२०४७ सालको संविधानलाई टेकेर गरिएको सम्झौता अक्षरशः पालनाको माग

|
काठमाडौंमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले बुधबार गरेको पत्रकार सम्मेलन।

काठमाडौं : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ।

मोर्चाले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो।

पूर्वराजा ज्ञानेन्द्र शाहले असोज २६ गते फूलपातीको दिन नेपाली जनताको नाममा दिएको शुभकामना र सन्देशले २०४७ सालको सम्झौताबारे उल्लेख गरेको भन्दै त्यसलाई पालन गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेको हो।

मोर्चाका कार्यकारीणी अध्यक्ष तारानाथ लुइटेलले राजनीतिक दलहरुले प्रजातान्त्रिक समाजवादको नारा लिएर जाने र जनताको समस्या, इच्छा आकांक्षालाई चुनावी एजेन्डा मात्र बनाउने गरेको आरोप लगाए।

‘पूर्व राजाले नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको नाममा दिनु भएको शुभकामना सन्देशप्रति राष्ट्रिय जनआन्दोलन मोर्चा पूर्ण जिम्मेवारीका साथ ऐक्यबद्धता जनाउँदै स्वागत र सम्मान गर्छ,’ उनले भने।

उनले राजसंस्था बिनाको प्रजातन्त्र मुलुकमा सान्दर्भिक हुन नसक्ने जिकिर गरे। उनले भने, ‘मोहन वैद्यले राजासहित प्रजातन्त्र आए स्वीकार गरिन्छ भनेका छन्।’ राजा र दलबीच भएको ०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुँदे सम्झौता अक्षरशः पालन गर्न उनले आग्रह गरे।

लुइटेलले देशमा धर्म निरपेक्षतावादी शक्तिहरु विजयदशमी जस्ता चाडहरु हाम्रो राष्ट्रिय एकताको संस्कारको आधार हो भन्न थालेको बताए। उनले नेपालको पुरानो अस्तित्व बचाउन सकिएन भने नेपालका राजनीतिक दलको अर्थ नहुने बताए।

उनले भने, ‘धर्म निरपेक्षता राष्ट्रिय एकता, अखण्डता र स्वाभिमान होइन।’ हिन्दु राष्ट्र नेपाललाई कांग्रेसले बाटो बिराएर मुलुकलाई दुर्घटनामा पुर्‍याउन लागेको उनको आरोप थियो।

उनले भने, ‘आज कांग्रेसले विदेशीको बुई चढेर आजको स्थिति आएको छ।’ देशको हितको लागि राजाको सन्देश आएको उनले बताए।

उनले राजाको सन्देशले सनातन आदर्शलाई उद्धरण गरिएको हो भन्ने मोर्चाको ठम्माई रहेको बताए। नेपाललाई द्वन्द्वमा धकेल्न एमसिसी सम्झौता गर्न लागेको उनको भनाई थियो।

उनले गोलमेच सम्मेलनमार्फत्‌ अगाडि बढ्ने पनि बताए। मंसिर १२ गतेभित्र ७ प्रदेशमा संरचना गर्ने र अब चाँडै नै ५ क्षेत्रमा विशाल जनसभा गर्ने बताए। उनले छिट्टै कास्कीमा बृहत जनसभा गर्न लागेको जानकारी दिए।

धर्मनिरपेक्षता हटाउन सडकमा आन्दोलनमा उत्रिनु लागेको उनको भनाई थियो। उनले आमसभाबाट देशका सम्पूर्ण जनतालाई राजाको सन्देश दिन लागेकोसमेत जानकारी दिए। विभिन्न जिल्ला र प्रदेशमा आमसभा गर्दै फागुनभित्रै काठमाडौंमा लाखौलाख जनता उतार्न चाहेको समेत बताए।

त्यस्तै, मोर्चाका राष्ट्रिय अध्यक्ष शेखरजंग रायमाझीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिइरहेको बताए। राजा र राष्ट्रपतिको भ्रमणका समयमा पूर्व राजाको भ्रमणमा राष्ट्रपतिको तुलनामा व्यापक सहभागिता भएको उल्ल्लेख गरे।

अहिले व्यापक रुपमा देशभर जनता राजाको पक्षमा उर्लिएको रायमाझीले बताए। उनले भने,‘अब नेपाली जनताले पुनः राजतन्त्र मागिरहेको देखिएको छ।’

देशलाई संकटबाट मुक्त गर्न सत्ता पक्षले सर्वपक्षीय गोलमेच सम्मेलन गर्नेमा विश्वास ब्यक्त गरे। उनले तुरून्त राष्ट्रिय गोलमेच सम्मेलन गर्न सरकारसँग माग गरे।

मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट देशवासीको नाममा जारी गरेको शुभकामना सन्देशलाई जिम्मेवारीको साथ हिन्दू धर्मावलम्बी तथा सबै जनतालाई यो जानकारी दिन कार्यक्रम आयोजना गरेको बताए।

उनले सरकारले सिमानाको पीडा, जनताको समस्यालाई सम्बोधन नगर्दा पूर्व राजाको चित्त दुखेको जानकारी दिए। सरकारले जनताको समस्यालाई चुनावी एजेन्डामात्र सीमित बनाएको उनको आरोप थियो।

उनले भने, ‘नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता, सम्प्रभुताको अनन्त निरन्तरताको वान्छनीय आवश्यकता हो।’ उनले मोर्चाले मंसिर १२ गते सम्ममा सम्पुर्ण प्रदेशमा आफ्नो संगठन विस्तार गर्ने जानकारी समेत दिए।

यसैगरी, मोर्चाका उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठले पूर्व राजाले दशैंको अवसरमा नेपाली जनतालाई शुभकामना र सन्देश स्वागत योग्य भएको बताए। अहिले राजनीतिक दलहरुले मुलुक बनाउने नाममा केही बाँकी नराखेको बताए।

उनले भने, ‘मुलुकलाई बर्बाद बनाए। राजाले देश र जनताको समस्यालाई टुलुटुल हेरेर बस्न सक्नुभएको छैन्।’ मुलुकको प्रगती र समृद्धि गर्नलाई सबैभन्दा पहिला देशको माया मनमा हुनुपर्ने उनको भनाई थियो। 

वरिष्ठ उपाध्यक्ष विक्रम बमले मुलुकमा अहिले विषम परिस्थितिको रहेको भन्दै भष्ट्राचार, बलात्कारमा देश चुर्लुम्म डुबेको बताए। उनले पूर्व राजाले देश र जनताको चिन्ता गरेको जानकारी दिए।

राजाले सन्देश दिनुमा राजनितिक दलहरु पनि खुशी हुनुपर्ने उनको भनाई थियो। ‘सरकारले पनि त्यसमा प्रतिबद्धता जनाउनुपर्छ’ उनले भने, ‘राजाको सन्देशको पालना अक्षरशः सरकारले गर्दैन भने हामी संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा देशब्यापी आन्दोलनमा जान्छ।’

उनले छठपछि देशभर आन्दोलन गरेर असफल सरकारलाई चेतावनी दिने बताए। उनले एमसीसी सम्झौताले नेपालको आफ्नो अस्तित्व, सार्वभौम अधिकार नै अमेरिकी नियन्त्रणमा परेको देखिनाले सम्प्रभुतामाथि आँच आउने बताए।

उपाध्यक्ष रजनी मल्लले पूर्वराजाले दिएको सन्देश सराहनीय भएको भन्दै उनले राजनीतिक दलले पनि ऐक्यबद्धता जनाउनुपर्ने बताइन्। देशमा धर्मनिरपेक्षता आएदेखि असुरक्षित भएको उनको भनाई थियो।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष दिनेश कंडेलले देशमा भइरहेको अस्त्यब्यस्तताबाट मुक्ति दिन पूर्वराजाको शभकामना सन्देशलाई स्वागत गर्न चाहेको बताए।

राजाबाट आएको सन्देशलाई सारा जनतामाझ पुर्‍याउन संयुक्त मोर्चा लागि परेको उनले बताए। डुब्न लागेको देश बचाउनको लागि उनले जनआन्दोलन गर्नुपर्ने उनले धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.