|

सर्लाही : सर्लाहीको नवलपुरमा निर्माण भएको १३२/३३ केभिए ग्रिड सवस्टेशनबाट एक/दुइ दिनभित्रै विद्युत प्रसारण लाइन जोडिने भएको छ।

आज (शनिबार)देखि टेस्टिङ तथा संचालनको तयारी थियो। एक जना प्राविधिक आउन नसकेका कारण लाइन जोड्न नसकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

निर्माणको सम्पूर्ण काम पूरा भई ‘नो लोड’ मा चार्जसमेत गरिसकिएको र लोड दिएर टेष्टिङ गर्न लागिएको ग्रिड सवस्टेशनका प्रमुख निरन्जन साहले जानकारी दिए। उनका अनुसार करिब ४० करोड रुपैयाँ लागतमा नवलपुरस्थित लखन्देखी खोला नजिकै ग्रिड सवस्टेशन तयार पारिएको हो।

आर्थिक वर्ष २०७५/२०७६ देखि निर्माण कार्य सुरु भएको थियो। सुरुमा लालबन्दी र हरिवनको ११ केभिए फिडरमा लाइन दिइने छ। त्यसपछि हरिपुर, मलङगवा र बरहथवा वितरण केन्द्र अन्तर्गत ३३ केभिए प्रशारण लाइनमा सप्लाई दिने गरी काम भइरहेको ग्रिड सवस्टेशनका प्रमुख साहले बताए।

जिल्लामै पहिलो ग्रिड सवस्टेशन बनेपछि सर्लाहीका लागि लामो जंगल छिचोल्दै रौतहटको चन्द्रनिगाहपुरदेखि विद्युत् ल्याउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। रौतहटको जंगलमा सामान्य प्राविधिक समस्या आउँदा जिल्लाभर घण्टा विद्युत् अवरुद्ध हुने गथ्र्यो। अब भने उक्त समस्या हट्ने स्थानीयको अपेक्षा छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.