्यटक भित्रिएका छन्।

राहुघाटमा सडकमाथिबाट खसिरहने पहिरो र हिलाम्मे सडकका कारण अधिकांश सवारीसाधन सडकमै फस्ने समस्याले यात्रुले घण्टौँ जामको सामना गर्नुपरेको हो।

मुस्ताङबाट फर्किएका चितवनका हरि सापकोटाले राहुघाटको पहिरोको जाममा ४ घण्टा कुर्नुपरेको बताए।

राहुघाटमा ३ दिनयता सवारीसाधनको एक किलोमिटर लामो जाम घण्टौँ हुने गरेको छ।

राहुघाटको पहिरोले बेनी–जोमसोम सडक हुँदै मुस्ताङको भ्रमणमा जाने पर्यटकसंगै म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका स्थानीयलाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्नसमेत सास्ती भएको छ।

राहुघाट र काभ्रेभीरको पहिरोमा यात्रुलाई सहजीकरण गर्न प्रहरी नियमित रुपमा खटिएको र सडकलाई सामान्य सञ्चालनमा ल्याउन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरे पनि उनीहरूले वेवास्ता गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।

‘गलेश्वरको राहुघाट पहिरो पन्छाउन सडक निर्माण गर्ने ठेकेदारलाई ताकेता गर्दा पनि सम्भव भएको छैन, अहिले प्रहरीले नै यात्रुलाई सहजीकरण गर्ने काम गरेको छ, तर प्रहरीको प्रयासले मात्रै सडकलाई सहज बनाउन सम्भव छैन’ उनले भने।

त्यसैगरि, मुस्ताङको मार्फा खोलामा आएको बाढीले सवारीसाधन वारपार गर्ने अस्थायी पुल पुरेपछि पर्यटकको यात्रा कष्टकर बनेको छ।

पुल पुरिएपछि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सवारीसाधन वारपार गराउँदा पर्यटकले घण्टौँ जामको सामना गर्नुपरेको नेपाल पत्रकार महासंघ मुस्ताङका सचिव सुशील थकालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.