|

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ। तर , बैठकमा सत्तारूढ दल एमालेका सांसदहरु नै उपस्थित नहुने भएका छन्।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्ताव गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउन बस्न लागेको प्रदेशसभा बैठकमा एमालेकै सांसदहरू उपस्थित नहुने भएका हुन्। बुधबार एमालेले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशनको कारण देखाउँदै बिहीबार बस्ने भनिएको प्रदेशसभा बैठक सार्न प्रदेशसभाका सभामुखलाई पत्र पठाएको थियो।

एमालेले बिहीबारको बैठक सार्न लिखित रूपमा आग्रह गरे पनि हालसम्म बैठक सार्ने बारेमा कुनै निर्णय नभएको प्रदेशसभाको सचिव कृष्णहरि खड्काले बताए। उनले दिउँसो बस्ने बैठक सार्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको भन्दै बैठक बस्ने कि नबस्ने भन्ने एकिन नभएको बताए।

सचिव खड्काका अनुसार प्रदेशसभा बैठक बसेमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढ्नेछ।

 प्रदेशसभा बैठक सार्ने बारेमा हालसम्म केही सूचना नआएको भन्दै एमालेको मुख्य सचेतक  दीपक निरौलाले आफूहरुको अनुपस्थितिमा प्रदेशसभा चलाए राम्रो नहुने बताए। उनले एमालेले आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने भन्दै बैठक सार्न आग्रह गर्दा पनि  सभामुखले बैठक सञ्चालन गरे आगामी दिनमा प्रदेशसभा सञ्चालनमा कठिनाइ हुने चेतावनी दिए।

निरौलाले बिहीबारको बैठक स्थगित नभएर सञ्चालन गरे पनि एमालेबाट निर्वाचित सांसद तथा सरकारको प्रतिनिधिहरू सहभागी नहुनेसमेत बताएका छन्। ‘हामीले  हिजै भनिसकेका छौँ, हामी आउन सक्दैनौँ भनेर’ उनले भने। निरौलाले विपक्षी गठबन्धनले  मुख्यमन्त्री टुंगो  लगाएर आएको  दिन  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा  दिएर मार्गप्रशस्त  गरिदिने बताए।

उनले सर्वोच्च अदालतले नो भोटको व्यवस्था गर्न भनेको तर प्रदेशसभाको नियमावलीमा सो व्यवस्था नरहेकोले मुख्यमन्त्रीले  विश्वासको मतको  प्रस्ताव  गरे पनि मतदान नहुनेसमेत बताए।

यता, विपक्षी गठबन्धन र प्रदेशसभाको अन्य साना दलहरूले भने कुनै पनि हालतमा प्रदेशसभाको बैठक सार्न नहुने बताएका छन्। आफू नेतृत्वको सरकारको आयु लम्ब्याउन  एमालेले प्रदेशसभा बैठक सार्ने रणनीति बनाएको भन्दै प्रदेशसभा बैठक सार्न नहुने बताएका छन्।

नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले विपक्षी दलसँग सल्लाह नै नगरी प्रदेश सरकार र सत्तारूढ दल एमालेले आफूअनुकूल प्रदेशसभा चलाउन खोजेको आरोप लगाए। लामाले संसदमा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा विभिन्न बहाना गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु गलत भएको बताए।

उनले प्रदेशसभा बैठक स्थगित गर्नुपरेमा २४ घण्टा अगाडि नै जानकारी गराउनुपर्ने भए पनि हालसम्म जानकारी नआएको भन्दै बैठक स्थगित नहुने बताए। लामाले बिहीबार र शुक्रबारभित्रमा मुख्यमन्त्रीको विश्वासको मतलाई टुंग्याउनुपर्नेमसेत बताए।

 विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले प्रदेशसभा बैठक सार्न एमालेले प्रदेशसभाका सभामुखसमक्ष पठाएको पत्र सरकारको आयु केही दिन लम्ब्याउने प्रयासबाहेक अरू केही नभएको आरोप लगाए।

मुख्यमन्त्री शाक्य आफैँले विश्वासको मत लिनका निम्ति संसदमा प्रस्ताव पेस गरेको अवस्थामा उक्त प्रस्तावको प्रक्रियालाई  जतिसक्दो छिटो टुङ्ग्याउनुपर्ने उनको भनाइ छ।  पौड्यालले प्रदेशसभा बैठक स्थगित गर्न नहुने भन्दै विश्वासको मतसम्बन्धी प्रस्तावलाई प्रदेशसभामा अघि बढाउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.