धान नाच पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, पाँथचर, इलाम, ताप्लेजुङसहित भुटान र भारतको सिक्किम, दार्जिलिङ, सुकिया पोखरीमा पनि नाचिन्छ

|
धान नाचमा रमाइरहेको लिम्बू समुदाय। तस्वीर : ईश्वर थापा

धनकुटा : पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै भाषा, लिपी, कला र संस्कृति छ। धान नाच लिम्बू समुदायको मौलिक र लोकप्रिय संस्कृति हो।

तर, पछिल्लो पुस्ताले आफ्नो समुदायको मौलिक संस्कृति धान नाचमा चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

१०/१२ वर्ष पहिले स्थानीय गाउँघरमा विभिन्न अवसरमा लाग्ने मेलापातमा जताततै देखिने लिम्बूको मौलिक नाच हिजोआज देखिन छाडेको छ।

धान नाच पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, पाँथचर, इलाम, ताप्लेजुङसहित भारतको सिक्किम, दार्जिलिङ, सुकिया पोखरी र भुटानमा समेत नाचिने जानकारहरू बताउँछन्।

माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुअघि हरेक मेला,  हाटबजार र पर्वमा देखिने धान नाच अहिले देख्न कठिन हुन थालेको चौबिसेका गोपाल लिम्बू बताउँछन्।

‘३ दिन ३ रातसम्म धान नाच्ने गर्थे यसरी नाच्ने क्रममा केटा हारे ३ बोतल रक्सीसँग माफ माग्ने र केटाले जिते लिएर आउने तथा विवाह गर्ने चलन थियो,’ लिम्बू भन्छन्, ‘अहिले दन्त्य कथा जस्तो भइसकेको छ।’

यसरी नाचिन्छ धान नाच

मेला, उत्सव, विवाह, भोज, बजारमा माया पिरती साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धान नाच पछिल्लो समय उँधौली–उँभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्र सीमित हुन थालेको छ।

धान नाचमा उकालीओराली, घाँस, दाउरा, दुःखसुख र माया प्रेमका शब्द केलाएर लिम्बू भाषामा गाउँदै नाच्ने गरिन्छ।

यतिमात्र नभएर यसमा लिम्बू जातिको उत्पत्ति र मृत्युबारे समेत यहाँ कैरन आउने हुँदा धान नाचको जगेर्ना गर्नु आवश्यक रहेको लिम्बू अगुवाहरू बताउँछन्।

विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलामा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात्‌ धान नाच भनिन्छ।

यो नाच सोल्टी–सोल्टिनी वा साइनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै, अघि पछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो।

यस्ता छन् लोपोन्मुख हुनका कारण

पहिले ‘खला’ मा नाचिने धान नाच अहिले विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुनपुगेको छ। 

कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको लिम्बू समुदायको बुझाइ छ।

अधिकांश युवा वैदेशिक रोजगारीमा विदेश जानु र पहिलो पुस्ता अस्ताउँदै जाँदा धान नाच संकटमा परेको किराँत याक्थुङ चुम्लुङका छथर अध्यक्ष थानाहाङ तिगेलाले बताए।

संस्कृति संरक्षणका लागि युवा पुस्ताको इच्छाशक्ति जगाउने कार्यक्रम ल्याउनुपर्ने लिम्बू संस्कार संस्कृति अभियन्ता टेकराज तिगेलाको भनाइ छ।

लिम्बू युवा पनि पश्चिमी संकृतिमा रंगीनु, युवा पुस्तामा मौलिक कला–संस्कृतिप्रति घट्दो रुचिले धान नाच पनि देख्न नपाइने हुन लागेको हो।

विभिन्न जातजातिको मौलिक कला–संस्कृतिको पुनरुत्थानका लागि राज्य र सम्बन्धित समुदायको सहकार्यमा सांस्कृतिक पुनर्जागरण गर्न ढिलो हुन लागेको तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवाले बताए।

उनले लोप हुँदै गएको संस्कृति संरक्षणम युवा पुस्ताको ध्यान आकर्षित गर्न आवश्यक रहेको बताए।

नाच्नुअघि यसो गरिन्छ

साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन्। वृद्धवृद्धा पनि उत्तिकै सौहार्द्रतासाथ नाचमा सरिक हुन्छन्।

नाच्नुअघि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ। यसरी नाच्ने क्रममा चिनजान गर्दै लिम्बू भाषामा गाउँदै नाच्दै जाँदा कोही कसैसँग साइनो लागेमा १ बोतल रक्सी राखेर माफी माग्नु पर्छ।

अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ। नाच्ने क्रममा एकले अर्काको खुट्टा भूलवश टेक्न पुगे पनि माफी माग्नुपर्छ। यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ।

खलामा नाचिने धान नाचमा जुन मौलिकता हुन्छ, त्यो मौलिकता भिडियो र स्टेजमा देखाइने धान नाचमा नहुने गरेको जानकारहरु बताउँछन।

धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ। पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ।

पालाममा सृष्टिको उत्पति, मानव सभ्यताको विकास क्रमदेखि माया प्रीतिसम्मका कुरा हुन्छन्। ​पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन्।

धान नाचको क्रममा पालाम गाउँदा गाउँदै प्रेममा परेर विवाह गर्ने दम्पती धेरै रहेको बताइन्छ। अहिले धान नाच र पालम दुव खलाबाट लोप भएर जानु दुःखद भएको मोहन लिम्बूले बताए।

पालाम गीत लिम्बू भाषामा

मेम्फम्मा च्वालाम साक्तुक्लो अघिङल थेलिक लाक्तुलो कङपिचिन सिले सिक्किम नेलाल पेन्छाम यम्मी सिल्ले पेनि पान ला आशी गर पिङ्लो सि मुन्धुम आहिङ गर पौङ्लो हिङ मुग्धुम

नेपाली अर्थ

आउन कुलो थुनिपठाउँ बाँचुन्जेलसम्म नाचौं है, गाईवस्तु मरे माल दाम्लो रहन्छ, मन मान्छे मरे बोली रहन्छ, मरे पनि मृत्यु पछिको कथा होस् र बाँचे पनि जीवनको गाथा होस्।

यसरी भयो धान नाचको उत्पत्ति

धान नाचको उत्पत्तिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ।

‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिस कृषि युगमा प्रवेश गरेको मुन्धुममा उल्लेख छ।

तर, मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थालेपछि मानिसले नयाँ जुक्ति निकालेर पाकेको धान खलामा जम्मा गरेको बताइन्छ।

त्यसपछि एकले अर्काको हात समाएर ‘छुई हा हा’ भन्दै धान कुल्चन थालेको र चरा धान खान छाडेर भागेको अनि त्यहीँ ‘यात्लाक’ (धान कुल्चनु) बाट अप्रभंश भई ‘यात्लाङ्’ (धान नाच) हुन गएको लिम्बू जानकारहरू बताउँछन्।

धान नाचको पौराणिक आख्यान

याक्थुङ (लिम्बू) लोक प्रचलित नृत्यमा धान नाच पर्दछ। धान नाच कहाँ र को बाट निकालियो वा धान नाच कसरी सुरु भयो खोजी गर्दा प्राचीनकालका देउदेउताहरूको नाम मुन्धुममा उल्लेख गरिएको छ।

त्यसमा देवताहरू मेन्छिया येम् थेगु (मेन्छिया येम् डाँडा) मा आई उनीहरूले धान नाचको सुरुवात पौराणिक कालमा नै गरेको उल्लेख छ।

त्यस डाँडामा धेरै सुन्दर देवीहरू पनि धान नाच्दै बसेको बताइन्छ। एक दिन पोरोक्मी यम्भामी माङ देव पनि आफ्नो काम बिसाएर मेन्छिया येम् डाँडामा आए।

उनले एक अत्यन्त सुन्दर देवीलाई देखेर मन पराई बिहेको प्रस्ताव राखे। त्यसपछि ती देवीले पोरोक्मी यम्भामी देवलाई तिमीसित घरथर केही पनि छैन, मलाई बिहे गर्ने भए पहिला यहीँ घर बनाऊ भनेर प्रस्ताव राखेको मुन्धुममा उल्लेख छ।

मुन्धुमअनुसार देवीले आजै रातभरीमा घर बनाई सक्यौ भने मात्र म तिमीसँग बिहे गर्छु र रातभरिमा घर बनाउन सकेनौ भने तिमीसँग बिहे गर्दिनँ भनेको कथन छ।

देवीको सर्त सुनेर यम्भामी पोरोक्मी माङले स्वीकारेर तल खोलामा गई ठुल्ठूला ढुंगा ओसार्दै घर बनाउन थाले। तर, उनलाई बाटो बनाउँदा नै धेरै समय लागेकाले रातभरमा घर बनाउन सकेनन्।

रातभरमा घर बनाउन नसकेकाले पोरोक्मी यम्भामी देवले ती सुन्दर देवीसँग विवाह गर्न पाएनन्। त्यसपछि धान नाचेर उनले ती देवीसँग बिहे गरेको उल्लेख मुन्धुममा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.