|

काठमाडौं : माेवाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडिएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेकोप्रति माेवाइल फोन आयातकर्ताले आपत्ति जनाएका छन्।

सरकारले अवैध माेवाइलमा रोक लगाउन गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली तीन महिना बित्दा पनि अझै कार्यान्वयन गर्न नसकेकोमा माेवाइल फोन इम्पोटर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले आपत्ति जनाएका हुन्। 

उनले सो निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा माेवाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन सरकारलाई दबाब समेत दिए।

न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष मल्होत्राले भने, ‘माेवाइल लिगल मात्रै इम्पोर्ट हुने हो भने हामीलाई पनि केही हदसम्म व्यापार गरेको रमाइलो हुन्थ्यो, फाइदा हुन्थ्यो होला। तर विडम्बना के छ भने आजको मितिमा यो २ महिना, ३ महिनामा पनि लागू नहुँदाखेरी अब ती व्यापारी जसले इलिगल्ली इम्पोर्ट गर्छ, उनीहरूको मनमा फेरि के भइसक्यो भने यो कुरा त हल्ला मात्रै रैछ। नेपालमा यो लागू हुँदैन भनेर फेरि इलिगल बजार सुरु भयो। झण्डै झण्डै ४५–५० प्रतिशतको हाराहारीमा अहिले बजारमा इलिगल फोन इम्पोर्ट भएर विक्री भइराखेको अवस्था छ। यसले गर्दा हामीले धेरै पटक घचघच्याएका छौं। हामीले अर्थ मन्त्रालयमा घचघच्यायौं। सञ्चार मन्त्रालयमा घचघच्यायौं। एनटिएमा घचघच्यायौं। तर आश्वासनभन्दा केही पाएका छैनौं।’

उनले आश्वासन दिएर बारबार टार्नेमात्र काम भएको बताए। ‘आज हुन्छ, भोलि हुन्छ, पर्सी हुन्छ। १५ दिनमा हुन्छ, १ महिनामा हुन्छ। किन लागू भएन ? अब आएर धेरैले भनेका छन्–कसैको भेष्टेड इन्ट्रेष्ट छ कि भन्ने कुराहरू। तर हामीले सिष्टमले काम गर्दैछ भन्दै थियौं। तर अब हामीलाई पनि शंका लाग्न थालेको छ। यो लागू नहुनुको पछाडिको कारण के छ ?’, उनले भने। आफूहरूले फेरि उक्त निर्णय कार्यान्वयनमा गर्नलाई ताकेता गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.