१ सय २० वर्ष पुरानो परम्परा कायम राख्दै रतौलीको ठाकुर परिवारले यस वर्ष पनि १ सय ८ भार जानकी मन्दिरमा पठाए

|
तस्वीर : अजय साह

जनकपुरधाम : जनकपुरधाम स्थित श्री जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ आज बुधबार पनि कोजाग्रत पूर्णिमा मनाइएको छ।

बेमौसमी अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बन्यो। कात्तिक पूर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष हिजो मंगलबार र आज बुधबार गरि दुई दिन मनाइएको छ। मिथिलामा कोजाग्रतलाई कोजगरा पनि भनिन्छ।

माता सीताजीलाई छोरी मान्दै महोत्तरीको रतौली गाविसमा गएको १ सय २० वर्षदेखि निरन्तर स्वर्गीय महेन्द्र ठाकुरको परिवारजनले जानकी मन्दिरलाई भार (कोसेली) पठाउने गरेको इतिहास कायम राख्दै ठाकुर परिवारको तेस्रो पुस्ताका नवीन ठाकुरले जीवन्त राख्दै यस वर्ष पनि जानकी मन्दिरलाई भार पठाएका छन्।

महोतरी रतौलीका जमिन्दार स्व. महेन्द्र प्रसाद ठाकुरले १ सय २० वर्ष  पहिले जानकी मन्दिरमा भारको शुरुवात गरेका थिए।

तत्कालीन जमिन्दार ठाकुरले पुत्र प्राप्तिको कामना गरेको र पुत्रलाभ भएपछि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा दही, चीउरा, पान, मखानाासहित भार पठाउने भाकल गरेअनुसार पुत्र प्राप्त भएकाले भार पठाउन सुरु गरेका थिए।

त्यसपछि उनका छोरा, नाति हुँदै पनातिसमेत अहिले सो परम्परा जोगाउँदै भार लिएर आउने गरेका छन्।

विधिअनुसार १ सय ८ वटा भार ल्याउने परम्परा छ। ठाकुरको घरबाट आएको भारको दही च्यूरा, पान, मखानाा जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरमा समेत जाने गरेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बताउछन्।

साथै कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा सर्वसाधारणले पान, मखानाा, मिसरी सहितका प्रसाद चढाउने गर्दछन् भने आजको दिन मिथिलान्चलमा सबैले आ आफ्नो घरमा समेत पान र मखानाा खाने चलन छ।

बजारमा आजका दिन पान र मखानाा किन्नेहरुको घुँईचो लागेको देखियो। गाउँमा भरियाहरूले बाँसको डाला, चगेरामा भार अर्थात कोसेली मन्दिरमा ल्याउँछन्।

कोजाग्रत पूर्णिमाको राति भगवान राम र सीताको प्रतिमालाई जानकी मन्दिरबाहिर निकाली गीतसंगीतका साथै पान, मखाना र बतासाको वर्षा गर्ने चलन रहेको छ।

कोजगराका दिन मिथिला क्षेत्रमा नवविवाहित दुलहाको घरमा कोजाग्रत पूर्णिमाका दिन दुलहीको घरबाट कोसेली लैजाने चलन पनि छ। यस अवसरमा नवविवाहिता बेहुलीको घरबाट पान, मखाना, काजु, बतासा, मिस्री लगायतका परिकार कोसेली स्वरूप बेहुलाको घरमा पठाउने गरिन्छ।

बेहुलीको घरबाट आएको पान तथा मखानाले बेहुलाको घरमा चुमान भनिने विशेष पूजा गर्ने गरिन्छ। खासगरी आजका दिन ब्राम्हण र कायस्थ जातिमा नव बिबाहित बेहुली पक्षबाट बेहुलाको घरमा पान, मखाना, चिउरा, दही, फलफुल र मिठाई सहितको भार आउने परम्परा रहेको छ।

त्यसैगरी  कोजाग्रत पूर्णिमाको दिन मिथिलाञ्चलमा पनि रातभर जाग्राम बस्ने प्रचलन छ। कोजाग्रतको अर्थ रातभर जाग्नु पनि रहेको छ।

कोजाग्रत पूर्णिमाको रात धनकी देवी लक्ष्मी पृथ्वीमा घुम्न आउने र जसको ढोका खुलेको छ त्यहि घरमा बास गर्ने धार्मिक मान्यता रहिआएको छ।

मैथिल संस्कृतिअनुसार यो पर्व परिवारको समृद्धि र सौभाग्यका लागि मनाइने जनविश्वास छ।

मैथिली संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातका रूपमा प्रसिद्ध मानिएको छ। यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिने प्रचलन छ।

मैथिल संस्कतिको एउटा प्रमुख अंग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखाना र मिठाइ खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.