|
जिल्ला कारागार कार्यालय गुल्मी।

गुल्मी : २५ जना क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तेब्बरभन्दा बढी कैदी बन्दी बस्न बाध्य छन्।

२५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ८३ जना कैदी बन्दी रहेको जिल्ला कारागार गुल्मीका निमित्त प्रमुख नायव सुब्बा रेश्मीराज पन्थीले जानकारी दिए। पन्थीका अनुसार पुरुष ७६ जना, महिला ७ जना गरी जम्मा ८३ जना कारागारमा कैदी बन्दी रहेका छन्।

कारागारको भवन साँघुरो हुँदा धेरै समस्या भोग्नुपरेको पन्थीले गुनासो गरे। कैदी बन्दीलाई पर्याप्त खेलमैदान अभाव, आर्थिक उपार्जनका लागि उद्योग खोल्न पनि समस्या भएको र मुख्य गरी जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको उनले जानकारी दिए।

कारागार भवन पनि जीर्ण रहेकाले समस्या अझ थपिँदै गएको पन्थीले बताए। हालसम्म दुःखसुख चलाउँदै आएको र अझ कैदी बन्दी थपिए समस्या विकराल बन्दै जाने पन्थीको भनाइ छ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तत्कालका लागि भवन मर्मत गर्न पहल भइरहेको बताए। कारागार कार्यालयको भवन पनि साह्रै जीर्ण भइराखेकाले कारागार व्यवस्थापनका लागि दीर्घकालीन गुरुयोजना बनाएरै अघि बढ्नुपर्ने पौडेलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.